भारतीय दूतावासले मनायो २३ औँ स्वर्ण जयन्ती छात्रवृत्ति दिवस

हिमाल प्रेस ९ चैत २०८१ २१:५०
12
SHARES
भारतीय दूतावासले मनायो २३ औँ स्वर्ण जयन्ती छात्रवृत्ति दिवस

काठमाडौँ- काठमाडौँस्थित भारतीय राजदूतावासले २३ औँ स्वर्ण जयन्ती छात्रवृत्ति दिवस मनाएको छ। दूतावासले शनिबार एक समारोहका बीच स्वर्ण जयन्ती छात्रवृत्ति दिवस मनाएको हो।

कार्यक्रममा भारतीय राजदूत नवीन श्रीवास्तवले स्वर्ण जयन्ती छात्रवृत्ति प्राप्त गरेका दोस्रो ब्याचका मेधावी विद्वानहरूलाई राजदूतको स्वर्ण जयन्ती छात्रवृत्ति ‘रोल अफ अनर’ प्रदान गरेका थिए।

उनले विद्यार्थीहरूलाई आ–आफ्नो क्षेत्रमा उत्कृष्टताका लागि प्रयास गर्न प्रोत्साहन गर्दै भारतको स्टार्टअप इकोसिस्टम, इन्क्युबेसन सेन्टर र अन्य सहकार्यका पहलहरूमा हुने संलग्नतामार्फत उपलब्ध हुने अवसरबारे प्रकाश पारेका थिए।

कार्यक्रममा विश्वविद्यालय अनुदान आयोग नेपालका अध्यक्ष डा.देवराज अधिकारी, काठमाडौँ विश्वविद्यालयका उपकुलपति डा.अच्युत वाग्ले, राजर्षिजनक विश्वविद्यालयका उपकुलपति डा.अमरप्रसाद यादव, पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति डा.बिजुकुमार थपलिया, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति डा.धु्रवकुमार गौतम, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरी र कृषि तथा वन विज्ञान विश्वविद्यालयका यपकुलपति डा.शारदा थपलिया उपस्थित थिए।

भारत–नेपाल आर्थिक सहयोगको ५० वर्षको स्मरणमा सन् २००२ मा प्रतिष्ठित स्वर्ण जयन्ती छात्रवृत्ति स्थापना गरिएको थियो। यस अवधिसम्म छात्रवृत्ति प्राप्त गर्नेहरूको संख्या वार्षिक रूपमा दुई सय जना पुगेका छ।

दूतावासका अनुसार यो छात्रवृत्ति योजनाबाट नेपालका सबै ७७ जिल्लाबाट तीन हजार पाँच सयभन्दा बढी नेपाली विद्यार्थी लाभान्वित भएका छन्। अहिलेको ब्याचमा छात्रवृत्ति प्राप्त गर्नेहरू नेपालका ७५ जिल्लाबाट रहेका छन् जसमध्ये एकतिहाइ छात्रा रहेका दूतावासले जनाएको छ। यस वर्ष भिन्न क्षमता भएका तीन जना विद्यार्थी पनि यो छात्रवृत्तिमा छनोट भएको दूतावासले जनाएको छ।

भारत सरकारले प्रत्येक वर्ष इन्जिनियरिङ, चिकित्सा, दन्त विज्ञान, व्यवस्थापन, वाणिज्य, नर्सिङ, आयुर्वेद, नृत्यर रंगमञ्च र प्रदर्शन कलालगायत विभिन्न क्षेत्रमा नेपाली विद्यार्थीहरूलाई करिब एक हजार पाँच सय छात्रवृत्ति प्रदान गर्ने गरेको छ।

सन् २००१ यता भारत सरकारको तर्फबाट नेपालका लागि भएका विभिन्न छात्रवृत्तिबाट करिब ४० हजार विद्यार्थी लाभान्वित भएको दूतावासले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast