संसदमा जातीय विभेददेखि राजतन्त्रसम्मको चर्चा

हिमाल प्रेस ७ चैत २०८१ १६:३४
8
SHARES
संसदमा जातीय विभेददेखि राजतन्त्रसम्मको चर्चा

काठमाडौँ– सांसदहरूले जातीय विभेदका घटना, आगलागी, बाढीपहिरोको जोखिम, निर्माण सामग्रीको मूल्यवृद्धि नियन्त्रण, कृषिमलको व्यवस्थापनलगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभामा बिहीबारको बैठकको शून्य समयमा सांसद बिना लामाले विगत दुई सातादेखि फलामे डण्डीको अस्वभाविक मूल्यवृद्धि भएको तथा सिथिल आर्थिक अवस्थालाई जागृत गराउनुपर्नेमा निर्माणको मुख्य सिजनमा यसकार्यले समग्र निर्माण क्षेत्र प्रभावित भएको बताइन्।

उनले डण्डीमा भएको मूल्यवृद्धिको छानबिन गरी अस्वभाविक मूल्यवृद्धि गर्नेमाथि कारबाही गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराइन्। सांसद लामाले सिमेन्टमा पनि अत्याधिक मूल्यवृद्धि गरिएको भन्दै नियन्त्रणको माग गरिन्।

सांसद ज्ञानेन्द्रबहादुर कार्कीले देशका युवाशक्ति नेपालको उज्ज्वल भविष्य भए पनि हरेक वर्ष हजारौँको संख्यामा रोजगारीका लागि विदेशिनुपर्ने अवस्था रहेको भन्दै युवा पलायन रोक्न र प्रभावकारी नीति अवलम्बन गर्न सरकारसमक्ष माग गरे।

सांसद सन्तोष चालिसेले काठमाडौँका धेरै सडकमा अत्याधिक ट्राफिक जामका कारण नागरिकले सास्ती पाइरहेको भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए।

उनले सुन्दरीजलबाट बाग्मती करिडोर खोलेर गुहेश्वरीसम्म आएको तथा नेपाल ट्रस्टको एक सय मिटर पर्खाल भत्काउन नसक्दा गुहेश्वरीदेखि तिलगंगासम्मको ट्र्याक बन्द भएको भन्दै चाँडै समस्या समाधान गर्न आग्रह गरे।

सांसद विनिताकुमारी सिंहले जनता आवास कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७९/८० मा सिरहामा चार सय ८८ घर निर्माणका लागि सम्झौता भएको र उक्त घर निर्माणका लागि पहिलो किस्ताको रकममात्रै दिइएको र बाँकी किस्ता वितरण नहुँदा पीडित खुला आकाशमुनी बस्न बाध्य बनेको भन्दै अविलम्ब बाँकी किस्ता रकम उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराइन्।

सांसद शक्तिबहादुर बस्नेतले सिरहाको औरही गाउँपालिकामा भएको जातीय विभेदसम्बन्धी घटनाको निन्दा गर्दै छानबिन गरी दोषी उपर कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरे।

सांसद शान्ति विकले शुक्रबार २१ मार्च अन्तरराष्ट्रिय रंगभेद उन्मूलन दिवस मनाउने सन्दर्भ चलिरहँदा सिराहा औरहीको घटनाले निकै मर्माहत तुल्याएको भन्दै घटनामा संलग्नलाई अभिलम्ब कारबाहीको माग गरिन्। उनले संविधानको धारा १६, १७, १८, २० र २४ लाई कार्यान्वयनमा लैजान सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराइन्।

सांसद सन्तोष परियारले सिरहाको औरही गाउँपालिका–५ का दीपक मरीको परिवारमाथि घटेको जातीय विभेदको घटनाले अन्तर्राष्ट्रिय मानव अधिकारप्रतिको प्रतिबद्धता र कानुनी व्यवस्थाको खिल्ली उडाएको भन्दै घटनाको तत्काल छानबिन गरी दोषीलाई कारबाही गर्न गृह मन्त्रालयको ध्यानाकर्षण गराए।

सांसद सान्ती चौधरीले २१औँ सताब्दीमा पनि जातीय विभेदका घटना घटिरहनु र संघीय राजधानीमा समेत यस्ता घटना हुनु दुःखद रहेको भन्दै विभेद उन्मूलनका लागि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराइन्।

सांसद सुशीला सिर्पाली ठकुरीले सिरहाको औरही घटनाको घोर निन्दा र भत्र्सना गर्दै दोषीलाई कारबाही र पीडितलाई राहत उपलब्ध गराउन माग गरिने।

सांसद हर्कमाया विश्वकर्माले रंगभेद उन्मूलन दिवस मनाइरहँदा दलित समुदायले विभिन्न विभेदका घटना भोग्नु परिरहेको भन्दै सिरहाको औरही गाउँपालिकामा भएको घटनाको निन्दा गर्दै घटनामा संलग्न दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारसमक्ष माग गरिन्।

सांसद शिव नेपालीले खेलाडीको संरक्षणका लागि सरकारले विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याए। उनले राष्ट्रिय लिग पुनः सञ्चालन गर्न र फुटबल खेललाई व्यावसायिक र दीर्घकालीन बनाउने नीति ल्याउन माग गरे।

सांसद शोभा ज्ञवालीले देशमा दलीय व्यवस्थाप्रति वितृष्णा फैलाउने काम भइरेको भन्दै लोकतन्त्र कसैको निगाहबाट नभइ जनताको संघर्ष र बलिदानबाट प्राप्त भएकाले यसको विकल्पका रूपमा राजतन्त्रको सपना नदेख्न सम्बन्धित पक्षलाई आग्रह गरे।

सांसद सरस्वती सुब्बाले संस्थागत रूपमा राजतन्त्र अन्त्य भइसकेको अवस्थामा फेरि राजा फर्काउने कुरा संविधानविपरीत रहेको भन्दै कसैलाई राजा नै चाहिने भए आगामी २०८४ को निर्वाचनमार्फत जनमत लिएर आउन आग्रह गरे।

सांसद सहराज अहमद फारुकीले नेपालकै पुरानामध्येको कपिलवस्तुको शिवराज अस्पतालमा चिकित्सकलगायत जनशक्ति नहुँदा त्यस क्षेत्रका जनताले सास्ती बेहोर्नुपरेको भन्दै जनशक्ति व्यवस्थापन गरी सेवालाई प्रभावकारी बनाउन माग गरे।

सांसद सरिता भुसालले पश्चिम नवलपरासीको भारतीय सिमासँग जोडिएका पाल्हीनन्दन, सरावल गाउँपालिका झरही, धनेरालगायत स्थानमा लामो समयदेखि बाढी तथा डुबानले सास्ती बेहोर्नुपरेका भन्दै दिगो तटबन्धन गरी नागरिकलाई सुरक्षित गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराइन्।

सांसद सीताकुमारी रानाले कारागारमा रहेका कैदीबन्दीको सेवा सुविधा निरन्तरताको सुनिश्चित गर्न माग गरिन्।

सांसद सुदन किरातीले यही चैत ४ गते हावाहुरीका कारण भोजपुरका विभिन्न क्षेत्रमा आगलागी हुँदा १९ घर जलेर नष्ट भएकाले नागरिक घरबारविहीन भएका भन्दै पीडितलाई उचित राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसमक्ष माग गरे।

सांसद सुनिता बरालले नेपालमा सडक दुर्घटना गम्भीर समस्या बनेको तथ्यांक प्रस्तुत गर्दै सडक दुर्घटना न्यूनीकरणका लागि पहलकदमी लिन सरकारको ध्यानाकर्षण गराइन्।

सांसद सुरेन्द्रराज आचार्यले गर्मीयाम सुरु भएसँगै हरेक वर्ष लाग्ने आगलागी र डढेलोका कारण गाउँबस्ती, वन पैदावार तथा वन्यजन्तुको विनाश भइरहेको भन्दै आगलागी नियन्त्रणको प्रभावकारी व्यवस्था गर्न माग गरे। साथै उनले केही दिनअघि कपिलवस्तुको बुद्धभूमि–७ मा आगलागी हुँदा सात घर जलेर नष्ट भएका भन्दै पीडितलाई राहत र बसोबासको व्यवस्था मिलाउन सरकारसमक्ष माग गरे।

सांसद सुहाङ नेम्वाङले इलामका चुलाचुली माइ, देउमाइलगायत क्षेत्रका विद्यालयमा उचित कक्षाकोठा, पुस्तकालय र आधुनिक प्रविधिको अभाव रहेकाले विद्यार्थीको सिकाइमा गम्भीर असर परेको भन्दै शैक्षिक केन्द्रको विकास, पूर्वाधार निर्माण, आधुनिक पाठ्यक्रम सुधार र गुणस्तरीय उच्च शिक्षाको प्रबन्ध गर्न आग्रह गरे।

सांसद सूर्यप्रसाद ढकालले राप्ती सुनाहरीलगायत क्षेत्रमा डुबानको समस्या समाधान गर्न बर्खा सुरु नहुँदै तटबन्धनको व्यवस्था गर्न माग गरे।

सांसद सूर्यबहादुर क्षेत्रीले असुरक्षित बसोबासी, बाढीपहिरोबाट पीडित नागरिकलाई राहत दिन, सुरक्षित आवास निर्माण गर्नका लागि प्यूठानमा दुई हजार तीन सय २७ जनाको सिफारिस गरिएकामा यस वर्ष चार सय ४५ मात्रै समेटिएको भन्दै प्रभावित सबै नागरिकलाई सुक्षित आवास कार्यक्रममा जोड्न सम्बन्धित निकायको ध्यानाकर्षण गराए।

सांसद सूर्यमान तामाङ् दोङले काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, रामेछापलगायत जिल्लामा गत असोजको बाढीपहिरोले क्षतिग्रस्त रहेको र त्यस क्षेत्रमा खेतीको समयमा कृषि मलको अभाव रहेको भन्दै समयमै समस्याको समाधान गर्न सरकारको ध्यानाकर्षण गराए।

सांसद सोविता गौतमले कागेश्वरी मनोहरा नगरपालि– ८ मा तीन वर्षअघि गएको पहिरोले सडक किनारका घर जोखिममा परेको बाटो अहिलेसम्म मर्मत नभएको भन्दै जोखिममा रहेका घरको संरक्षण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइन्।

सांसद सञ्जयकुमार गौतमले विस २०७२ को बाढीले बर्दियाको विभिन्न क्षेत्रमा क्षति पुगेको, धेरै संख्यामा घर डुबानमा परेको र परिवार विस्थापित भएको भन्दै बबै नदि किनारमा तटबन्दनको कामसम्बन्धी आयोजनाको डीपीआर बनिसकेको अवस्थामा आयोजनाको कामलाई चाँडो अघि बढाउन सरकारसमक्ष माग गरे।

सांसद हितबहादुर तामाङले गत साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परी मृत्युहुने १८ जनामध्ये तीन जना आफन्त गुमाएका प्रकाश खतिवडाले बारम्बार घटनाबारे जिज्ञासा राख्दा पनि कुनै जवाफ नपाएको भन्दै उक्त दुर्घटनाको सत्यतथ्य बाहिर ल्याउन र पीडित परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न माग गरे।

सांसद हितराज पाण्डेले १२ सय मेघावाट क्षमताको जलासययुक्त बूढीगण्डकी आयोजनाको निर्माण अझै सुरु हुन नसकेकाले त्यस क्षेत्रका जनतामा निराशा उत्पन्न भएको भन्दै उक्त आयोजना आगामी आर्थिक वर्षदेखि निर्माण अगाडि बढाउन सरकारसमक्ष माग गरे।

सांसद हेमराज राईले भोजपुरको उत्तरी साल्पा सिलिचोक जोड्ने सडकमार्ग बजेट अभावले अलपत्र परेको र जनताले निकै शास्ती बेहोरेको भन्दै जिल्लाको उत्तर–दक्षिण जोड्ने सडक चाँडो सम्पन्न गर्न, जिल्लामा ट्रमा सेन्टर स्थापना गर्न र कात्तिकेघाट, सतीघाट र अँधेरीघाटमा पक्की पुल निर्माण गर्न सरकारसमक्ष माग गरे।

सांसद हृदयराम थानीले देशको कुल जनसंख्याको ९८ प्रतिशतमा विद्युत् पहुँच पुगेको भनिए पनि कर्णाली प्रदेशका ५७ प्रतिशत घरधुरीमा मात्र विद्युत्को पहुँच पुगेको तथा कर्णालीका १० जिल्लामा अझै विद्युत् नपुगेको भन्दै त्यहाँ विद्युत्को पहुँच सुनिश्चित गर्न माग गरे।

सांसद ज्ञानबहादुर शाहीले विगत ३८ दिनदेखि धनुषाको सबैला नगरपालिकाका– ११ का वडाध्यक्ष सुशासनको अनशनमा रहेको भन्दै उनको जीवन रक्षाको माग गरे।

सांसद ज्ञानु बस्नेतले मुलुकलाई लोडसेडिङको अवस्थामा लैजान नहुने धारणा राखे।

प्रकाशित: ७ चैत २०८१ १६:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast