पुस्तक चर्चा

यात्रा संसारको, प्रेम जन्मभूमिको

माधवप्रसाद नेपाल ९ चैत २०८१ ११:१२
112
SHARES
यात्रा संसारको, प्रेम जन्मभूमिको

मानव जाति आदिमकालदेखि यात्रामा रमाउँथ्यो भन्ने विवरण विभिन्न काव्य, अभिलेख र गाथाहरूमा पाइन्छ। आदिग्रन्थ वेदका ऋचामा तीर्थयात्रा, ऋषिमुनिको भ्रमण, आर्यहरूको बसाइँ सराइ तथा देवयात्राको चर्चा छ।

उपनिषद्‍‌मा ज्ञानको खोजीमा गरिएका यात्रा विवरण समावेश छन्। कठोपनिषद्‌मा नचिकेताको यमलोक यात्रा रोचक छ। बृहदारण्यक उपनिषद्‌मा जनक राजाको ऋषिहरूसँगको भेटघाट यात्रा विवरण पाइन्छन्।

वैदिक साहित्यमा यात्रा भौगोलिक गन्तव्य मात्र थिएन, यो त ज्ञान, धर्म, राजनीति र संस्कृतिको अभिन्न हिस्सा थियो। तीर्थयात्रा, यज्ञयात्रा, व्यापारिक यात्रा तथा ऋषिहरूका भ्रमणहरू त्यसका उदाहरण हुन्।

रामायणमा रामको वनवास यात्रा, हनुमानको लंका यात्रा तथा र महाभारतमा अर्जुनको तीर्थयात्राजस्ता प्रसंग चर्चित छन्। सभ्यताको विकाससँग घुमन्ते प्राणी मानिसले आफ्ना अनुभव लिपिबद्ध गरेर साहित्यिक रूप दिएको धेरै पहिलेदेखि हो।

मेसोपोटामियाको प्राचीन महाकाव्य ‘गिल्गामेस’ मा उरुकका राजा गिल्गामेसको जीवन, साहसिक यात्रा, मित्रता र अमरताको खोजीको विवरण छ। ग्रिक भाषाको प्राचीन महाकाव्य ‘ओडेसी’मा ओडिसियसको समुद्री यात्राको विवरण मार्मिक छ।

सातौँ शताब्दीका चिनियाँ यात्री ह्वेनसाङले लेखेको भारत यात्रा, तेह्रौँ शताब्दीका मार्को पोलोको ‘द ट्राभल्स’ (चीन, मध्यएसिया र भारत यात्राको वर्णन) क्रिस्टोफर कोलम्बसको अमेरिका खोजको विवरण, जर्ज वासिङ्टनको ‘जर्नल अफ माई जर्नी’, चार्ल्स डार्बिनको ‘द भ्वायज अफ द बिगल’ जस्ता यात्रा विवरण यात्रा साहित्यका नमुना कृति हुन्। सन् १९७७ मा प्रकाशित ब्रुस च्याटबिनको ‘इन प्याटागोनिया’ आधुनिक यात्रा साहित्यको चर्चित पुस्तक मानिन्छ।

गंगालाल श्रेष्ठको ‘वेदना र बेलायत’, तानासर्माको ‘बेलाइतिर बरालिँदा’, लालनप्रसाद शर्माको ‘युरोपको यात्रा’, हरिभक्त कटुवालको ‘संसारका दस महादेश’, रुद्रराज पाण्डेको ‘हिउँचुलीबाट उष्णदेशसम्म’, रमेश विकलको ‘यात्राका पाइलाहरू’ जस्ता कृतिले नेपाली यात्रा साहित्यलाई समृद्ध बनाएका छन्।

पछिल्ला दशकमा नेपाली भाषामा लेखिएका यात्रा साहित्यको सूची लामै छ। यसै सूचीमा सूचीकृत भएको छ- संसारको सेरोफेरो। यसका लेखक हुन् डा. चन्द्र गिरी। कृतिको शीर्षकले यसको विषयगत आयाम विस्तृत रहेको स्पष्ट हुन्छ।

गिरीको यात्रा ‘दौराको फेर समातेर हजुरबाको पछि लाग्दा’ बाट सुरु भएको छ भने ‘मध्यरातको घामसँगै अलास्का क्रुज’ मा पुगेर टुंगिएको छ। ६ वटा महादेशका १२६ देशको भ्रमण गरिसकेका गिरीले देखेको संसार पुस्तकमा पढ्न पाइन्छ।

‘संसारको सेरोफेरो’ मा ३६ वटा यात्रा विवरण समेटिएका छन्। नेपाली गाउँले जनजीवन, संसारका प्रायः सबै महादेशको भूगोल, हावापानी, प्रविधिले बनेको उन्नत जीवनशैली एउटै कृतिमा पढ्न पाइन्छ।

खोटाङमा जन्मिएका डा. गिरीले बाल्यकालमा गरेका यात्राबाट लेखन थालेका छन्। प्रारम्भिक यात्रामा उनी निकै आस्तिक देखिन्छन्। शिवरात्रिका बेलामा हलेसी मन्दिरमा गरिने रातभरको जाग्राम बसेको सन्दर्भलाई स्मरण गर्दै उनले सनातनी सभ्यतामा तीर्थयात्राको महत्त्वलाई स्पष्ट पारेका छन्। उनको बुझाइमा सनातनीले कुम्भमेला र चार धाम नगरी नहुने यात्रा हुन्। यसैगरी मुस्मिलले मक्कामदिना, बौद्धले लुम्बिनी, इसाइले भ्याटिकन सिटीको फेरो मार्नैैपर्छ।

गिरी तीर्थयात्रामा मात्रै पाठकलाई डुलाउँदैनन् पर्यटकको सत्कारमा संसारकै नमुना देशमा पुगेको वर्णनलाई रोचक ढाँचामा प्रस्तुत गर्दछन्।

बब मार्लीजस्ता विश्वविख्यात संगीत हस्ती र प्रसिद्ध धावक उसन बोल्ट जन्माउने जमैका पुग्छन्। त्यहाँको हावासँग संगीत बहेको वर्णन गरेर पाठकलाई लोभ्याउँछन्। अनि एक बोतल रमको ५० लाख रुपैयाँसम्म पर्ने सन्दर्भ ल्याएर मापसेका सौखिनहरूको ध्यानाकृष्ट गराउँछन्।

केन्याको नैरोबी भ्रमणका क्रममा प्रसिद्ध ताल र जनावरहरूको अवलोकन गरेपछि उनी अफ्रिकी पर्यटन व्यवसायको मुक्तकण्ठले प्रशंसा गर्छन्।

अमेरिकाको न्युयोर्क पुग्दा गिरीलाई सहर २४ सै घण्टा जागा लाग्छ। त्यहाँको बयान गर्दै उनले लेखेका छन्- ‘हिँडिरहेका मानिस देख्दा लाग्यो उनीहरू हिँडेका होइनन्, दौडिरहेका छन्। सबै कहीँ जान हतारमा छन् यो सहरमा। ट्याक्सीहरू पनि निकै हतारमा गुडिरहेका छन्।’

हड्सन नदीको किनारैकिनार पैदल यात्रा गरेका उनले न्युयोर्क सहरका सबै पर्यटकीय स्थानमा पुगेर त्यहाँको विवरण लिपिबद्ध गरेका छन्। उनको अनुभवमा थिएटर, व्यापार, टीभी, मोडेल, ब्रोड वे सोका लागि प्रमुख गन्तव्य हो न्युयोर्क।

भारतको प्रसिद्ध सहर मुम्बईमा सात दिन बस्दा उनले सिनेमा, बजार, समुद्र, गगनचुम्बी महल, होटल, स्ट्रिट फुडको स्वादको बयान गरेका छन्।

गिरी मान्छेको भीड र भौतिक विकासले उन्नत बनेका सहरमा मात्रै पुग्दैनन्, जीवजन्तुसँग पनि साक्षात्कार गर्न लामो यात्रामा निस्किन्छन्। केन्याको मसाई मारा वन्यजन्तु आरक्ष एउटा उदाहरण हो। त्यहाँ पुगेर एकैपटक हजारौँ वन्यजन्तु देख्दा उनको सातोपुत्लो उडेको छ।

केन्याकै प्रसिद्ध पर्यटकीय स्थल मसाई माराको भेषभूषा, संस्कृति र नाचगानमा रमाएका छन् उनी।

बंगलादेशको ढाका पुग्दा उनलाई सहरै रिक्साले ढाकेजस्तो लाग्छ। गिरीले ढाकाको द्रूत आर्थिक विकासको विवरण दिएका छन्। ढाकेश्वरी हिन्दु मन्दिरको इतिहास खोतलेर मुसलमान बहुल समाजको त्यो भीडमा सनातनहरूको आस्थाको वर्णन गरेका छन्। ढाकाको आसान मञ्जिल र सोनार गाउँ संग्रहालय भ्रमणको वर्णन गर्ने क्रममा उनले बंगलादेशको विगत पाठकसामु ल्याएका छन्।

ब्राजिल पुगेर उनले समुद्री तटको मज्जा लिएका छन्। रियो सहरका पर्यटकीय स्थलको भ्रमण गरेका छन्। ब्राजिलको सबैभन्दा ठूलो रंगशाला माराकाना पुगेर महान् फुटबलर पेलेका जादुमयी खेलजीवनको स्मरण गरेका छन्।

ब्राजिलको जीवनशैली फुटबल र बाटाबाटामा फुटबल खेलेको देखेका उनले ब्राजिलमा ८०० जति फुटबल क्लब रहेको र त्यहाँका १५ हजारभन्दा बढी खेलाडी युरोपका विभिन्न क्लबमा खेलिरहेको विवरण पाठकसामु ल्याएका छन्।

जोगीदेखि भोगीसम्म रमाउने बनारस पुगेर उनले सनातनीहरूको प्राचीन सभ्यतातर्फ आकर्षित गराएका छन्। गंगाका घाट, त्यहाँका धर्मशालाका नेपाली, बनारसमा पाइने पान, हिन्दुहरूका लागि प्रसिद्ध भूमि हुनाको कारण, बनारसको ऐतिहासिकता लिपिबद्ध गरेर काशीको आस्थाको गौरवलाई पाठकसमक्ष प्रस्तुत गरेका छन्।

जमिन मात्रै होइन पानीमुनि र अकाशको यात्राका अनेक किस्सा कृतिमा समेटिएका छन्। ‘आकाशमा अत्यास’ मा हवाई उडानका रोचक विवरण छन्। घरेलुदेखि अन्तर्राष्ट्रिय वायुसेवाका अनेकौँ उडानमा भोगेका डरलाग्दा क्षणहरूलाई डा. गिरीले वर्णन गरेका छन्।

समुद्री यात्राका रमाइला अनुभव पनि छन् डा. गिरीसँग। पानीजहाजमा यात्रा गर्दाको रोचक विवरण नेपालीका लागि अनौठो लाग्छ। क्रुज यात्राको रमणीय पलबारे उनले लेखेका छन्, ‘यो पाँच दिन सबै नाचगान, खानपान, गफगाफ, घुमघाम, खेलकुद आदिमा बिताइरहेका छन्। यो सबै देख्दा र अनुभव गर्दा लाग्यो, मलगायत सबै स्वर्गमा आएका छौँ।’

विशाल समुद्रमा देखिने सूर्योदय र सूर्यास्त, चारैतिर परपर क्षितिसम्म देखिने समुद्र र यदाकदा देखिने टापु, आकाशको तारा होस् वा मध्याह्नको टन्टलापुर घाम एउटा फरक आँखाले हेर्ने अवसर मिलेको आनन्दको बयान क्रुज यात्राका क्रममा गरिएको छ।

‘मध्यरातको घामसँगै अलास्का क्रुज’ मा डा. गिरी समुद्री यात्राको आनन्दमा मस्ती लुट्न पुगेका छन्। ‘अविस्मरणीय अरुबा’ क्यारेबियन टापुको यात्रा विवरण हो। यसमा समुद्री छेउका सौन्दर्यलाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ। संसार प्रसिद्ध समुद्री तटको मज्जा लिँदाको अनुभवलाई गिरीले लिपिबद्ध गरेका छन्।

इदी अमिन (विख्यात तानाशाह) को देश युगान्डा पुगेर उनको त्यहाँका नागरिकको जीवनशैली नियालेका छन्। पशुपक्षीसँग साक्षात्कार गरेका छन्। विभिन्न जंगलको अवलोकन भ्रमण गरेका छन् भने भिक्टोरिया तालको सौन्दर्यमा लठ्ठ परेका छन्।

क्यानकुनमा लुकोको मायान सभ्यता मेक्सिको भ्रमणपछि तयार पारिएको यात्रा विवरण हो। यसमा उनले लेखेका छन्, ‘क्यानकुन त स्वर्गको सानो टुक्रा रहेछ! जमिनको सुन्दरता त देखेको थिएँ, आज समुद्रभित्रको संसार देख्दा पाएँ। खुसीको कुनै सीमा नै रहेन।’ दोस्रोपटक उनी तीन हजार माइलबाट आएका दुई करोड पाहुना हेर्न फेरि मेक्सिको पुगेका रहेछन्।

डा. गिरी समुद्रमा सुँगुरसँग पौडी खेल्न बहामा पुग्छन्। क्यारेबियन टापुको पर्यटन व्यवसायको वर्णन यहाँ पाइन्छ। उनले बहामाका बारेमा लेखेका छन्, ‘मलाई त बहामा र यस्तै सुन्दर ठाउँहरू देखेर स्वर्ग त पृथ्वीमै छ जस्तो लाग्छ।’ त्यहाँ मानिसहरू निजी पानीजहाज, निजी विमान, चार्टर्ड उडान लिएर भ्रमणमा जाँदा रहेछन्।

गिरी ८३ प्रतिशत हिन्दु रहेको इन्डोनेसियाको बाली पुगेर सनातनी सभ्यतासँग साक्षात्कार गर्छन्। ‘जहाँ टापुटापुमा देवताको बास छ’ मा नेपाल र बालीको हिन्दु धर्मको भिन्नता चर्चा गरिएको छ।

डा. गिरी सधैँ विकसित ठाउँमा मात्रै पुग्दैनन्, कहिलेकहीँ उनी जीवन्त संस्कृति, सुन्दर समुद्री तट र समृद्ध इतिहास भएको देशमा पनि पुग्छन्। सेनेगलको राजधानी डकारमा उनलाई रातभर लामखुट्टेले टोकेर हैरान पारेको छ। सेनेगल कला र समृद्ध रहेको उनको लेखनबाट स्पष्ट हुन्छ। साथै नेपालको पहाडी भूमिको जस्तो खानपान र कृषिजीवनको चर्चा गरिएको छ।

बर्मा भ्रमणमा पनि उनलाई त्यस्तै भएको छ। ‘चिन’ प्रान्तको एउटा गेस्ट हाउसमा उनलाई लामखुट्टेले टोकेर सास्ती दिएको छ। उनले लेखेका छन्, ‘राति जंगलको बीचमा भएको गेस्टहाउसमा सुत्दा लामखुट्टेले हैरान पार्‍यो। झुल टाँगेर जसोतसो सुत्न लाग्दा अर्को कोठामा सुतेका एकजनाले घुरेर सुत्नै दिएनन्। त्यति ठूलो आवाजमा कसैले पनि घुरेको अहिलेसम्म सुनको छैन मैले।’

कोलम्बो पुगेर उनले त्यो सहरको भव्यता शब्दचित्रमा उतारेका छन्। क्यान्डी सहरस्थित विश्वसम्पदा सूचीमा सूचीकृत टेम्पल अफ ट्रुथमा बुद्धको दाँतको अवशेष राखिएको सन्दर्भले लुम्बिनीको सम्झना गराउँदो रहेछ।

मालदिभ्समा पुगेका गिरीले त्यहाँको पर्यटकीय क्षेत्रको भ्रमण, अवलोकन, समुद्र र समुद्रमुनिको होटलेको आनन्द लिएका छन्। उनलाई बिस्तारै त्यो देश समुद्रमा डुब्ने चिन्ता पनि रहेछ।

पर्यटकीय मुलुक थाइल्यान्ड भ्रमणमा गएका बेला डा. फुकेतमा रमाएका छन्। संसार प्रसिद्ध जेम्स बोन्ड आइल्यान्ड पुगेर गिरीले चर्चित फिल्म ‘द मेन विद द गोल्डेन गन’ को चर्चा गरेका छन्।

थाइल्यान्ड गएका बेला ६ वटा काम गर्नै नहुने सन्देश उनले ‘मैले देखेको थाइल्यान्ड’ मा सुझाव दिएका छन्। चौबीस घण्टाका लागि कम्बोडियाको अन्कोरवाट पुगेका गिरीले त्यहाँका रोचक पक्षलाई लिपिबद्ध गरेर पाठकलाई जाऔ जाऔँ बनाउन खोजेका छन्।

पानामा नहर पुगेका उनले त्यो नहरको सान्दर्यको मात्रै वर्णन गरेका छैनन्, त्यहाँको पर्यटन क्षेत्रको विकासलाई पनि प्रस्तुत गरेका छन्।

डा. गिरीले ल्याटिन अमेरिकी देशमा सिपिङ र फाइनान्सियल हबका रूपमा विकसित पानामाको अर्थतन्त्र नजिकबाट नियालेका छन्। ‘डेरिअन ग्यापको डरलाग्दो कथा’ तल्लो बाटो भएर अमेरिका जाने नेपालीहरूसँग जोडिएको भूगोलको विवरण हो।

उनले त्यहाँको इन्सेनाडा डी रिओ जंगल भ्रमण जाँदा अवैध रूपमा अमेरिका प्रवेश गर्न खोजेका आप्रवासीहरूको ताँती देख्छन्। अवैध रूपमा अमेरिका प्रवेश गर्न लागेका १० जना नेपालीलाई एउटा टेन्टमा भेट्दा उनको मन कुँडिएको छ।

लेखक गिरी कोस्टारिकाको राजधानी सान होजेमा लुटिएका छन्। इटालीको राजधानी रोममा लुटिएका छन्। कोस्टारिकामा त लुटेराका अगाडि प्रहरी पनि केही गर्न सक्दा रहेनछन्।

‘कमालको कोस्टारिकामा’ मा संसारमा जैविक विविधता भएको देशमध्ये एउटा कोस्टारिकाको जीवनशैली, प्राकृतिक सम्पदा र त्यहाँको सौन्दर्यको वर्णन गरेका छन्।
‘चालकबिनै गन्तव्यमा पुर्‍याउने ट्याक्सी’ अमेरिकाको सानफ्रान्सिस्को सहरमा विकसित भएको चालकरहित कारको वर्णनमा आधारित छ। त्यहाँको भव्य जीवनशैली र भ्रमणयोग्य ठाउँको चर्चा गरिएको छ।

१४ दिनमा इटाली, बेल्जियम, नेदरल्यान्ड, बेलायत र फ्रान्स छिचोलेका उनले ती देशका पर्यटन, भौतिक विकास, इतिहास आदिलाई सरसर्ती अध्ययन गरेको उल्लेख गरेका छन्। यसैगरी कोपेनहेगन पुग्दा डा. गिरीले त्यहाँको यौनजीवनलाई नजिकबाट हेरेका छन्। अस्ट्रेलिया यात्राका क्रममा गिरीले नेपालको गाउँमा जन्मिएर त्यहाँ पुगेका हरि पोखरेलको सफलताको कथा सुनेर दंग परेका छन्। सिंगापुर भ्रणमा पुग्दा डा. गिरी वीर गोर्खालीको गाथा भुल्दैनन्। सिंगापुरेले गोर्खामाथि गरेको विभेदप्रति भने उनले असन्तुष्टि पोखेका छन्।

बर्मामा पुग्दा नेपाली जातिको उच्च प्रशंसा गर्न भुलेका छैनन् डा. गिरीले। गिरी यात्राका त्रममा कुनै ठाउँमा तीन पटकसम्म पुगेका छन्। त्यसमध्येको एक ठाउँ हो अमेरिकाको हवाई। उनले हवाईको प्रशंसा गर्दै लेखेका छन्, ‘बाह्रै महिना न जाडो न गर्मी… प्राकृतिक सुन्दरता, यहाँ गर्न सकिने र सजिलैसँग उपलब्ध विविध क्रियाकलाप, खानेकुराहरू, रहनसहन, संस्कृति र आरामदायी जीवनशैलीले पनि जोकोहीलाई खिचेर यहाँ ल्याउँछ। विश्वका सबैभन्दा सुन्दर समुद्री तटमध्ये एकमा पर्छ हवाई।’

गिरीलाई आफ्नै देश अद्भुत लाग्छ। पोखरा, सौराहा, विराटनगर यात्रामा उनको प्रकृतिप्रेम, देशप्रेम, धर्तीप्रेम, स्वदेश प्रेम अभिव्यक्त भएका छन्। आफ्नै देशमा भ्रमण गर्ने धेरै ठाउँ रहेको सन्देश उनको छ। नेपाली भूमिको यात्रा गर्दा उनी आमा र जन्मभूमिको जत्ति माया संसारका अन्त कतै नपाइने अनुभव उनले उल्लेख गरेका छन्।

‘दिव्य देवघाट’ मा उनले धार्मिक एवम् आध्यात्मिक स्थल देवघाटधामका सबै पक्षको वर्णन गरेका छन्। देवघाटको महत्त्वबारे प्रकाश पार्दै उनले लेखेका छन्, ‘आधाजसो जीवन व्यतीत गरेको र हाल अमेरिकामा स्थायी रूपमा बसोबास गर्ने म मनुवालाई देवघाट पुगेपछि सारा संसारको मायामोह बिर्सेर त्यहीँ बसू-बसूँजस्तो लाग्यो।’

खोटाङमा हुँदा दिसा गर्न लोटामा पानी लिएर जंगल पसेर हुर्किएका डा. गिरीले सिंगापुरमा रिमोट कन्ट्रोलको सहायताले सफा गरेको अनुभव लिएका छन्। संसारको विकसित देशको जीवनशैलीसँग घुलमिल गरेका छन्। अनेक संस्कृति र भूगोलका मानिसको संगत गर्न पाएका छन्।

कहाँ जाँदा के कस्ता बन्दोबस्तीका सामान लैजाने र स्थानीय मानिसहरूसँग कस्तो व्यवहार गर्ने भन्ने जानकारी दिनु उनको लेखनीको सबल पक्ष हो। सकेसम्म सम्बन्धित देशको सामाजिक र राजनीतिक इतिहास उधिन्न खोजेका छन् उनले। नियात्रामा मिति पनि उल्लेख गरेको भए अझै सुन्दर हुने थियो।

डा. गिरीका अधिकांश भ्रमण कार्यालयसँग सम्बन्धित छन्। त्यसैले उनले चाहेर पनि भ्रमण अवधि लम्ब्याउन पाएका छैनन्। छोटो अवधि बसे पनि उनले त्यस ठाउँमा गरेको अनुभव उतारेका छन्।

उनी लेख्छन्- ‘घर र काम छोडेर मस्तसँग रमाउन यात्रामा गइन्छ तर मेरो हकमा भने प्रायः काम पनि सँगसँगै बोकेर आएको हुन्छु। दिनभर मिटिङ र सेमिनारमा व्यस्त हुन्छु अनि मिलेसम्म थप १/२ दिन बसेर आनन्द लिन्छु।’

संसारको सेरोफेरोमा विश्वको भूगोल, संस्कृति, प्राकृतिक सौन्दर्य र मानवीय जीवनशैलीको रंगीन चित्र प्रस्तुत गरिएको छ। साथै तीर्थयात्राको आध्यात्मिक महत्त्वदेखि पर्यटकीय रमझमसम्म, र प्राकृतिक सौन्दर्यदेखि आधुनिक प्रविधिको चमत्कारसम्मलाई एकसाथ जोडिएको छ।

जमैकाको संगीतमय हावा र रमको महँगो मूल्य, केन्याको वन्यजन्तु र पर्यटन, न्युयोर्कको अहोरात्र जागृत जीवन, मुम्बईको सिनेमादेखि स्ट्रिट फुडसम्म, ब्राजिलको फुटबल संस्कृति, बनारसको सनातनी सभ्यता र समुद्री क्रुजको स्वर्गीय अनुभवजस्ता विवरणले पाठकलाई विश्व भ्रमणको रोमाञ्चक अनुभूति दिलाउँछ। यस कृतिले पाठकलाई यात्राको प्रेरणा मात्र दिँदैन, संसार बुझ्ने नयाँ दृष्टिकोण पनि दिन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast