अहिले भारतसँगको सम्बन्ध सबैभन्दा नराम्रो अवस्थाबाट गुज्रिरहेको छ : पाकिस्तानी पूर्वविदेशमन्त्री

हिमाल प्रेस १० चैत २०८१ ११:०९
22
SHARES
अहिले भारतसँगको सम्बन्ध सबैभन्दा नराम्रो अवस्थाबाट गुज्रिरहेको छ : पाकिस्तानी पूर्वविदेशमन्त्री पाकिस्तानका पूर्वविदेशमन्त्री खुर्शीद महमुद कसुरी।

पाकिस्तानका पूर्वविदेशमन्त्री खुर्शीद महमुद कसुरीले भारतले देखाएको सद्भावलाई प्रशंसा गरेका छन्।

आफूहरूले धोखा दिएको भएता पनि भारतले सद्भाव देखाएको भन्दै उनले प्रशंसा गरेका हुन्। पूर्वविदेशमन्त्री कसुरीले आफूहरूले धोका दिएको र कारगिल युद्ध सुरू गरेको भए पनि छिमेकी भारतले सधैँ सद्भाव देखाएको बताएका छन्। ‘हामीले धोका दियौँ, कारगिल युद्ध सुरु गर्‍यौँ, तर छिमेकी मुलुकले हामीलाई अंगालो हाल्यो,’ उनले भनेका छन्।

युद्धको समयलाई छोडिदिने हो भने भारत–पाकिस्तानको सम्बन्ध सबैभन्दा नराम्रो अवस्थाबाट गुज्रिरहेको उनको भनाइ छ। यद्यपि उनले दुवै देशबीच सकारात्मक सम्बन्ध स्थापित हुनसक्ने सम्भावना समेत रहेको विश्वास व्यक्त गरेका छन्।

इस्टिच्युट अफ पिस एण्ड कनेक्टिभिटी (आईपीएसी)ले पाकिस्तानको लाहौरमा आयोजना गरेको ‘पाकिस्तान–भारत सम्बन्ध : वर्तमान स्थिति र आगामी बाटो’ सम्बन्धी विषयमा बोल्दै पूर्वविदेशमन्त्री कसुरीले द्विपक्षीय संवादका माध्यमबाट दुवै देशबीच देखिएका असन्तुष्टि अन्त्य गर्न सकिने विश्वास व्यक्त गरे।

दुवै मुलुकबीच देखिएको समस्या समाधानका लागि संवादमात्र एक माध्यम रहेको उनको भनाइ छ। उनले कारगिल युद्धपछि पनि नयाँ दिल्ली र इस्लामाबाद शान्ति प्रक्रिया बहाल गर्न संवादका लागि तयार भएको स्मरण गरे।

कसुरीले संवादका माध्यमबाट आपसी विवादलाई शान्तिपूर्ण ढंगबाट हल गर्न चुक्न नहुने उनको भनाइ छ। पूर्वविदेशमन्त्री कसुरीले कश्मीर मुद्दाको सम्भावित समाधानका लागि चार सुत्रीय फर्मुलाका रूपमा पहिलेदेखि सहमतिको एक खाका तयार भएको जिकिर गरे।

अहिलेको निराशाजन स्थितिका बाबजुद भारतका अधिकांश जनता पाकिस्तानसँग शान्ति चाहिरहेको उनको भनाइ छ। कारगिल युद्धका सुत्रधार परवेज मुशर्रफलाई दिल्लीमा गरिएको स्वागतसम्बन्धी प्रसंग उल्लेख गर्दै उनले दुवै देशबीच सकारात्मक परिवर्तन आउनसक्ने सम्भावनालाई नकार्न नसकिने बताए।

अप्रिल २०२१ मा हिंगलाज माता मन्दिरको दर्शन गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पाकिस्तान भ्रमण तय भएको कसुरीले दाबी गरे।

त्यस्तै शान्ति प्रक्रियालाई आरम्भ गर्न मोदीको पाकिस्तानका तत्कालीन प्रधानमन्त्री इमरान खानसँग भेटवार्ता गर्न इस्लामाबाद पुग्ने कार्यक्रमसमेत तय भएको उनको भनाइ छ। विगतमा हुन नसकेका यी घटनाहरू भविष्यमा हुनसक्ने उनले बताएका छन्। कसुरी सन् २००२ देखि २००७ सम्म पाकिस्तानका विदेशमन्त्री रहेका थिए।

प्रकाशित: १० चैत २०८१ ११:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast