५७.२० प्रतिशतले बढ्यो निर्यात

हिमाल प्रेस ८ चैत २०८१ १५:०५
6
SHARES
५७.२० प्रतिशतले बढ्यो निर्यात

काठमाडौँ- पछिल्लो आठ महिनामा ५७.२० प्रतशितले निर्यात बढेको छ। भन्सार विभागले शुक्रबार प्रकाशित गरेको वैदेशिक व्यापार तथ्यांक विवरणअनुसार चालु आर्थिक वर्षको साउनयता ५७.२० प्रतिशतले निर्यात बढेको हो।

यस अवधिमा एक खर्ब ५८ अर्ब १७ करोड २४ लाख दुई हजार रुपैयाँको निर्यात भएको छ। अघिल्लो आवको सोही अवधिमा एक खर्ब ६  करोड ७४ लाख ४५ हजारको निर्यात भएको विभागको तथ्यांक छ।

यसैगरी पछिल्लो आठ महिनामा आयात पनि ११.२० प्रतिशतले बढेको छ। अघिल्लो वर्षको आठ महिनामा १० खर्ब ३० अर्ब २२ करोड २६ लाख ९९ हजार रुपैयाँको आयात भएको थियो भने चालु आवको सोही अवधिमा ११ खर्ब ४५ अर्ब ५६ करोड ६२ लाख ४० हजार रुपैयाँको आयात भएको छ।

निर्यात वृद्धि भए पनि व्यापार घाटा ६.२२ प्रतिशतले बढेको छ। व्यापार घाटा ९ खर्ब ८७ अर्ब ३९ करोड ३८ लाख ३८ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आवको सोही अवधिमा ९ खर्ब २९ अर्ब ६० करोड ५२ लाख ५५ हजार रुपैयाँ व्यापार घाटा भएको थियो।

वैदेशिक व्यापार तथ्यांकअनुसार कुल वैदेशिक  व्यापार  १५.२९ प्रतिशतले बढेको छ। पछिल्लो तथ्यांकअनुसार कुल वैदेशिक व्यापारको परिमाण १३ खर्ब तीन अर्ब ७३ करोड ८६ लाख ४२ हजार रुपैयाँ पुगेको छ। यो तथ्यांक आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा ११ खर्ब ३० अर्ब ८४ करोड एक लाख ४४ हजार रुपैयाँ थियो।

तथ्यांकले व्यापारको संरचनामा पनि परिवर्तन देखाएको छ। कुल व्यापारमा निर्यातको हिस्सा ८.९० प्रतिशबाट बढेर १२.१३ प्रतिशत पुगेको छ, जुन ३६.३५ प्रतिशतको वृद्धि हो। यो नेपालको निर्यात क्षेत्रका लागि सकारात्मक संकेत हो। आयातको हिस्सा भने ९१.१० बाट घटेर ८७.८७ प्रतिशतमा झरेको छ। यी आँकडाले व्यापारमा क्रमिक सन्तुलन देखाए पनि समग्र व्यापार घाटा अझै चिन्ताको विषय बनेको छ।

विश्लेषकहरूले निर्यात वृद्धिलाई नेपाली सामानहरू जस्तै गलैँचा, कपडा र कृषिजन्य उत्पादनहरूको अन्तर्राष्ट्रिय बजारमा माग बढ्नुको परिणाम मानेका छन्। तर उपभोग्य वस्तु, मेसिनरी र इन्धनको आयातमा भएको वृद्धिले नेपालको विदेशी मुद्रा सञ्चितिमा दबाब परिरहेको छ। व्यापार घाटा बढ्दै जाँदा सरकारमाथि आयात निर्भरता घटाउने र निर्यातमुखी उद्योगलाई थप प्रोत्साहन गर्ने नीति ल्याउन दबाब बढेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast