
नेपाली फिल्म क्षेत्रमा चिनिएको नाम हो कृषा चौलागाईं। फिल्म निर्माण र निर्देशनमा उनको संलग्नता रहँदै आएको छ। १५ वर्षअघि फिल्म निर्माण थालेकी कृषाले ‘इन्साफ’, ‘पलाँस’, ‘के म तिम्रो साथी बन्न सक्छु’, ‘कसम हजुरको’ लगायत दर्जनजति फिल्म बनाइसकेकी छन्। कतिपय फिल्म सफल भए भने कतिपयले दर्शक तान्न सकेनन्।
कृषाको निर्देशनमा बनेको पहिलो फिचर फिल्म ‘ऐँचोपैँचो’ प्रदर्शन भइसकेको छ। अघिल्ला फिल्ममा सामाजिक तथा राजनीतिक विषयवस्तु समेटेकी कृषाले ‘पिताम्बर’ मा भने एक्सन जनरा रोजेकी छन्।
‘पिताम्बर’ मा प्रदीप खड्का, सौगात मल्ल, प्रमोद अग्रहरी, दिव्यदेव, सुरक्षा पन्त, सुपुष्पा भट्ट, दिव्य रायमाझीलगायत कलाकारको अभिनय छ। पहिलो फिल्म ‘ऐँचोपैँचो’ बनाउनुअघि नै एक्सन जनरामा काम गर्ने उनको योजना बनाएकी थिइन्। कृषाले भनिन्, ‘त्यति बेला जोखिम मोल्न सकिनँ।’ दोस्रो फिचर फिल्म ‘पिताम्बर’ चैत २९ देखि प्रदर्शन हुँदैछ। यतिबेला उनी फिल्मको प्रचारप्रसारमा व्यस्त छिन्। उनी पिताम्बरलाई एक्सन फिल्म भन्न रुचाउँछिन्।
फिल्ममा एक्सनसहित इमोसनको कथा प्रस्तुत गरिएको उनले बताइन्। ‘पिताम्बर एउटा पवित्र चिज हो, जसलाई फिल्मले बलियो वस्तुको सिम्बोलाइज गरेको छ’, उनले भनिन्, ‘पिताम्बर पावरफूल नाम पनि हो। यसले धार्मिक कुरामा विश्वास गर्छ।’
कृषाको अनुभवमा एक्सन जनरामा काम गर्न सजिलो छैन। त्यसैले उनले पहिले एक्सनको प्रशिक्षण लिइन्। एक्सन फिल्म चुनौतीपूर्ण हुने उनको बुझाइ छ। कृषा भन्छिन्, ‘एक्सनका लागि शारीरिक र मानसिक दुवै रूपमा तयार हुनुपर्छ। जोखिम पनि छ। समय र तयारी धेरै गर्नुपर्छ। एक्सन भन्नेबित्तिकै चुनौतीपूर्ण हुन्छ नै।’
कृषा आफूलाई एक्सन जनरा मन परेकै कारण पिताम्बर बनाएको बताउँछिन। उनी भन्छिन्, ‘एक्सन हेर्न सबैलाई मज्जा आउँछ। फिल्म निर्माता भएर निर्देशन गरिरहँदा जे मन पर्छ त्यो बनाइएन भने किन निर्माता हुनु भन्ने लाग्यो र एक्सन रोजेँ।’
‘पिताम्बर’ को प्रचार सामग्रीबाट सकारात्मक प्रतिक्रिया पाइरहँदा उनी जिम्मेवारी बढेको बताउँछिन्। फिल्मको क्लाइमेक्स, थ्रिलर र एक्सनका आधारमा बक्स अफिसमा पिताम्बरले राम्रो व्यापार गर्छ भन्ने उनको विश्वास छ।
कृषा फिल्मलाई आफ्नो सन्तान भन्न रुचाउँछिन्। फिल्म सफल/असफल जे भए पनि त्यसलाई स्वीकार्नुपर्ने उनको धारणा छ। अधिकांश लगानीकर्ता लगानीअनुसार फिल्मले व्यापार गर्न नसकेको गुनासो पोखिरहेका हुन्छन्। फिल्म निर्माताको जीवनसँग जोडिएकाले लगानी उठ्ने/नउठ्ने भन्ने कुरा आफूलाई मन नपर्ने कृषा बताउँछिन्।
उनी भन्छिन्, ‘फिल्म जीवनसँग जोडिएको विषय हो। जस्तो बाआमाले आफ्नो सन्तानलाई लगानी गर्दैनन्। तर यसमा जीवन बाँचिन्छ। मेरो सोच र चाहना फिल्म बनाउने भएपछि लगानी गर्दा त्यसको जोखिम आउँदैन् कि भनेर कहिल्यै सोच्दिनँ। दर्शकबाट जेजस्तो प्रतिक्रिया पाइन्छ त्यसलाई हामीले स्वीकार्नुपर्छ।’ कृषा नयाँपुस्ताका लागि फिल्ममा प्लेटर्फम र स्कोप दुवै रहेको बताउँछिन्।
कृषाले पहिलोपटक फिल्म ‘इन्साफ’मा लगानी गरिन्। त्यसयता उनले निरन्तर आधा दर्जनजति फिल्म निर्माण गरिन्। निर्देशनतर्फ लागिन्। भविष्यमा के गर्ने भन्ने निधो नभई फिल्ममा लगानी गरेकी कृषा अहिले आफू यसैमा रमाइरहेको अनुभव सुनाउँछिन्।
कृषा भन्छिन्, ‘करियरबारे सोच्दै नसोची फिल्म क्षेत्रमा प्रवेश गरेँ। १५ वर्षकै उमेरमा के नै सोच्न सकिन्छ र? भविष्यमा के गर्छु भन्ने पनि थाहा थिएन। त्यतिबेलै निर्मातातर्फको यात्रा सुरु भयो। काम गर्दै जाँदा आफ्नो क्षेत्र यही रहेछ भन्ने लाग्यो। मैले फिल्म क्षेत्रबाहेक अरू काम सिकिनँ।’
कृषा कुनै काममा दत्तचित्त भएर लाग्नु र त्यसैलाई निरन्तरता दिँदा सफलता मिल्ने बताउँछिन्। उनी भन्छिन्, ‘फिल्म क्षेत्रमा लागेर मैले अर्को पेसा रोज्नुपरेको छैन। मैले आफ्ना कथा यहीँ भन्न पाएकी छु। एकै व्यक्तिलाई अभिनयमार्फत फरकफरक पात्रको जीवन बाँच्न दिइरहेको छु। पलायन नभई निरन्तर खुड्किला चढिरहन पाउनु नै मेरो सफलता हो।’
आफ्नो कथा आफ्नै तरिकाले भन्न पाउने भएकाले निर्देशनतर्फ लागेको कृषा बताउँछिन्। उनी भन्छिन्, ‘पर्दापछाडि बसेर थुप्रै पात्रलाई अगाडि प्रस्तुति गराइरहँदा, एक्सन कट गरेर स्क्रिप्ट आफ्नो तरिकामा ढाल्न पाउँदा निकै आनन्द आउँछ।’
कृषालाई पहिलेदेखि कथा भन्न र सुन्न मन पर्थ्यो। इच्छा पनि थियो निर्देशक बन्ने। सुरुमा सक्षम थिइनन्। त्यसैले निर्देशकको कोर्स सिक्नेदेखि फिल्म निर्माण, सहायक निर्देशन, सर्ट फिल्म एक सफल निर्देशक बन्न पुगिन्।
नेपाली फिल्म क्षेत्रमा उनलाई ‘लेडी टाइगर’ भनेर पनि चिन्छन्। टिममा काम गर्ने तरिकाले आफूलाई यो उपनाम दिइएको उनको बुझाइ छ। कृषा भन्छिन्, ‘म काममा स्ट्रिक छु। म कार्यस्थलमा पुग्दा साथीहरूले उः टाइगर आइरहेको छ भन्ने, सतर्क भएर बस्ने, जिस्किरहनुभएको छ भने मौन बस्ने गर्नुहुन्छ। मेरो काम र समयप्रतिको कडाइले गर्दा उहाँहरूले भन्नुभएको होला। मलाई पनि राम्रै सुनिएझैँ लाग्छ।’
महिलालाई हेर्ने दृष्टिकोण परिर्वतन हुँदैछ
फिल्म क्षेत्रमा प्रवेश गरेदेखि नै महिलालाई विश्वास नगर्ने समस्या भोगेको कृषा बताउँछिन्। फिल्मको भाषा नबुझेर होस् या फिल्म नचल्दा थुप्रै विभेद भोगेको अनुभव उनीसँग छन्। विगतको तुलनामा निकै परिवर्तन भए पनि अझैे विश्वास नगर्ने प्रवृत्ति रहेको कृषा सुनाउँछिन्। महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुन नसक्नुमा आमापुस्ताको भोगाइको असरको प्रभाव पनि हो कि भन्ने पनि उनलाई लाग्छ।
‘शिक्षा दिने क्रममै परिवारमा छोरालाई स्वतन्त्र भएर सिकाइन्छ भने छोरीलाई संकुचितजस्तो गरिन्छ’, उनी भन्छिन्, ‘फिल्ममा पनि दर्शकले महिलालाई सुन्दरताको प्रतीक मान्दिनुहुन्छ। फ्रन्टलाइनमा मात्रै खोजिरहनुहुन्छ। राम्री, इनोसेन्ट पात्रका रुपमा एकदमै विश्वास गरिन्छ। लिड गर्छु भन्नेलाई विश्वास नगर्ने प्रवृत्ति छ। यसले पनि फिल्म क्षेत्रमा महिला टिक्न सकिरहेका छैनन्।’
महिलालाई हेर्ने दृष्टिकोणमा अहिले धेरै परिवर्तन आइसकेको उनले बताइन्। ‘विदेशी फिल्ममा पनि महिलाले नेतृत्व गरेको टिम धेरै सफल छन्। नेपालमा भने निर्देशक महिलाहरु औँलामा गन्न सकिने मात्रै छन्। अहिले उहाँहरुलाई संरक्षण गनुपर्ने देखिएको छ’, कृषाले भनिन्।
भिडियो अन्तर्वार्ता