सुनुवाइ नभएपछि रूपन्देहीबाट फर्किए रवि, शुक्रबार पाटन उच्च अदालतमा पुनरावेदन गर्ने

हिमाल प्रेस ७ चैत २०८१ २०:२९
44
SHARES
सुनुवाइ नभएपछि रूपन्देहीबाट फर्किए रवि, शुक्रबार पाटन उच्च अदालतमा पुनरावेदन गर्ने

काठमाडौँ- रुपन्देही जिल्ला अदालतकाे आदेशविरुद्ध उच्च अदालतमा दिएकाे निवेदन उपर आज (बिहीबार) सुनुवाइ नभएपछि रास्वपा सभापति रवि लामिछाने काठमाडौं फर्किएका छन्।

सभापति लामिछाने, पूर्वडीआईजी छविलाल जोशी र उच्च सरकारी वकिलको कार्यालय बुटवलले जिल्ला दालतकाे आदेशविरुद्ध दिएकाे छुट्टाछुट्टै निवदनमा एकैपटक सुनुवाइ हुने गरी बिहीबार उच्च अदालत तुलसीपुरकाे बुटवल इजलासमा पेसी ताेकिएकाे थियाे।

मुद्दा सुनुवाइका लागि लामिछाने कानून व्यवसायी र सचिवालय सदस्य लिएर बुधबार नै रुपन्देही पुगेका थिए। गाेला प्रथाबाट न्यायाधीशद्वय जगतबहादुर थापा र सागर विष्टकाे इजलासमा सुनुवाइ समेत ताेकिएकाे थियाे। तर मिसिल अध्ययन गरेपछि न्यायाधीश थापाले सुप्रिम सहकारीसम्बन्धी जिल्लाबाट आएको सोही प्रकृतिको मुद्दा यसअघि पनि हेरेकाले लामिछानेसहितकाे मुद्दा आफूले हेर्न नमिल्ने बताएपछि सुनुवाइ हुन नसकेको हो।

उक्त सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई जिल्ला अदालत रुपन्देहीले थुनामा राख्न दिएको आदेशलाई उच्चका न्यायाधीश थापाले केही समय अगाडि सदर गरेका थिए। सोही कारण जिल्लाबाट आएको सोही प्रकारको मुद्दामा आफ्नो धारणाा बनिसकेकाले आफूले हेर्न नमिल्ने बताएपछि पेसी अर्को हप्ताका लागि सारिएको हो। न्यायाधीश थापाकाे भनाइपछि अदालतबाट बाहिरिएका लामिछाने, उनका कानुन व्यवसायी र सचिवालयका सदस्य बिहीबार नै काठमाडौं फर्केका छन्।

यसैबीच लामिछानेले स्वर्णलक्ष्मी सहकारीसँग सम्बन्धित मुद्दामा काठमाडाैँ जिल्ला अदालतकाे आदेशविरुद्ध शुक्रबार पाटन उच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गराउने भएका छन्।

स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा माघ ३ गते काठमाडाैं जिल्ला अदालतले ६० लाख रुपैयाँ धरौटी लिएर थुनामुक्त गर्ने आदेश दिएको थियो। फौजदारी कार्यविधि संहिताको दफा ६८ बमोजिम धरौटी माग गरिएकोमा चित्त नबुझी सो बेरितको आदेश बदर गरी दफा ६९ बमोजिम साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरी पाऊँ भनि लामिछानेले दफा ७३ बमोजिम उच्च अदालतमा निवेदन दर्ता गराउन लागेका हुन्।

प्रकाशित: ७ चैत २०८१ २०:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast