‘बाबुरामले सकेनन्’ भन्दै चुप बस्नु मूर्खता हो : डा.भट्टराई

हिमाल प्रेस ७ चैत २०८१ १५:४४
224
SHARES
‘बाबुरामले सकेनन्’ भन्दै चुप बस्नु मूर्खता हो : डा.भट्टराई

सुनसरी- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक परिवर्तनका लागि सबै पक्ष एकजुट हुनुपर्ने बताएका छन्। सुनसरीमा आयोजित ‘राजनीतिक तथा वैचारिक अभिमुखीकरण’ कार्यक्रममा बोल्दै डा. भट्टराईले पुराना राजनीतिक संरचनाले मात्र समाधान नदिने भएकाले नयाँ वैकल्पिक शक्ति निर्माण गर्नुपर्नेमा जोड दिए।

‘‘बाबुरामले सकेनन्’ भनेर मात्र चुप लागेर आलोचना गर्दै बस्नु मूर्खता हो। आउनुहोस्, मिलेर जाऔं, वैकल्पिक शक्ति निर्माण गरौं। तपाईं चुप लागेर होइन, हातमा हात जोडेर अगाडि बढे मात्र यसको निकास मिल्नेछ,’ उनले भने।

डा. भट्टराईले आफ्नो पार्टी कुनै एक वर्ग, जाति वा समुदायको मात्र प्रतिनिधित्व गर्ने नभई सम्पूर्ण वर्ग, जाति र समुदायहरूको साझा केन्द्र भएको दाबी गरे। ‘हाम्रो जस्तो दस्तावेज कुनै पनि पार्टीको छैन। अरू पार्टीहरू कुनै न कुनै रूपमा निश्चित समुदाय, लिंग वा वर्गसँग मात्र सम्बन्धित देखिन्छन्। तर हाम्रो पार्टी समावेशिता, समानता र न्यायलाई आधार बनाएर तयार पारिएको साझा फूलबारी हो,’ उनले स्पष्ट पारे।

नेपालको पुराना दलहरू लोकतान्त्रिक देखिए पनि ती बुर्जुवा सोचले ग्रस्त रहेको उनले टिप्पणी गरे। ‘परिवर्तनका लागि भन्दै आएका शक्तिहरू पनि परम्परागत संरचनाभित्रै सीमित छन्। अहिले संसार चौथो औद्योगिक युगमा छ जहाँ पुराना संरचनाले मात्र समाधान दिन सक्दैनन्। अबको आवश्यकता वास्तविक लोकतान्त्रिक, समावेशी र वैज्ञानिक दृष्टिकोणबाट निर्देशित पार्टी हो,’ उनले भने।

नयाँ राजनीतिक सोच र व्यवस्थापनको आवश्यकतामा जोड दिँदै डा. भट्टराईले पुराना संरचनालाई आलोचना गरेर मात्र परिवर्तन सम्भव नहुने बताए। ‘म आफैँले एक विशाल परम्परागत शक्ति त्यागेर नयाँ बाटो रोजेँ। किनभने परिवर्तन बाहिरबाट होइन, भित्रबाट गर्नुपर्छ। केवल आलोचना गरेर, पुरानो संरचनामा बसेर असन्तुष्ट हुनुभन्दा नयाँ शक्ति सिर्जना गर्नु नै उचित समाधान हो,’ उनले बताए।

उनले सबैलाई नयाँ राजनीतिक विकल्प निर्माणमा हातेमालो गर्न आग्रह गर्दै भने, ‘तपाईं केवल टाढाबाट चुपचाप हेरिरहनुहुन्न, हातमा हात जोडेर, मिलेर अघि बढ्नुपर्छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast