
इटहरी- माध्यमिक शिक्षा (एसइई) अन्तर्गत आइतबार सुनसरीको इनरुवास्थित भगवती माध्यमिक विद्यालयमा निरीक्षकहरूले नै ह्वाट्सएप ग्रुप बनाएर चिट चोराएको पाइएको छ। अनिवार्य गणित विषयको परीक्षामा ह्वाट्सएप ग्रुप बनाएर निरीक्षकले चिट चोराइरहेको अवस्थामा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रसहितको टोलीले फेला पारेको हो।
मिश्रले ह्वाट्सएप ग्रुप बनाएर चिट चोराउन संलग्न तीनजना निरीक्षकलाई नियन्त्रणमा लिइएको बताए। निरीक्षक तथा केन्द्राध्यक्षलाई परीक्षा सञ्चालन भएको कोठामा मोबाइल लैजान रोक लगाए पनि उनीहरू आफैँ चिट चोराउन संलग्न भएका हुन्।
भगवती मावि परीक्षा केन्द्रबाट राष्ट्रिय माध्यमिक विद्यालयमा कार्यरत मुकेन्द्र यादव, भगवती विद्यालयमै कार्यरत रमानन्द यादव र बीपी आधारभूत विद्यालय इनरुवामा कार्यरत शिक्षक दिनेशप्रसाद यादवलाई नियन्त्रणमा लिइएको सुनसरी प्रहरीका एसपी सुमन तिम्सिनाले जानकारी दिए।
उनीहरूमाथि थप अनुसन्धान भइरहेको तिम्सिनाले बताए। उनका अनुसार आइतबार प्रजिअको नेतृत्वमा प्रहरी अधिकारीहरूले अनुगमन गरेका थिए। नियन्त्रणमा लिएका तीनैजना निरीक्षकले ह्वाट्सएप ग्रुप बनाएर भित्रको प्रश्नपत्र बाहिर पठाएर बाहिरबाट सबै प्रश्नको उत्तर लेखेर पठाउने र विद्यार्थीलाई सिकाउने गरेको पाइएको थियो।
यसैगरी अनधिकृत गतिविधि गरेको आरोपमा इनरुवाकै बबिया माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट दुईजना निरीक्षक निष्कासनमा परेका छन्। यसअघि गत बिहीबार सुनसरीकै दुहबीको सरस्वती माध्यमिक विद्यालय र गढीको सरस्वती माध्यमिक विद्यालयबाट दुईदुई जना निरीक्षकलाई निष्कासन गरिएको थियो।
सुनसरीका प्रमुख जिल्ला अधिकारी मिश्र नेतृत्वको टोलीले अनधिकृत गतिविधि गरेको र विषय शिक्षक राखेको भेटिएपछि निष्कासन गरिएको थियो। दुवै परीक्षा केन्द्रका केन्द्राध्यक्षलाई आगामी दिनमा त्रुटि नगर्न सचेतसमेत गरिएको प्रजिअ मिश्रले बताए। उनका अनुसार परीक्षा व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन सबै परीक्षा केन्द्रका केन्द्राध्यक्षलाई आवश्यक सकुर्लर गरिएको छ।
सुनसरीमा निजी विद्यालयका सञ्चालकको आर्थिक प्रलोभनमा निरीक्षक फस्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। जिल्लाका ५० परीक्षा केन्द्रमा १३ हजार ५७३ परीक्षार्थी सहभागी छन्।