![[टिप्पणी] शिक्षक कर्मचारी आन्दोलनको सही मार्गचित्र](https://himalpress.com/wp-content/uploads/2025/03/hari-d.jpg)
म जुम्लाको श्री हिमा आधारभूत विद्यालयमा कार्यरत कर्मचारी हुँ। नेपाल विद्यालय कर्मचारी परिषद्, जुम्ला जिल्ला कार्यसमितिमा आबद्ध सदस्यका रूपमा कार्य गर्दै आएको छु। हाल शिक्षक तथा कर्मचारी आन्दोलनमा संलग्न भएकाले आफ्नो धारणा राख्न चाहन्छु।
विगत लामो समयदेखि शिक्षक तथा विद्यालय कर्मचारी झिनो अनुदानमा कार्यरत छन्। बढ्दो महँगीका कारण न त घरपरिवारका आवश्यकताहरू पूरा गर्न सकिन्छ न त व्यक्तिगत जीवन नै सहज बन्छ। बारम्बार सरकारले सम्झौता गरे पनि ती सहमतिहरू कार्यान्वयनमा आउन सकेका छैनन्। त्यसैले हामी सरकारसँग विद्यालय शिक्षा ऐन छिटो पारित गर्न र हाम्रा मागहरू पूरा गर्न आग्रह गर्दछौं।
सरकारी विद्यालयका शिक्षक-कर्मचारी अनुदानमा काम गर्छन्, तर बिहान–बेलुका परिवारको छाक टार्न हम्मेहम्मे पर्छ। शिक्षक महासंघका अग्रज नेताहरूलाई अनुरोध गर्न चाहन्छौं— आन्दोलन बारम्बार गर्नुभन्दा ऐन-कानुन निर्माणका लागि दबाब दिने रणनीति अपनाउनु उपयुक्त हुनेछ।
शिक्षक भनेका वैज्ञानिक, इन्जिनियर, पत्रकार, लेखक, पाइलट आदि उत्पादन गर्ने व्यक्तिहरू हुन्। यस्तो महत्त्वपूर्ण जिम्मेवारी बोकेको समुदायलाई सरकारको उपेक्षा सह्य छैन। बर्सेनि शिक्षक–कर्मचारी आन्दोलन गर्नुपर्ने बाध्यता हटाउन सरकारलाई विद्यालय शिक्षा ऐन छिटो पारित गर्न अपिल गर्दछौं।
हामी शिक्षक तथा विद्यालय कर्मचारीहरूले विभिन्न पार्टी कार्यालयमा धर्ना दिनु उपयुक्त उपाय होइन। यदि आन्दोलन गर्नु नै छ भने प्रधानमन्त्री कार्यालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, प्रतिनिधिसभा सचिवालय जस्ता ठाउँमा अनशन बस्नु प्रभावकारी हुनेछ।
नेपाल विद्यालय कर्मचारी परिषद्का सम्पूर्ण सदस्यहरू दिनरात परिश्रम गर्दै आन्दोलनलाई सफल बनाउन लागि परेका छन्। जुम्ला जिल्ला कार्यसमितिको तर्फबाट सबैलाई आभार व्यक्त गर्दै आगामी दिनमा पनि सक्दो सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दछु।
आन्दोलन शिक्षक कर्मचारीको हक, अधिकार स्थापित गर्न हो। त्यसैले, हामीले विवेकपूर्वक निर्णय गरी उचित रणनीति अपनाएर अगाडि बढ्नु आवश्यक छ। सरकार, शिक्षक महासंघ र सम्पूर्ण सरोकारवालाले गम्भीर रूपमा सोच्नुपर्ने बेला आएको छ।