बुटवल-गोरुसिंगे सडक खण्ड विस्तार

‘मन रुवाउने’ विकास

विनोद परियार ७ चैत २०८१ १६:५०
18
SHARES
‘मन रुवाउने’ विकास छन्त्याल परिवारले बुटवल उपमहानगरपालिका-१४ को ढहवामा बनाएको प्रमाणसहितको चौतारी (माथि), चौतारीका काटिएका रूखका ठुटा र चौतारी बनाउन संलग्न ८८ वर्षीय ललिसरा छन्त्याल। तस्बिरहरू : विनोद परियार

लुम्बिनी-  विकास परियोजनाले संस्कृति र पर्यावरणीय महत्त्व बोकेका संरचना कसरी नष्ट गरिरहेका छन् भन्ने एउटा उदाहरण बनेको छ बुटवल-गोरुसिंगे सडक खण्ड। उक्त सडक विस्तारमा वरपीपलका चौपारी मासेर सामाजिक पहिचान नष्ट गर्न खोजिएको छ।

यात्रुहरूलाई शीतलता दिने, यात्राका क्रममा चिनजान बढाउने, धार्मिक कार्य गर्न मिल्ने र साथीभाइ सुस्ताउने स्थानका रूपमा चौतारीहरूको महत्त्व ठूलो छ। चौपारीहरू बिसौनी मात्र होइनन्, तिनले सामाजिक सम्बन्धलाई पनि बलियो बनाउँछन्। त्यसैले चौतारी सबैका लागि आनन्ददायक र प्रिय लाग्छ। साथै वरपीपल भनेको धार्मिक रूपमा पूजा गर्ने र सामाजिक सम्बन्धको बिसौनी पनि हो। चैपारी कैयौँ गाउँठाउँको चिनारी हो।

बुटवल- १४ ढवाहकी ८८ वर्षीय ललिसरा छन्त्याल रूख काटिँदा निकै पीडा भएको बताउँछिन्। आफ्नै हातले रोपेर हुर्काएका यी रूखहरूसँग गहिरो भावनात्मक सम्बन्ध रहने उनको भनाइ छ।

बुटवल-गोरुसिंगे सडक विस्तारका क्रममा धमाधम सानाठूला रूख काटिएका छन्। रूख काटिँदा छन्त्याललाई निकै पिरोल्यो। आफ्नै अगाडि सडकछेउका वरपीपलका चौपारी (चौतारी) ढल्दा घरै ढलेजस्तो लागेको उनी बताउँछिन्।

‘सानो विरुवा रोपेर हुर्काएको हुँ। मेरा बच्चासँगै हुर्किएको वरपीपल काट्दा धेरै दुःख लागेकोे छ’, छन्त्यालले भनिन्, ‘चौपारी बचाएर सडक बनाए हुन्थ्यो।’ छन्त्यालको घरअगाडि सडक किनारमा रहेको चौपारी मासिएकोमा उनलाई दुःख लाग्नुका केही कारण छन्। उनको परिवार स्याङ्जाबाट बुटवल बसाइँ सरेको हो।

२०१८ सालमा बुटवलदेखि पश्चिम पूर्वपश्चिम राजमार्ग छेउ ढवाहमा छन्त्याल परिवार यहाँ आए। परिवारले बटुवाका लागि वर र पीपल रोपेका थिए। ‘सानो बिरुवा रोपेर हुर्काएको हुँ, अहिले धमाधम काट्दा साह्रै मन रोएको छ’, उनले गुनासो गरिन्।

आफूले वरपीपलको विवाह गराएर बटुवालाई शीतलता दिएको बताइन्। छन्त्याल घैटौँमा पानी समेत राखेर बटुवालाई खुवाउने गर्थिन्। छन्त्याल परिवारले २०१८ सालमा लगाएको चौतारी सडक विस्तारका क्रममा २०८१ चैत पहिलो साता ढलेको हो।

छन्त्यालले सरकारलाई रूख नकाटे हुन्थ्यो भन्न सकिनन्। छन्त्यालले मात्रै होइन बुटवल-गोरुसिंगे सडक विस्तारका क्रममा वरपीपल चौपारी धमाधम ढल्दा धेरैको मन रोयो।

बोल्दा विकासविरोधी हुने डरले उमेर वृद्ध भएकाहरुले अवरोध गर्न सकेनन्। वरपीपलसँग वातावरणीय एवम् धार्मिक मूल्यमान्यता पनि जोडिएकाले पाका उमेर भएकाहरूले चौतारी ढल्दा पिर मानेका हुन्। ‘चौपारी जोगाउने गरी डिजाइन नहुँदा पुराना वरपीपल मासिए’, लेखक युवराज कँडेलले भने, ‘जसले गर्दा सडक किनार उजाड र उराठ बनेको छ।’ उनले वरपीपलसँग नेपालीको धर्म संस्कार र परम्परा जोडिएको भए पनि डिजाइन गर्दा यी कुराहरुलाई कहिल्यै ख्याल नगरिएको उनको टिप्पणी छ।

‘बुटवल भैरहवाको सडक विस्तारमा पनि इतिहास बोकेका चौपारी मासिए। बुटवल गोरुसिंगे-चन्द्रौटा सडकका पनि त्यसैगरी मासिए’, कँडेलले भने, ‘पुराना चौपारी जोगाउन हाम्रा कार्यालय संवेदनशील भएनन्।’ पर्यावरणका रूपमा मात्रै नभई चौपारीसँग नेपालीको सामाजिक र धार्मिक सम्बन्ध जोडिएको उनको भनाइ छ। ‘पूरै त जोगाउन सकिन्थे होला तर कम्तीमा पनि चौकका चौपारी जोगाएर डिजाइन गरेको भए धेरै राम्रो हुने थियो’, वातावरणका जानकारसमेत रहेका कँडेलले भने। चौपारी जोगाउने गरी विकासको योजना बनाउन सक्दा वातावरण र समाज दुवैलाई फाइदा हुने भए पनि त्यसो नगर्दा ठूलो क्षति भएको उनको निचोड छ।

कँडेल बुटवलदेखि तामनगरसम्म ६७ वटा चौतारी रहेको बताउँछन्। ५० देखि ७० वर्षसम्म ठूलो संख्यामा चौपारी सडक विस्तारमा हटाइएको छ। ‘कैयौँ देशमा ठूला रूख जोगाएर सडक बनाएको देखिन्छ। काठमाडौंमा पनि चौतारी जोगाइएको छ’, कँडेलले भने, ‘बुटवल भैरहवा र बुटवल गोरुसिंगेमा त्यस्तो भएन।’ कम्तीमा पनि पुराना चौतारीलाई त्यही ठाउँमा नसके पनि छेउमा पुनस्र्थापना गर्न सकिनेमा त्यसो पनि नहुनु दुःखद रहेको उनले बताए।

त्यसो त वन तथा भूसंरक्षण विभागका अधिकारीहरू सडक किनारका भेलुएबल (वर, पीपल, समी, आँप, सिमल, कदम आदि) रूख बचाउने नीति रहेको बताउँछन्। बुटवल गोरुसिंगे सडकमा पनि यस्ता कुनै पनि रूख बचाउने काम भएन।

छिमेकी भारतको सिक्किममा सडकको मध्यभागमा समेत चौपारी जोगाइएको छ। त्यहाँ चौपारी काट्न मनाही छ। चार सय वर्षअगाडि रामशाहको थितिमा चोकचौतारामा रहेका चौपारी काटेमा ५ रुपैयाँ जरिवाना हुने भनेर जोगाएको इतिहास सम्झँदै वातावरणविद्समेत रहेका कँडेलले भने, ‘अहिले रूख जोगाउनेबारेमा संवेदनशील नहुनु निकै दुःखद छ।’

२०८१ माघ ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट शिलान्यस गरेपछि सुरुमै सडक क्षेत्रमा रहेका चौपारीसँगै अन्य रूख कटान गरिएको हो। बुटवल–गोरुसिंगे सडक विस्तारमा ७ हजार १ सय ७५ मध्ये ५ सयको हाराहारीमा काटिएको छ।

रूपन्देही खण्डमा मात्रै ९३ वर र १३७ पीपल काटिएको डिभिजन वन कार्यालय रूपन्देहीका वरिष्ठ वन अधिकृत दीपक केसीले बताए। उनका अनुसार सडकको क्षेत्रमा रहेका रूख काट्नुपर्ने नियम भएकाले कार्यान्वयन गरिएको हो। बुटवल गोरुसिंगे चन्द्रौटा सडक विस्तारमा चौपारीहरु मात्रै करिब ४ सय हटाउनुपर्ने सरकारी अधिकारी बताउँछन्। पहिल्यै रूख कटान गर्ने गरी वन विभागसँग सम्झौता गरिएकाले आफूहरूले सोहीअनुसार रूख काटिएको सडक आयोजना प्रमुख इन्जिनियर कुशलता न्यौपानेले बताइन्। ‘सडकमा ठूला रूखहरु राख्न मिल्दैन, त्यसरी राखेर सडकको कामै हुँदैन’, उनले भनिन्।

उनले बुटवल भैरहवामा जस्तै यहाँ पनि रूख कटान गरिएको बताइन्। ‘रूख कटान लगभग सकियो, एकाध बाँकी होला’, न्यौपानले भनिन्। उनका अनुसार काटिएका रूख बराबारको नोक्सानी कम गर्न १० गुणा बढी ७१ हजार २५० बिरुवा रोप्न वन विभागसँग सहमति गरिएको छ।

दुई सेक्टरमा विभाजन गरी निर्माण सुरु गरिएको हो। कुल १३ अर्ब ५५ करोड ९५ लाख ९६ हजार रुपैयाँमा निर्माण गर्ने गरी २०८१ असार ११ गते सम्झौता भएको हो। चिनियाँ कम्पनी सान्ची कन्ट्रक्सन इन्जिनियरिङ गुप्र र आशीष निर्माण सेवा नेपालले तीन वर्षमा सक्ने गरी निर्माण थालेको हो।

बुटवल–कोठीनदी खण्डको सात अर्ब ८९ करोड र कोठीनदी–गोरुसिंगे खण्डको ५ अर्ब ६६ करोड रुपैयाँमा सक्ने गरी सम्झौता भएको हो। यो सडक विस्तारका लागि विश्व बैंक ऋण दिएको हो।

५० किलोमिटर सडकअन्तर्गत कपिलवस्तुतर्फको सालझण्डी–पिपरा र वनगाई–गोरुसिंगेसम्म करिब २० किलोमिटर जंगल क्षेत्र छ। जंगल क्षेत्रमा सर्भिस लेनबिना २४ मिटर चौडाइको चार लेन सडक बन्नेछ।

प्रकाशित: ७ चैत २०८१ १६:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast