
काठमाडौँ- राजतन्त्र ब्युँताउने नारासहित राप्रपा, राप्रपा नेपाल र केही समूह सडकमा छन्। उनीहरूले शनिबार पनि नारायणहिटी दरबारअगाडि सडकमा केहीबेर नाराबाजी गरे। सडकमै लाखौँ जनता उतारेर राजतन्त्र पुनर्स्थापना गर्ने र पूर्वराजा ज्ञानेन्द्र शाहलाई श्रीपेच लगाउने दाबी उनीहको छ।
पूर्वराजा ज्ञानेन्द्रलाई अभिभावकका रूपमा राजगद्दीमा राख्ने र लोकतन्त्रभित्रै राजा अटाउने उनीहरूको प्रयत्न कस्तो हुन्छ, त्यो त आगामी दिनमा देखिने नै छ। यहाँ चर्चा गर्न लागिएको विषयचाहिँ राजतन्त्रका पक्षमा रहेको युवा विद्यार्थीको अवस्थाबारे हो।
केही दिनअघि देशका विभिन्न क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव सम्पन्न भएको छ। देशभर त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा भएको चुनावमा राजावादी एजेन्डा बोकेका दलका विद्यार्थी भ्रातृ संगठनको ‘हरिबिजोग’ देखिएको हो। स्ववियुलाई विद्यार्थीकालमा राजनीतिक अभ्यास गर्ने थलोका रूपमा पनि लिइन्छ।
कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले १०९ क्याम्पसमा स्ववियु चुनाव जित्दा एमाले निकट अनेरास्ववियुले ९७ क्याम्पसमा निर्वाचित बनेको छ। माओवादी निकट अखिल क्रान्तिकारी ८४ क्याम्पसमा निर्वाचित भएको छ।
एकीकृत समाजवादीनिकट अनेरास्ववियूले चार, स्वतन्त्र तीन, जसपानिकट विद्यार्थी गठन समाजवादी विद्यार्थी युनियनले एउटा क्याम्पसमा स्ववियु अध्यक्ष जितेको छ। व्यवस्था उल्ट्याउने एजेन्डा बोकेका राजावादी दलका विद्यार्थी भ्रातृ संगठनलाई स्ववियुको प्रतिस्पर्धामा अस्तित्व जोगाउन हम्मेहम्मे परेको छ। राजावादीमध्येका केही दलले त ‘नवीनतम’ एवं युवा दल भनेर घोषणासमेत गरेका थिए।
जनमत उनीहरूतर्फ तानिएको छैन। यसरी स्ववियुमा प्रतिस्पर्धामै आउन नसक्नुको कारण के हो? के राजावादी दलका विद्यार्थी संगठनले स्ववियु चुनाव लडेनन्? अहिले धेरैको मनमा चासोको विषय छ। राजावादी दलको प्रतिनिधित्व गर्ने राप्रपा र राप्रपा नेपालले स्ववियु चुनावमा भाग लिएका थिए। नतिजा उनीहरूका पक्षमा आएन।
राजावादी दल मध्ये राप्रपा र राप्रपाका विद्यार्थी संगठन अन्यको तुलनामा केही सक्रिय देखिन्छन्। राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन र राप्रपा नेपाल निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपाल नामका विद्यार्थी संगठन क्रियाशील छन्।
राप्रपा निकट विद्यार्थी संगठनले यसपटक झापाको गरामनी क्याम्पसमा प्यानल जितेको छ। यसैगरी झापाको गौरादह बहुमुखी क्याम्पसमा सचिव, प्रत्यक्ष सदस्य र समानुपातिक सदस्य जितेको छ भने पाँचथर बहुमुखी क्याम्पसमा प्रत्यक्ष स्ववियु सदस्य जितेको छ।
यसैगरी राप्रविसंघले सीता रमेश बहुमुखी क्याम्पस, बुद्धशान्ति झापामा एक समानुपातिक सदस्य जितेको छ। ऐश्वर्य बहुमुखी क्याम्पस धनगढीमा नेविसंघ र राप्रविसंको संयुक्त प्यानल निर्वाचित भएको छ। यता कृष्ण वैद्यनाथ बहुमुखी क्याम्पस कञ्चनपुरमा सदस्य जितेको छ।
आफ्नो संगठनले ९२ क्याम्पसमा संगठन दर्ता गरेको राप्रविसंका अध्यक्ष कमल बम रजवारले जानकारी दिए। रजवारले अघिल्लो स्ववियु चुनावको तुलनामा यसपटक मत बढेको दाबी गरेका छन्।
‘यसपटक मत बढेको देखिएको छ। कतिपय क्याम्पसमा अहिले पनि निर्वाचन अवरुद्ध छ। अब त निरन्तर बढ्छ,’ बम भन्छन्। उनका अनुसार स्ववियु निर्वाचन स्वतन्त्र र भयरहित नहुने कारण पनि आफ्नो संगठनको मत कम आएको हो।
राप्रपाले विद्यार्थीमा संगठन चुस्त बनाउन नसकेको स्वीकारेको छ। ‘हामीले युवा संगठन सक्रिय बनाउन सकेको छैनौँ। यद्यपि यो व्यवस्थाका कारण पनि मत अपेक्षाकृत आएन’, राप्रपा महामन्त्री राजेन्द्र गुरुङ भन्छन्।
गुरुङले भने जस्तै राप्रपामा विद्यार्थी संगठनमा सक्रियता जनाउन सकिएको छैन। हालका संगठनका अध्यक्ष बम पनि कमल थापा निकट राप्रपा नेपालबाट राप्रपामा प्रवेश गरेका हुन्।
‘हाम्रो बीचमा राष्ट्रिय सम्मेलन भयो। त्यसबाट म अध्यक्ष भएको हुँ,’ बमले भने। केही समयमै विद्यार्थी संगठनको महाधिवेशन हुनेछ। महाधिवेशनबाट आएको नेतृत्वले विद्यार्थीमा ऊर्जा भर्ने उनको दाबी छ। ‘आन्दोलन, स्ववियु निर्वाचनले हामीले महाधिवेशन गर्न सकेको छैनौँ। अब तत्काल प्राथमिकता दिनेछौँ’, बम भन्छन्।
राप्रपा नेपाल निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको त स्ववियुमा उपस्थितिसमेत देखिएन। स्ववियुमा कति ठाउँमा भाग लिएको भन्ने विषयमा संगठनले कुनै तथ्यांक दिन सकेन। ‘चुनााव परिणाम सकारात्मक देखिएन। धेरै ठाउँमा प्रयास गरिएको थियो’, संगठनका अध्यक्ष चेतराज सिंहले भने, ‘भाग लियौँ तर विभिन्न कारणले परिणाम सकारात्मक आउन सकेन।’
उनका अनुसार दलीय सिन्डिकेट र घुसपैठका कारण पनि मत नआएको हो। ‘ठूला संगठन एक भएर लडेर सिन्डिकेट जारी गरेपछि अरूलाई मत नआउनु स्वाभाविक हो,’ सिंह भन्छन्, ‘सत्तारुढ ठूला दुई दलका संगठन एक भएर लड्दा कस्तो रहला हविगत?’
स्ववियुमा मत आउन नसकेपछि दुवै संगठनले निर्वाचन प्रक्रिया र स्ववियुप्रति प्रश्न उठाएका छन्। निर्वाचन प्रक्रिया दलीयकृत भएको र संसदीय चुनावको झल्को देखिने गरेको आरोप छ। ‘पार्टीले आफ्ना संगठनलाई सत्तामुखी बनाउन स्ववियु निर्वाचन गरेका छन्। यो सत्ताको आडमा गरिन्छ,’ राप्रविसं नेपालका अध्यक्ष सिंह भन्छन्, ‘यही व्यवस्थामा चुनाव लड्दा हामीले जित्ने सम्भावना रहँदैन।’ विद्यार्थी खरिदबिक्रीदेखि ठूलो मात्रामा आर्थिक चलखेल हुने उनीहरूको आरोप छ।
‘नयाँलाई आउने ठाउँ दिइँदैन किनभने अनेक भ्रष्ट काम भएका छन्। त्यस्ता अनियमितता लुकाउन ठूला दलबीच तालमेल गरिएको छ’, सिंह भन्छन्, ‘स्ववियु निर्वाचनमा साम, दाम, दण्ड, भेद सबै प्रयोग गरिएको छ। यो व्यवस्थामा स्ववियुको औचित्य छैन।’
नेविसंघका प्रवक्ता सुरज सेजुवाल अब विद्यार्थीको जनमत व्यवस्थाविरोधीका पक्षमा नजाने बताउँछन्। उनले भने, ‘अब व्यवस्था परिवर्तनको कुरा गर्नु मूर्खता हो भन्ने सन्देश दियो। राजावादीका संगठनले जितेनन् भन्नुको अर्थ राजाप्रति विद्यार्थीको जमातको आकर्षण छैन भन्ने हो।’
अनेरास्ववियुका सचिव एवम् प्रवक्ता प्रकाश पौडेल राजावादीहरूले अहिले बौद्धिक होइन हल्लाबाज मात्रै खोजिरहेको पुष्टि भएको बताए। उनले भने, ‘स्ववियु चुनावले यही सन्देश दिएको छ। बौद्धिक जमात राजा ल्याउने अभियानमा छैनन्।’
यसैबीच नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्ववियु निर्वाचनको नतिजाले राजतन्त्रको पक्षमा जनमत छैन भन्ने पुष्टि गरेको बताएका छन्।
नेपाली कांग्रेस नेपाली कांग्रेस तनहुँ जिल्ला कार्यसमितिले शनिबार दमौलीमा आयोजना गरेको कार्यकर्ता भेटमा उनले उक्त कुरा बताएका हुन्। उनले वर्तमान व्यवस्थालाई बलियो बनाउनुपर्नेमा जोड दिए। त्यसका निम्ति सबै कार्यकर्ताबीच एकता अपरिहार्य रहेको औँल्याए।