
काठमाडौँ- मण्डला थिएटरमा जारी तेस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (नेटफिस्ट)को समानान्तर महोत्सव आजदेखि बेलबारी र चितवनमा पनि सुरू भएको छ।
बेलबारी अन्तर्राष्ट्रिय नाट्य महोत्सव’को उद्घाटन प्रदेश माननीय ज्ञानेन्द्र सुवेदीले गरेका छन्। बेलबारीमा नेपाल, भारत र जापान तीन देशका ६ नाटकसँगै स्थानीय र विद्यार्थी समूहका नाटकहरु पनि मञ्चन हुने महोत्सव निर्देशक विकास बुढाथोकीले जानकारी दिए।
प्रथम चितवन अन्तर्राष्ट्रिय नाट्य महोत्सव’को उद्घाटन भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारी र कलाकार विजय बरालले गरेका छन्।
चितवनमा नेपाल, भारत, जापान, इरान र लिथुवानीयाका नाटक गरी पाँच विदेशी नाटक मञ्चन हुनेछ। चितवनमा पनि आयोजक संस्था र स्थानीय नाट्य संस्थाका नाटहरु मञ्चन हुने महोत्सव निर्देशक प्रदीप अन्जानले बताए।
चितवनमा कर्मी चौतारी, नारायणी कला मन्दिर र तरंग नाट्य समूहले महोत्सवको आयोजना गरेको हो। यी संस्थाहरुले मण्डला थिएटरसँग सहकार्य गरी स्थानीय नेतृत्वमै आयोजना हुने गरी समानान्तर निटफेस्टलाई देशका विभिन्न सहरमा आयोजना गर्न सम्भव भएको निटफेस्ट महोत्सव संयोजक केदार श्रेष्ठले बताए।
त्यस्तै, बेलबारी अन्तर्राष्ट्रिय नाट्य महोत्सव तमु बुद्धिष्ठ गुम्बा, बेलबारी १ मा आयोजना गरेको हो। प्रथम चितवन अन्तर्राष्ट्रिय नाट्य महोत्सवका सम्पूर्ण गतिविधि नारायणी कला मन्दिर परिसरमा हुनेछन्। अन्तर्राष्ट्रिय नाट्य महोत्सव बेलबारी प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको हो।
पोखरामा चैत ९ देखि सुरु भएको समानान्तर निटफेस्ट पाँच दिनसम्म चल्नेछ। निटफेस्टले तेस्रो संस्करणमा काठमाडौँबाहिरका तीन सहरमा समानान्तर महोत्सव आयोजना गरेको हो।
‘निटफेस्टले काठमाडौंबाहिरका रंगकर्मीहरुसँग सहकार्य गरी समानान्तर महोत्सव गर्ने अभ्यास पहिलो संस्करणदेखि नै सुरु गरेको थियो’, संयोजक केदार श्रेष्ठले भने, ‘त्यसलाई दोस्रो संस्करणमा निरन्तरता दिन सकिएन। तेस्रो संस्करणमा फेरि अघि बढाएका हौं।’
काठमाडौँमा जारी निटफेस्टको आज पाँचौ दिन हो। आज जापानको नाटक ‘मास्टर शोको एन्ड मार्गरिटा’ र भारतको ‘तमासा’ मञ्चन रहेको छ। दिउँसो ‘राजनीतिमा कलानीति’ शीर्षकमा छलफल गरिएको छ। छलफलमा नेताहरु सुदन किराँती, रामकुमारी झाँक्री, ठाकुर गैरेले बहस गरे। सेसनको सहजीकरणमा पत्रकार प्रभावकर गौतम थिए।
महोत्सवको हरेक दिनको समापन सन्ध्याकालीन संगीत, नृत्य वा कविताबाट हुँदै आएको छ। उपत्यकाकाे निटफेस्ट चैत १२ सम्म चल्नेछ।