वर्तमान राजनीतिको निकास सर्वदलीय सम्मेलन : भुुसाल

हिमाल प्रेस ९ चैत २०८१ २०:०८
28
SHARES
वर्तमान राजनीतिको निकास सर्वदलीय सम्मेलन : भुुसाल

लुम्बिनी– नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले वर्तमान राजनीतिबाट निकास निकाल्न सर्वदलीय सम्मेलन गर्नुपर्ने प्रस्ताव गरेका छन्।

पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियता र उनको समर्थनमा भएका प्रदर्शनतर्फ लक्षित गर्दै त्यसका लागि सर्वदलीय सम्मेलन गर्नुपर्ने उनको भनाइ छ।

नेकपा एकिकृत समाजवादी रुपन्देहीको १० औँ जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई शनिबार बुटवलमा सम्बोधन गर्दै महासचिव भुसालले यस्तो बताएका हुन्। उनले कुशासन र बेरोजगारी समस्याका कारण पुर्नउत्थान र पपुलिस्ट शक्तिहरुको स्वर चर्को भएको भन्दै यसका लागि सरकार र मुख्य राजनीतिक दलहरु जिम्मेवार हुनुपर्ने बताए।

नेकपा एकिकृत समाजवादीले मुलुकमा भएको अस्तव्यस्ताबाट बाहिर निकाल्न र गणतन्त्रको रक्षाका लागि चैत १ गते आन्दोलनको कार्यक्रम घोषणा गरेको बताउँदै त्यसैको आधारमा राष्ट्रिय ऐजेन्डामा आउन उनको आग्रह छ।

उनले १० वर्षमा रोजगारी सृजना गरी राष्ट्रिय पूँजीको विकास गर्ने र मुलुकमा भ्रष्टाचार नगर्ने गरी राष्ट्रिय ऐजेन्डा बनाउन सर्वदलीय सम्मेलनको प्रस्ताव गरेको समेत बताए।

मुख्य तीन दलका नेताहरुप्रति संकेत गर्दै भुसालले भने ‘यिनीहरुले अहिले सुन्दैनन्, दम्भ, घमण्डले सुन्दैन,’ उनले भने, ‘जब अराजनीतिक मान्छेहरुले लखेट्न थाल्छन् बल्ल बुझ्छन्।’

भुसालले बाहिरबाट हेर्दा सारा नेपाल बौलाएजस्तो देखिएको बताउँदै मुख्य समस्या गरिबी, बेरोजगारीले जन्माएको निराशाको परिणाम भएको बताए। महासचिव भुसालले राजनीतिक रुपमा गणतन्त्रको रक्षाका लागि हस्तक्षेप नगरे नेपालको दुरदसा हुने खतरा रहेको बताए। उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई यसतर्फ सचेत रहन आग्रह समेत गरे।

‘कुनै जमाना यस्तो थियो, ओलीजी रिसाएर हेर्दा मान्छे जलेर भष्म हुन्थेँ,’ महासचिव भुसालले भने, ‘तर आज बोल्न त नसक्ने दिन आयो नै, झ्याल खोलेर हेर्न नसक्ने दिन आयो, यो सामान्य कुरा होइन।’

उनले अबको संकटबाट बाहिर निस्कन प्रधानमन्त्री ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो दम्भ र घमण्ड त्याग्नुपर्ने बताए।

‘ओली, प्रचण्ड, देउवा कान खोलेर सुन, यो संकट यसै जानेवाला छैन,’ महासचिव भुसालले भने, ‘रोजगारीको र सुशासन कायम गर्ने ग्यारेन्टी गर्ने ऐजेन्डामा आउनुस्।’

राजनीतिले राजनीति, राज्यले दायित्व बिर्सेपछि उल्का हुने गरेको उनले बताए। उनले अहिले पनि वर्तमान अवस्थालाई दुइतिहाईको सरकारले नबुझ्ने हो भने राजावादी वा पुर्नउत्थानबादीहरु थप सक्रिय हुने बताए।

‘रोजगारी र सुशासन नै अबको आन्दोलन हो, हामी त्यसैका लागि आन्दोलनको मैदानमा होमिएका छौँ,’ उनले भने। भुसालले अहिले आफूहरु आन्दोलनको मैदानमा सबैलाई आउन आह्वान गरेको बताउँदै हण्डर ठक्कर खाएपछि नेकपा एमाले, काँग्रेस पनि, माओवादी पनि एकै ठाउँ आउने बताए।

एकीकृत समाजवादीको आन्दोलन लामो यात्राका लागि तय भएको बताउँदै ग्रिन सिग्नलका लागि नभएको उनले बताए। ‘अब सत्तामा गएर दुईवटा मन्त्री लिएर बस्दैन, जनतामा जान्छ, एक्लै आन्दोलनको शुरुवात गर्ने हो,’ उनले भने।

भुसालले वामपन्थी र कम्यूनिष्टहरुसँग सडकको यात्रामा भेट हुने बताए। उनले राष्ट्रिय पूँजीको विकास गर्दैै समाजवादमा जाने यात्रामा सडकमै एकता र सहकार्य हुने बताए। उनले आफूहरुको कार्यक्रममा मुलुकको राजनीति आउने समेत दाबी गरे।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका उपमहासचिव मेटमणी चौधरीले संविधानको रक्षाका लागि आफूहरुले एमालेबाट विद्रोह गरेको बताए। उनले अहिलेको राजनीति पनि आफूहरुको पार्टीकै वरिपरि घुमेको बताए।

सचिव तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डेयले नेपाली विशेषताको समाजवादको कार्यक्रम ल्याउने पहिलो पार्टी नै आफूहरुको भएको बताए। उनले नेपाली विशेषताको समाजवादको कार्यक्रम, त्यसबाट समृद्धि र कम्युनिस्ट एकताको कुरा गरेको बताए।

अधिवेशनको उद्घाटन सत्रमा नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्यहरु नन्दलाल बन्जाडे, रमा घर्ती, अब्दुल खाँन, केन्द्रीय सदस्य लक्ष्मी भुसाल, मोहम्मद अब्दुलले आफूहरुको ऐजन्डा ठीक भएकाले एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए।

यस्तै कार्यक्रममा नेकपा मालेका स्थायी कमिटी सदस्य गोपालमणि भट्टराई, पूर्वसांसद रामचन्द्र भट्टराई, नेकपा एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरे, नेकपा माओवादी केन्द्र रुपन्देहीका संयोजक निर्मल जिसि, नेकपा रुपन्देहीका अध्यक्ष शरद वली, राष्ट्रिय जनमोर्चा रुपन्देही अध्यक्ष टानबहादुर केसी,रास्वपा रुपन्देही सचिव विष्णुप्रसाद पौडेललगायतले बोल्दै अधिवेशन सफलताको शुभकामना दिएका थिए।

प्रकाशित: ९ चैत २०८१ २०:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast