कवि गोविन्दराज विनोदीको उपचारमा सहयोगको अपिल

हिमाल प्रेस ७ चैत २०८१ १७:२९
128
SHARES
कवि गोविन्दराज विनोदीको उपचारमा सहयोगको अपिल

काठमाडौँ-  कवि गोविन्दराज विनोदीको उपचारका लागि पेज टर्नरले सहयोगको अपिल गरिएको छ। क्यान्सर रोगबाट पीडित विनोदीको नेपाल क्यान्सर अस्पताल हरिसिद्धिमा एक साता देखि उपचार भइरहेको छ। प्रकाशन संस्था पेज टर्नरले कवि विनोदीको छन्दोबद्ध कृति ‘अलङ्कार इन्द्रेनी’ प्रकाशित गरी साहित्यप्रेमी पाठक, आफन्त र शुभचिन्तकलाई सहयोगको अपिल गरेको हो।

पुस्तकको विक्री-वितरणबाट संकलित रकम उनको उपचारमा सहयोग गर्ने पेज टर्नरका सञ्चालक जयराम तिमल्सिनाले बताए। ‘नेपाली साहित्यमा काव्यको उत्थानका लागि समर्पित कवि विनोदीको यो जटिल अवस्थामा उहाँलाई हामी सबैको भौतिक, आर्थिक र नैतिक साथ समर्थनको आवश्यकता छ। उहाँले जीवनभर प्रेरणा दिइरहनुभयो। अनुजहरूलाई बाटो देखाइरहनुभयो। कसैसँग केही लिनुभएन। तर अहिले सहयोगको अपेक्षामा हुनुहुन्छ। उहाँको  स्वास्थ्य लाभको कामनासहित पुस्तकमार्फत सहयोगकाे अनुरोध गरेका छाैँ’, उनले भने।

तिमल्सिनाकाअनुसार ‘अलङ्कार इन्द्रेनी’ बागबजारस्थित पेज टर्नरको अफिस, चितवनको सम्पूर्ण किताब पसल र किताब घर हेटौँडामा  उपलब्ध छ। पुस्तकको मूल्य ३०० रुपैयाँ तोकिएको छ।

पुस्तकमा कवि विनोदीले इन्द्रेणीझैँ सात अलंकारलाई छन्दबद्ध गरेका छन्। उपमा, रूपक, उत्प्रेक्षा, अतिशयोक्ति, अपह्नुति, दृष्टान्त र निदर्शनामार्फत प्रत्येक अलंकारमा एक सय पद्य श्लोक पुस्तकमा समेटिएको छ।

७२ वर्षीय विनोदी बालसाहित्यकार, समीक्षक, सम्पादक, पत्रकार र चित्रकार हुन्। काव्य विधामा दख्खल राख्ने विनोदीको फुटकर रचनादेखि महाकाव्यसम्मका पुस्तक प्रकाशित छन्। एघार वर्षकै उमेरमा ‘रिस’ शीर्षकको कविता प्रकाशित गरी साहित्य क्षेत्रमा प्रवेश गरेका विनोदीको पहिलो कृति मेरो वर्तमानता (कवितासङ्ग्रह २०४७) हो।

त्यसयता उनका गजलसङ्ग्रह ‘निर्मम निर्मघडीहरू’ (२०५६), बाल कवितासङ्ग्रह ‘आँखाका नानी’(२०५७), कवितासङ्ग्रह ‘अविश्रान्त’ (२०५९), समीक्षासङ्ग्रह ‘सृष्टिमाथिका दृष्टि’ (२०६६), खण्डकाव्य अन्तर्गत ‘शूर्पणखा’ (२०६९), अशोकवाटिका (२०७६), ‘तप्तचाँदनी’ (२०७८), महाकाव्य ‘कैकेयी’ (२०७४) लगायत करिब दुई दर्जनजति कृति प्रकाशित छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast