नेकपा एस रूपन्देहीको अधिवेशन चैत ९ र १० गते

हिमाल प्रेस ७ चैत २०८१ १३:२९
50
SHARES
नेकपा एस रूपन्देहीको अधिवेशन चैत ९ र १० गते

लुम्बिनी- नेकपा (एकीकृत समाजवादी) रूपन्देहीको चैत ९ र १० गते हुने १० औँ जिल्ला अधिवेशनको तयारी पूरा भएको छ। पार्टी जिल्ला कमिटीले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी अधिवेशनको तयारी पूरा भएको जनाएको हो।

२०७८ साल भदौ ९ गते तत्कालीन नेकपा (एमाले) बाट विद्रोह गरी स्थापना भएको नेकपा एसले गत असारमा सम्पन्न दसौँ राष्ट्रिय महाधिवेशनले पारित गरेको नीति कार्यक्रम र विधानअनुसार जिल्ला अधिवेशनको तयारीमा जुटेको सो पार्टीले जनाएको छ।

पत्रकार सम्मेलनमा नेकपा एसका पोलिटब्युरो सदस्य तथा रुपन्देही इन्चार्ज नन्दलाल बन्जाडेले महाविधेशनको कार्यदिशा, कार्यक्रम, संगठनात्मक सिद्धान्त र विधानअनुसार अधिवेशनमा होमिएको बताए। उनले रूपन्देहीमा जिल्लाको नेतृत्वमा आउन चाहनेहरु प्रतिनिधि अनिवार्य हुनुपर्ने प्रावधान कार्यान्वयन गरिएको बताए।

उनले जिल्ला अधिवेशनका लागी रूपन्देही जिल्लाका ५ वटा निर्वाचन क्षेत्रहरुबाट प्रतिनिधिहरु छनोट गर्ने काम सम्पन्न गरिएको बताए। अधिवेशन प्रतिनिधिहरुको छनोट गर्दा दलित तर्फ १० जन बराबर १, खुलातर्फ २० जना बरार १ र सबै क्लस्टरमा एकतिहाई महिला र २० प्रतिशत ४० वर्षमुनिका युवाको सहभागिताको सिद्धान्त अपनाइएको कार्यवाहक अध्यक्ष श्रीराम यादवले जानकारी दिए। उनले आफूहरूले विधानको पूर्णतया पालना गरेको बताउँदै अधिवेशन भव्य बनाउन सबैलाई सहयोग गर्न आग्रह गरे।

विधानअनुसार संघीय निर्वाचन क्षेत्र नं १ बाट ४६ जना, २ बाट ४३ जना, ३ बाट २१, ४ बाट ११, ५ बाट ७ जना गरी जम्मा १२८ जना जिल्ला अधिवेशन प्रतिनिधिहरू रहेको पत्रकार सम्मेलनमा वितरित प्रेस वक्तत्यमा उल्लेख गरिएको छ। विधानबमोजिम प्रतिनिधिको १० प्रतिशतले हुने १३ जना प्रतिनिधिहरू जिल्ला कमिटीले मनोनीत गरी दसौँ अधिवेशनमा सहभागी प्रतिनिधिहरूको जम्मा संख्या १४१ जना बनाइने जनाइएको छ।

अधिवेशनको चैत ९ गते उद्घाटन र १० गते बन्दसत्र हुनेछ। बुटवल–१३ स्थित साइनो पार्टी प्यालेसमा हुने अधिवेशन उद्घाटनमा पार्टी अध्यक्ष माधवकुमार नेपाल, महासचिव घनश्याम भुसाललगायतका नेताहरुलाई निमन्त्रणा गरिएको उपसचिव टंक पोख्रेलले जानकारी दिए। अध्यक्ष नेपाल विदेश भ्रमणमा भएकाले प्रमुख अतिथिको छलफलपछि टुंगो लगाइने उनले बताए।

प्रकाशित: ७ चैत २०८१ १३:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast