
काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाँच लाखभन्दा बढी आप्रवासीहरूको अस्थायी कानुनी मान्यता खारेज गर्ने तयारी गरेका छन्।
ट्रम्प प्रशासनले क्युबा, हाइटी, निकारागुआ र भेनेजुएलाका पाँच लाखभन्दा बढी आप्रवासीहरूको अमेरिकामा बसोबास गर्न पाउने अस्थायी कानुनी मान्यता खारेज गर्ने तयारी गरेको हो।
सीबीएस न्युजले जनाएअनुसार अमेरिकी सरकारले सूचना जारी गर्दै ती आप्रवासीहरूलाई आगामी २४ अप्रिलसम्म उनीहरूको बसोबास अनुमतिपत्र रद्द हुनुअघि देश छोड्न चेतावनी दिएको छ।
अमेरिकाको पूर्वराष्ट्रपति जो बाइडनको कार्यकालमा ती देशका पाँच लाख ३० हजार नागरिक ‘सीएचएनभी’ आप्रवासन योजनाअन्तर्गत अमेरिका आएका थिए। तर, तीमध्ये कति आप्रवासीले यस अवधिमा अमेरिकामा स्थायी रूपमा बस्न पाउने अनुमति पाउन सफल भएका छन्, भन्ने स्पष्ट छैन।
‘सीएचएनभी’ अर्थात क्युबा, हाइटी, निकारागुआ र भेनेजुएला भनिने यो कार्यक्रम सन् २०२२ मा बाइडनको नेतृत्वमा सुरू गरिएको थियो। सुरूमा भेनेजुएलाका नागरिकका लागि ल्याइएको कार्यक्रम पछि अन्य देशहरूमा विस्तार गरिएको थियो।
यो कार्यक्रमअन्तर्गत अमेरिकी प्रायोजकहरू भएका ती चार देशका आप्रवासी र उनीहरूका नजिकका परिवारका सदस्यहरूलाई अमेरिकामा उडान गर्न र प्यारोल भनेर चिनिने अस्थायी आप्रवासनअन्तर्गत दुई वर्षसम्म रहन अनुमति दिइएको थियो।
बाइडेन प्रशासनले ‘सीएचएनभी’ ले दक्षिण अमेरिकी सीमामा अवैध प्रवेशलाई रोक्न मद्त पु¥याउने तर्क गरेको थियो। तर, आन्तरिक सुरक्षा मन्त्रालयले सीएचएनभी कार्यक्रम आफ्नो लक्ष्यमा असफल भएको जनाउँदै पूर्वप्रशासनको आलोचना गरेको छ।
बाइडेन प्रशासनका अधिकारीहरूले ‘आप्रवासीलाई अमेरिकी जागिरका लागि प्रतिस्पर्धा गर्ने अवसरहरू प्रदान गरेका थिए र अमेरिकी कामदार कटौती गरेको’ मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ।
‘सीएचएनभी’ ले कयरिबियन देशको बिग्रिँदो अवस्थाबीच हाइटीका २ लाख १३ हजार जनालाई अमेरिका प्रवेश गर्न मुद्त गरेको जनाइएको छ। त्यस्तै भेनेजुएलाका एक लाख २० हजार ७ सय, क्युबाका एक लाख १० हजार ९ सय र निकारागुआका ९३ हजारभन्दा बढीलाई अमेरिका प्रवेश गर्न अनुमति दिइएको थियो।
जनवरी २० मा पदभार ग्रहण गरेयता ट्रम्पका आप्रवासन नीतिहरूले धेरै कानुनी अवरोधको सामना गुर्नपरेको छ।