
काठमाडौँ- एनसेल फाउन्डेसनले नेपाल प्रिमियर लिग (एनपीएल) का क्रममा हानिएका प्रत्येक चौकावापत विद्यार्थीहरूलाई चारवटा शैक्षिक सामग्री वितरण गर्ने घोषणाअनुसार शैक्षिक सामग्रीको वितरण सुरू गरेको छ।
यो कार्यक्रमअन्तर्गत लुम्बिनी प्रदेशका तीन विद्यालयहरूमा ४४६ वटा शैक्षिक सामग्री वितरण गरिएको एनसेल फाउन्डेसनले जनाएको छ।
क्रिकेटदेखि कक्षा कोठासम्मको यो पहलमा क्रिकेटको रोमाञ्चकतालाई शिक्षासँग जोड्दै एनसेलले एनपीएलका खेलहरूमा हानिने प्रत्येक चौकावापत चारवटा शैक्षिक सामग्री वितरण गर्ने घोषणा मंसिरमा गरेको थियो। यो कार्यक्रमले विद्यार्थीहरूमा अर्थपूर्ण प्रभाव पार्दै शिक्षामा सकारात्मक परिवर्तन ल्याउन योगदान पुर्याउने एनसेल फाउन्डेसनले विश्वास लिएको छ।
एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभ, नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का, लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसी र एनसेलकी मार्केटिङ, कम्युनिकेसन एण्ड सस्टेनिबिलटिी अन्तरिम डाइरेक्टर विषाखा लक्ष्मी खड्काले कपिलवस्तु नगरपालिका–१० का श्री राष्ट्रिय माध्यमिक विद्यालय र मदरसा वहरुल उलूमका २६० विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेका छन्।
त्यसैगरी एनसेलका चिफ अफ स्टाफ स्टिवन रोड्रिगेजले राप्ती सोनारी गाउँपालिका–४ स्थित बालकशान्ति प्रावि विद्यालयका विद्यार्थीहरूलाई १८६ शैक्षिक सामग्री वितरण गरेका छन्।
एनसेलका प्रमुख कार्यकारी अधिकृत कायुमोभले आफ्नो प्रतिबद्धताअनुसार प्राथमिक तहका विद्यार्थीहरूलाई शैक्षिक सामग्री सहयोग गर्न पाउँदा खुसी लागेको बताए।
यो कार्यक्रमअन्तर्गत एनसेल फाउन्डेसनले एनपीएलमा हानिएका ६५३ चौकावापत कुल २ हजार ६१२ शैक्षिक सामग्री वितरण गरिने एनसेल फाउन्डेसनले जनाएको छ।