अन्तर्राष्ट्रिय नाट्य महोत्सवको जिम्मेवारी सरकारले लिनुपर्छ : अभिनेता दयाहाङ राई [अन्तर्वार्ता]

सुस्मिता बजगाईं ६ चैत २०८१ १७:५६
108
SHARES
अन्तर्राष्ट्रिय नाट्य महोत्सवको जिम्मेवारी सरकारले लिनुपर्छ : अभिनेता दयाहाङ राई [अन्तर्वार्ता]

‘सामाजिक रूपान्तरणका लागि रंगमञ्च : रैथाने ज्ञानको उज्यालो’ भन्ने मूल नारासहित मण्डला थिएटरमा अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट) को तेस्रो संस्करण चलिरहेको छ। महोत्सवमा १२ देशका १७ नाटक मञ्चनदेखि स्थानीय कला, संस्कृति, मिडिया, नीति, राजनीतिलगायत विषयमा छलफल हुँदैछ। एक सातासम्म चल्ने महोत्सवसँग सम्बन्धित रहेर थिएटरका संस्थापक तथा निटफेस्टका निर्देशक नाट्यकर्मी, अभिनेता दयाहाङ राईसँग गरिएको कुराकानी :

पहिलो पटक नाट्य महोत्सवको निर्देशक बन्नुभएको छ, कस्तो अनुभव भइरहेको छ?

यसअघिको फेस्टिभलमा टिमभित्र बसेर टिमका लागि काम गरिन्थ्यो। यसपटक पोस्ट र नामका हिसाबले ‘लिडर’ बनेर काम गरेको छु। यसले बढी जिम्मेवारी महसुस गराउँदो रहेछ। हरेक काममा नयाँ अनुभव त भइहाल्छ। फेस्टिभल निर्देशकका हिसाबले कार्यक्रमको डिजाइनदेखि सदस्य जुटाउनेसम्म काम गरियो। एकैजनाले हरेक जिम्मेवारी लिइरहनुपरेको छ। सुरु हुनुअघि निकै चाप हुने रहेछ, कौतूहल पनि।

फेस्टिभलमा काम गर्ने अग्रज, समकालीन र पछिल्लो तीनै पुस्ताको जमघट छ। फेस्टिभलमा धेरै पछिल्लो पुस्ता खटिरहनुभएको छ। स्वयंसेवकदेखि रचनात्मक क्षेत्रसम्म अनुज पुस्ता हुनुहुन्छ। लिडर भइरहँदा जिम्मेवारी सँगसँगै उहाँहरूको अपेक्षामा तालमेल मिलाउन सक्दिनँ कि भन्ने डर पैदा गराउँदो रहेछ। सबैभन्दा डर यही छ। ती पुस्तालाई सहज हुने तरिकाले समय दिन पाइरहेको छैन।

तेस्रो संस्करणमा महोत्सवको नारा ‘रैथाने ज्ञानको उज्यालो’ किन राख्नुभयो?

हामीसँग विभिन्न रैथाने ज्ञान छ। यो हाम्रो कलासँग जोडिएको छ। रैथाने ज्ञान विज्ञान हो। यसमा आफ्नो ज्ञान कस्तो छ र यसमा हामीले गरिरहेका अभ्यास हेर्न यो नारा हामीले तय गरेका हौँ। हाम्रो पहिचानलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउन यस्ता महोत्सव आवश्यक हुन्छ। हामीले रैथाने ज्ञानसँग नजिक भएर कस्तो काम गरिरहेका छौँ त भनेर चिन्ने मौका पनि हो। समयसँगै हामी कस्तो भयौ? भन्ने देखाउनु पनि हो। रंगमञ्चले मनोरञ्जनसँगै ज्ञान निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको हुन्छ।

कलामा पुस्तान्तरणको कुरा पनि आउँछ। हामीले नेपाली रंगमञ्चको पछिल्लो कालखण्ड अर्थात् २५ वर्षलाई हेर्दा निजी तहमा लागेर काम धेरै काम गर्‍यौँ। विगत हेर्ने हो भने गुरुकुल थिएटरपछिको इतिहास हामीले सम्झिनुपर्छ। नाट्य क्षेत्रमा गुरुकुलको योगदान छ। यसले नै हामीलाई यहाँसम्म पुर्‍यायो। अहिले हामी जिम्मेवार ठाउँमा छौँ। काम गर्ने हाम्रो पुस्ता छ। हामीले अघिल्लो पुस्ताबाट ज्ञान सिक्यौँ। त्यो अनुभव गरेको कुरा भोलिको पुस्तालाई के दिएर जाँदै छौँ त? यही निरन्तरताका लागि फेस्टिभलको रैथाने शब्द जोडियो। समय निरन्तर चलिरहन्छ। हामीले ज्ञान, अनुभव र भोगाइ हस्तान्तरण गर्नुपर्छ। यस्तै विषय महोत्सवको छलफलमा राखेका छौँ।

महोत्सवमा के के हुँदैछन्?

यस वर्ष हामीले काठमाडौँसहित पोखरा, भरतपुर, बेलबारीमा महोत्सव आयोजना गरेका छौँ। यसअघि काठमाडौँमा मात्रै सीमित थियो। साथै स्कटल्यान्ड, चीन र जर्मनीका कलाकारमार्फत नाटकसम्बन्धी कार्यशाला पनि गर्छौँ। १२ देशका १७ नाटक मञ्चन हुनेछ। साथै रैथाने ज्ञानको उज्यालो, मिडियाको आँगनमा रंगमञ्च, नेपाली रंगमञ्च र फिल्मको मितेरीपथलगायत विषयमा छलफल, काव्यसाँझ, संगीतसाँझ र सांगीतिक कार्यक्रम हुनेछन्।

यी विविध विषय समेटिनु कतिको आवश्यक छ?

आवश्यक अवश्यै छ र हो पनि। नाटक साहित्यको एउटा विधा हो। यसमा कला, संगीत, काव्य सबै विषय समेटिएको हुन्छ। साहित्यको स्वरूपहरूको संगम नाटक हो। यी सबै समाजबाट सिर्जना हुने विधा हो। समाजको तरंग साहित्यमा भेटिन्छ र त्यसैको कलात्मक र संवादात्मक स्वरूप नाटक हो। नाटक गर्ने मान्छेले यी सबै पक्ष बुझेको हुनुपर्छ। यसैमा सहकार्य र समन्वय गर्नुपर्छ। समाज जस्तो बनिरहेको साहित्य पनि त्यस्तै सिर्जना हुने हो। नाटकमा त्यस्तै बन्दै जान्छ। समाजको चेतनाअनुसार साहित्यको विकास हुने भएकाले यी सबैको संगमस्थलमा यस्ता विषय छलफल हुन अत्यन्त जरुरी छ।

महोत्सवमा विदेशी नाटकसँग समन्वय गरेर स्वेदश ल्याउन कतिको सहज रहेछ?

अन्य देशमा हुने कला, साहित्य, फिल्मको महोत्सवमा सहभागी हुन कतिपय अवस्थामा हामी आफैँले खर्चले धान्नुपर्छ। विदेशीहरूलाई हामीलाई जस्तो कठिन छैन। सहज छ। कुनै देशमा अन्तर्राष्टिय नाटक महोत्सवमा म सहभागी हुन्छु भन्यो भने त्यो देशको सम्बन्धित निकाय वा सरकारले उनीहरूलाई टिकट उपलब्ध गराउँछ। सबै उनीहरूले नै बन्दोबस्त गरेर पठाउँछन्। उनीहरूलाई हाम्रो निमन्त्रणा भए पुग्छ। कुनै ठूलो स्केल र देशको नाटक ल्याउन केही कठिन हुन्छ। यस्तो अवस्थामा उनीहरूको टिम ठूलो हुन्छ। कतिपय मन परेको नाटक ल्याउन सकिँदैन। यसमा हामीले पहिलो महोत्सवदेखि प्रयास गरिरहेका छौँ।

फेस्टिभलको लागत व्यवस्थापन कसरी भइरहेको छ?

हामीसँग सहकार्य गर्ने केही संस्थाहरू छन्। नेपाल पर्यटन बोर्ड, काठमाडौँ महानगरपालिकालगायत ससाना स्थानीय संघसंस्थासँग सहकार्य भएको छ। महोत्सव एकदम कोल्याबरेटी छ। हाम्रो रैथाने संस्कार एकलाई पर्दा अर्कोले सहयोग गर्ने प्रवृत्ति बढी छ। एउटा परिवारमा कुनै नयाँ काम हुँदै छ भने वरिपरिका टोलछिमेकले जसरी सहयोग गर्छन् त्यसरी विभिन्न किसिमको कोल्याबरेटीको हिसाबले साइनो सम्बन्ध केलाउँदै व्यक्तिगत वा संस्थागत रूपमा सहयोग मागेर काम गरेका छौँ। कसैले सामान दिनुभएको छ, कसैले पैसा त कोही आफैँ सहयोग गर्न आउनुभएको छ।

बर्सेनि यसरी महोत्सव गर्न सम्भव भइरहन्छ त?

यो हाम्रो अभ्यास हो। विशेषतः यो राज्यले गर्नुपर्ने हो। यसमा हामी कलाकारको पनि जोड बल पुग्नुपर्ने होला। राज्यले गर्न सक्ने अवस्थासम्म पुर्‍याउन हामीले अहिले अभ्यास गरिरहेका छौँ। राज्यसम्म पुग्न त्यो बिज हामीले जन्माएर हुर्काइदिनुपर्छ अर्थात् हामीले झाँडी पन्छाएर बाटो त देखाइदिनुपर्‍यो नि। यसको भविष्यमा यस्तो हुन्छ भन्ने हामीले देखेका छौँ।

त्यसैको निरन्तरता भनौँ। फेस्टिभललाई नेपाल सरकारको कुनै कुनै निकायले लिनुपर्छ। देशको नागरिक भइसकेपछि हामी कलाकारको पनि जिम्मेवारी हो। त्यही जिम्मेवारी वहन गरेर हामीले यो फेस्टिभल गरेका हौँ। आफ्नो प्रोफेसनमा मैले व्यक्तिगत रूपमा बाँचेरमात्र हुँदैन। यसका लागि मैले सिकेको ज्ञान सीपलाई यस्तैगरी अर्को पुस्तामा हस्तान्तरण गर्न सकिन्छ। हुर्काउन मेहनत परे पनि निरन्तर रहिरह्यो भने हामीले देखेको सपना एक दिन पूरा हुन्छ।

तेस्रो संस्करणसम्म आइपुग्दा फेस्टिभलमा भएका परिवर्तन?

फेस्टिभल आमदर्शकमा चासोको विषय बनेको छ। नाट्य फेस्टिभल पनि बढिरहेको छ। आयोजक भएर काम गर्दा दुःख आफ्नो ठाउँमा छ। वातावरण पहिलेभन्दा राम्रो छ। सुरुमा जन्माउन गाह्रो थियो। उपत्यकाबाट बाहिर अन्य तीन स्थानमा पनि महोत्सव आयोजना भएको छ। अहिले हामी हुर्काउँदैछौँ। एउटा आकार बनिसकेको छ।

उपत्यकामै निफ र निटफेस्टको समय जुधेको छ नि, दर्शकलाई कता जाने दुविधा भएन र?

हामीले एक वर्षअघि मिति तोकिसकेका थियौँ। सायद अहिले फेस्टिभलको समय भएकाले जुध्न पुग्यो। केही समयअघि गर्न चाडपर्व र मौसम पनि केही चिसो रहन्छ। महोत्सवमा धेरै खुल्ला स्थानमा छलफलका विषय भएकोले हामीले मौसम पनि हेर्नुपर्ने हुन्छ। हामीले सल्लाह गरेनौँ। डिजिटल प्लेटर्फमबाट मिति घोषणा गर्‍यौँ। विगतमा त यस्तो परेको थिएन। आगामी दिनमा हामी मिलाउनेछौँ।

दुवै विधा फरक छ। फिल्म र नाटक। नाटकतिर युवाको उत्साह देखिन्छ। सहभागी दर्शकलाई केही दुविधा त होला नै। तर माहोल त भइरहेको छ नि भन्ने सकारात्मक सन्देश पनि जान्छ। बाहिरबाट आउने कलाकारले पनि नेपाल साहित्यमा नेपाल कति सक्रिय भइरहेको छ भनेर देख्नुहुन्छ।

देशैभर नाट्य, साहित्य र फिल्मको फेस्टिभल भइरहेको छ नि?

देशैभर फेस्टिभलमय हुनु भनेको एउटा माहोल सिर्जना हुनु हो। कुनै समय एउटा मात्र फेस्टिभल हुन्थ्यो। हामी सबै सिक्दै-बुझ्दै छौँ। हामीले जे जानेका छौँ, त्यो ज्ञान सीपलाई छलफल, बहस, सल्लाहमार्फत वा स्वयं उपस्थित भएर बाँड्ने हो। यसले पछि छुट्टै पहिचान पनि बनाउने भएकोले महोत्सव हुनु जरुरी छ।

प्रकाशित: ६ चैत २०८१ १७:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast