
काठमाडौँ- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकमा विद्यमान समस्या समाधान र लोकतान्त्रिक स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति अपरिहार्य रहेको बताएका छन्।
बुधबार काठमाडौँको माइतीघरमा उनको पार्टीले ‘राजनीतिक अस्थिरताको ओखति, प्रत्यक्ष निर्वाचित राष्ट्रपति’ भन्दै गरेको प्रदर्शनलाई सम्बोधन गर्दै भट्टराईले लोकतान्त्रिक स्थायित्व सुनिश्चित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जानुपर्ने बताए।
डा. भट्टराईले संविधान जारी भएयता ९ वर्षमा ११ सरकार परिवर्तन भइसकेको स्मरण गराउँदै यसले राजनीतिक अस्थिरता झन् चर्काएको बताउँदै भने, ‘एउटा सरकारले कम्तीमा ५–१० वर्षको नीति बनाएर कार्यान्वयन गर्नुपर्छ। त्यसका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख आवश्यक छ।’
उनले हालको व्यवस्थाले तीन मुख्य दलका शीर्ष नेताहरूलाई ‘छोटे राजा’ बनाएको आरोप लगाए। ‘सरकारमा हुँदा सबै ठिक, बाहिरिएपछि सबै बेठिक भन्नु गलत हो। यस प्रवृत्तिले जनतालाई झुक्याइरहेको छ,’ उनले भने।
उनका अनुसार नेपालमा सत्ताको स्थायित्व नहुनु, राजनीतिक दलहरूको अविश्वास, गठबन्धन सरकारहरूबीचको असहज समन्वय तथा छोटो अवधिमा पटक–पटक नेतृत्व परिवर्तन हुनुजस्ता कारणले देशमा समृद्धि र स्थायित्व आउन नसकेको हो। उनले थपे, ‘हामीले ठोस योजना बनाउनुपर्ने आवश्यकता छ जसले मुलुकलाई दीर्घकालीन मार्गचित्र दिन सक्छ।’
राजतन्त्रको पुनरागमन असम्भव
डा.भट्टराईले राजतन्त्र फिर्ता ल्याएर मुलुकको समस्या समाधान हुने सोच्नुलाई भ्रम मात्र भएको बताए। ‘जनताले हटाइसकेको राजसंस्थालाई कुनै महत्त्व दिन आवश्यक छैन। राजतन्त्रको पुनरागमन सम्भव छैन,’ उनले स्पष्ट पारे।
जनदबाब प्रदर्शनमा उनले हालको प्रणालीले मुलुकलाई निकास दिन नसक्ने भएकाले व्यवस्थामा आमूल परिवर्तन आवश्यक रहेको बताए। उनका अनुसार नेपालमा पुनः राजतन्त्रको चर्चा हुनु नै विडम्बना हो। ‘समस्या शासन प्रणालीको खोटका कारण हो, कुनै व्यक्तिको कारण होइन। विगतमा पनि राजाले शासन सम्हाले तर के समृद्धि ल्याए?’ उनले प्रश्न गरे।
डा.भट्टराईले नेपालका तीन ठूला दलका नेताहरूलाई छिमेकी मुलुकहरूले पटक–पटक उचाल्ने गरेको आरोप लगाए। ‘कहिले झाँक्रीलाई, कहिले वैद्यलाई उचालेर उनीहरूलाई प्रयोग गरिन्छ,’ उनले भने।
उनले नेपालको आन्तरिक राजनीतिमा विदेशी हस्तक्षेप रोक्नुपर्नेमा जोड दिए। ‘हामीले आफ्नै सोच, आफ्नै दर्शन र आफ्नै नीति बनाउनुपर्छ। छिमेकीहरू हाम्रो आन्तरिक मामिलामा दखल दिइरहने हो भने हामी सधैँ अस्थिरताको भुमरीमा फसिरहन्छौं,’उनले भने।
प्रदर्शनमा सहभागीहरूले ‘राजनीतिक स्थायित्व चाहिन्छ’, ‘प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख लागू गर’, ‘संविधान सुधार गर’ जस्ता नारासमेत लगाएका थिए।