
काठमाडौँ- नेपाल जेसीजले चैत ७ देखि १८ गतेसम्म ‘जेसीआई नेपाल बिजनेस एक्सपो २०२५’ आयोजना गर्ने भएको छ।
आज (मंगलबार) काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा संस्थाका राष्ट्रिय कार्यकारी उपाध्यक्ष गणेश सापकोटाले एक्स्पोमा जेसीजका देशभर रहेका एक सय ४८ शाखामा आबद्ध उद्यमीको सहभागिता रहने र दुई सय ५० भन्दा बढी स्टलमार्फत प्रतिनिधिले आफ्ना उत्पादन, औद्योगिक सम्भावना, नवप्रवर्तन तथा अन्य उद्यम प्रदर्शन गर्ने जानकारी दिए।
मेलाले विभिन्न स्थानका उद्यमीबीच अनुभव साटासाट गर्न, उद्यममा आइपर्ने समस्या निवारण तथा नयाँ सम्भावना पहिल्याउने अवसर प्रदान गर्ने सापकोटाले बताए।
मेलामा उद्यमीको आत्मविश्वास बढाउन र सम्भावना पहिल्याउन ६ वटा अलग–अलग विषयमा केन्द्रित सम्मेलनसमेत आयोजना गरिने छ। ती विषयमा पर्यटन, शैक्षिक व्यवसाय, युवा सशक्तीकरण, वित्तीय तथा लगानी र स्वास्थ्य सम्मेलन आयोजना गरिने जेसीजले जनाएको छ।
एक्स्पो अवधिभर खुल्ला सांस्कृतिक तथा खेलकुद प्रतियोगितासमेत गराइने पत्रकार सम्मेलनमा जानकारी दिइयो। यस्तै युवा उद्यमीलाई पर्यटनलगायत उद्यम क्षेत्रमा अघि बढन मद्दत गर्ने गरी तालिमसमेत दिइनेछ।
जेसीजकी राष्ट्रिय अध्यक्ष रजनी थापाले युवालाई विदेश पलायनभन्दा स्वदेशमै व्यवस्थित ढंगले उद्यम गरे अनन्त सम्भावना छ भन्ने कुरा बुझाउनका लागि पनि एक्स्पोको आयोजना गरिएको बताए।