
काठमाडौँ – आर्मेनियाले नेपालका लागि किरण मल्ललाई आफ्नो अवैतनिक वाणिज्यदूत नियुक्त गरेको छ। भारतको राजधानी नयाँ दिल्लीमा आयोजित राइसिना संवाद सम्मेलनका क्रममा आर्मेनियाले मल्ललाई औपचारिक रूपमा वाणिज्यदूतमा नियुक्त गरेको हो।
मल्ललाई आर्मेनियाको विदेश मन्त्रालयका महासचिव डेविट कारापेत्यानले नियुक्तिको प्रमाणपत्र हस्तान्तरण गरेका थिए।
विदेश मन्त्रालयका अनुसार सम्मेलनमा भएको एक बैठकका क्रममा नवनियुक्त वाणिज्यदूत मल्लले नेपाल–आर्मेनियाबीच सहकार्य प्रवर्द्धन, व्यावसायिक सम्बन्ध विस्तार र अन्य विविध क्षेत्रमा गर्न सकिने संयुक्त कार्यबारे आफ्नो दृष्टिकोण प्रस्तुत गरेका थिए।
मल्लको कार्यक्षेत्र काठमाडौँ उपत्यकाभित्र (काठमाडौं, ललितपुर, भक्तपुर) रहनेछ। आर्मेनियाले नेपाल सरकारको स्वीकृतिमा उनलाई २०८१ साल चैत १० गतेदेखि लागू हुने गरी वाणिज्यदूतको जिम्मेवारी प्रदान गरेको हो।
दाङमा जन्मिएका मल्लले नर्वेबाट जलविद्युतमा स्नातकोत्तर (पोस्ट ग्राजुएसन) गरेका छन्। उनी बुटवल पावर कम्पनीका पूर्वमहाप्रबन्धकसमेत भइसकेका छन्।
वाणिज्यदूतका रूपमा मल्लले दुवै देशबीचको व्यापार प्रवर्द्धनका साथै सांस्कृतिक तथा अन्य विविध क्षेत्रमा सहकार्य विस्तारमा काम गर्नेछन्।
नेपालको कानूनअनुसार कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरेका मल्ललाई आर्मेनियाले आवश्यक सहयोग उपलब्ध गराउने उल्लेख छ।