
काठमाडौँ- सरकारले व्यक्तिगत रूपमा विदेशबाट खरिद गरेर ल्याइएका मोबाइल फोनको पनि आयस्रोत खोज्ने भएको छ। भन्सार विभागले वैदेशिक रोजगारीबाट फर्किने नेपालीले ल्याउने मोबाइल, ल्यापटप, क्यामेरासहित सुनको पनि स्रोत खोज्ने तयारी गरेको हो।
विभागका महानिर्देशक महेश भट्टराईले वैदेशिक रोजगारीसहित विदेशमा घुम्न गएका नेपालीबाट स्वदेश फर्किँदा सुन, फोन, ल्यापटप र क्यामेरालगायत सामग्री तस्करी भइरहेपछि यस्तो व्यवस्था गर्न लागिएको बताए। यूएईलगायत खाडीका देश र हङकङबाट झिटीगुन्टा कानुनमार्फत सुन तस्करी भइरहेको दाबी उनको छ।
नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई प्रतिदिन २० किलोसम्म सुन आयात गर्न दिने गरेको छ। झिटीगुन्टा कानुनमा टेकेर दैनिक २२ किलोसम्म सुन भित्रिने गरेको महानिर्देशक बताउँछन्। कानुनले तोकेअनुसार वैध रूपमा ल्याइने सुनसहितका सामग्रीको पनि आर्थिक स्रोत खोजिने भट्टराईले बताए।
झिटीगुन्टा कानुनले वैध मानेको सामग्री कुन आर्थिक स्रोतबाट खरिद भएको हो भनेर जाँचबुझ गर्न लागिएको हो। महानिर्देशक भट्टराईले हिमालप्रेससँग भने, ‘म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुख भएर काम गर्दा दैनिक २२ किलोसम्म सुन झिटीगुन्टा कानुनअनुसार भित्रिएको छ। यसरी भित्रिएको सुन व्यक्तिगत प्रयोगका लागिभन्दा व्यापारका लागि ल्याइन्छ’, उनले भने।
झिटीगुन्टा कानुनले तोकेको मापदण्डभित्रै भए पनि आर्थिक स्रोत नभेटिए तस्करीका रूपमा लिन सकिने भट्टराई बताउँछन्। उनका अनुसार एक साताका लागि विदेश भ्रमणमा जाने व्यक्तिबाट पनि सुन तस्करी हुने गरेको छ। ‘विदेश घुम्न जानेहरूले नेपालबाट बढीमा अमेरिकी डलर दुई हजार पाँच सय लिएर गएका हुन्छन्। फर्कँदा पाँच हजार डलर बराबरको सुन लिएर आउने गरेका छन्। बोकेको नगदभन्दा बढी रकमको सुन कसरी खरिद गरेर ल्याइरहेका छन् भन्ने मुख्य प्रश्न हो’, उनले भने।
झिटीगुन्टासम्बन्धी कानुनले महिलाका लागि ५० ग्राम र पुरुषको हकमा २५ ग्राम सुन ल्याउनसक्ने व्यवस्था गरेको छ। झिटीगुण्टाका रूपमा दैनिक बढी परिमाणको सुन नेपाल भित्रिने गरेको उनको भनाइ छ।
एक साताका लागि यूएई घुम्न गएकाले त्यहाँबाट फर्किंदा ५० ग्राम सुन, दुईटा आइफोन, कम्प्युटर, क्यामेरालगायत सामग्री लिएर आउने प्रवृत्ति बढ्दै गएको भन्सार विभागले जनाएको छ। यस विषयमा विभागले पटक–पटक अर्थ मन्त्रालयलाई जानकारी गराइको भन्सार विभागका सूचना अधिकारी नारायणप्रसाद रेग्मीले बताए।
उनका अनुसार भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८०’ संसद्बाट पारित भएको छ। अब यसैका आधारमा झिटीगुन्टासम्बन्धी कानुन संशोधन हुने उनको भनाइ छ।
भन्सार छुटमा ल्याउन पाइने सामग्री
विद्युतीय सामान : ट्याबलेट, ल्यापटप, डेस्कटप, कम्प्युटर, घडी, क्यामेरा, भिडियो क्यामेरा, मोबाइल फोन र पेनड्राइभ (एक/एक थान)
शारीरिक अशक्त व्यक्तिले सहाराका रूपमा प्रयोग गरेका सामान, बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल (एक/एक थान)
पेसागत यात्रुले प्रयोग गरी ल्याएका सामान : डाक्टरका लागि ब्लड प्रेसर नाप्ने सामान्य यन्त्र, स्टेथेस्कोप, खेलाडीका लागि ब्याडमिन्टन सेट, फुटबल, भलिबल, गीतकार तथा संगीतकारको गितार, हार्मोनियम, तबला। (एक/एक थान)
लुगाफाटा, बिच्छ्यौना, घर गृहस्थीका पुराना सामान, उपचार गराई फर्किएका बिरामीले ल्याएका औषधिमा, ७ किलोसम्म खाद्यान्न, मदिरा १ लिटरसम्मको एउटा बोतल
गहना : सुनको गहना ५० ग्रामसम्मका, चाँदीको ५ सय ग्रामसम्म र १ लाख मूल्य रुपैयाँसम्म पर्ने हीरात जडित सुन वा चाँदीका साथमा ल्याएको गहना।
कर तिरेर ल्याउन सकिने सामग्री
टेलिभिजन, म्युजिक सिस्टम, रेफ्रिजेरेटर, वासिङ मेसिन, पंखा, रेडियो (बढीमा एक/एक सेट), लुगाफाटो, जुत्ता, कस्मेटिक्स आदि बढीमा (पन्ध्र थान), घरायसी प्रयोगका सामान्य किसिमका उपकरण (मिक्सर, जुसर, सिलाई मेसिन, ग्यास टेबुल, इस्त्री, राइस कुकर) जस्ता दुई/दुई थान, १० किलोसम्म खाद्य परिकार भन्सार तिरेर ल्याउन पाइन्छ।