यी हुन् निटफेस्टमा छलफल हुने विषय

हिमाल प्रेस ५ चैत २०८१ १८:०८
72
SHARES
यी हुन् निटफेस्टमा छलफल हुने विषय

काठमाडौँ- चैत ६ अर्थात् भोलिदेखि सुरु हुने नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट) तालिका सार्वजनिक भएको छ। आयोजक संस्था मण्डलाले सार्वजनिक गरेको तालिकाअनुसार महोत्सवमा नाटक मञ्चनसँगै कला संस्कृति, फिल्म, मिडिया, नीति, राजनीतिलगायत विविध विषयमा छलफल हुनेछ। साथै १२ देशका १७ नाटक प्रदर्शन गरिनेछ। महोत्सवमा थापागाउँस्थित मण्डला थिएटरमा चैत १२ सम्म चल्नेछ।

छलफलका विषय केके छन् त?

महोत्सवको उद्घाटन सत्रपछि बेलुका कवितासाँझ हुनेछ। त्यस्तै दोस्रो दिन महोत्सवकै नारासँग सम्बन्धित ‘रैथाने ज्ञानको उज्यालो’ शीर्षकमा अध्येता भोगिराज चाम्लिङ र गुरुङ सुशान्तबीच अन्तसंवाद हुनेछ। महोत्सवको नारा ‘सामाजिक रुपान्तरणका लागि रंगमञ्चः रैथाने ज्ञानको उज्यालो’ राखिएको छ।

छलफल सत्रमा तेस्रो दिन शुक्रबार ‘नेपाली रंगमञ्च र फिल्मको मितेरीपथ’बारे छलफल हुँदैछ। सेसनमा हुनेछन्, फिल्मकर्मी निश्चल बस्नेत, केकी अधिकारी, दीपक रौनियार र आशान्त शर्मा।

त्यस्तै चौथो दिन शनिबारको छलफलमा मिडियामा रंगमञ्चका विषयले पाउने महत्व र त्यसको प्रस्तुतीकरणबारे रंगमञ्च र मिडियाका अभ्यासकर्ताहरुबीच भलाकुसारी हुनेछ। ‘मिडियाको आँगनमा रंगमञ्च’ शीर्षकमा सम्पादक सन्तगाहा मगर, जनकराज सापकोटा र पत्रकार पुनम पौडेलले आफ्ना अनुभव साट्ने छन्।

पाँचौ दिन हुने ‘राजनीतिमा कलानीति’ शीर्षक महोत्सवको अर्को महत्वपूर्ण सत्र हो। यसमा पूर्वसंस्कृति मन्त्री सुदन किराँती, युवा नेत्री रामकुमारी झाक्री र ठाकुर गैरेले आफ्नो धारणा राख्नेछन्। अर्को सत्रमा ‘सिमली छायामा बसी’ सत्रमा दुई फरक पुस्ताका प्रतिभाशाली कलाकार हरिवंश आचार्य र विजय बरालबीच संवाद हुनेछ।

महोत्सवको अन्तिम सत्र ‘गाउँगाउँमा सिंहदरबार, ठाउँठाउँमा थिएटर’ राखिएको छ। यसमा देशका विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने मेयरहरुबीच अन्तक्रिया हुनेछ। संघीयताको सन्दर्भमा रंगमञ्चको विस्तारका प्रयास र सम्भावनाबीच संवाद गरिनेछ।

याे पनि

तेस्रो निटफेस्टमा १२ देशका १७ नाटक देखाइने

छलफल कार्यक्रमसँग महोत्सवमा भिक्षु आनन्दको प्रवचन पनि विशेष हुने महोत्सव संयोजक केदार श्रेष्ठले बताए। उनले भने, ‘रंगमञ्चले मनोरञ्जनसँगै ज्ञान निर्माणमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको हुन्छ। त्यसैले हामीले समय सान्दर्भिक विषयमा पहिलो संस्करणदेखि नै प्राथमिकता दिँदै आएका छौं।’ मानव जीवन, कला र लोकतन्त्रलाई जीवन्त राख्न पनि यस्ता बहसहरु आवश्यक हुने उनले बताए।

महोत्सव निर्देशक तथा अभिनेता दयाहाङ राईले तेस्रो संस्करणमा महोत्सवमा विभिन्न देशबाट सयभन्दा बढी कलाकार सहभागी हुने बताए। नेपाली कलाप्रेमीहरुले ती कलाकारबाट प्रत्यक्ष अप्रत्यक्ष रुपमा धेरै कुरा सिक्न सक्ने उनले बताए।

‘महोत्सवमा हुने कार्यशालाहरु पनि विशेष हुन्छन्। यसपटक स्कटल्यान्ड, चीन र जर्मनीका कलाकारद्वारा तीन फरक कार्यशाला आयोजना गरेका छौँ। विदेशबाट आएका विज्ञ कलाकारहरुबाट नयाँ कुरा सिक्ने अवसर पनि मिल्नेछ।’ महोत्सव निर्देशक राईले भने।

यसवर्ष ४ सहरमा हुने निटफेस्ट हुनेछ। काठमाडौँको मण्डला थिएटरसँगै पोखरा, भरतपुर र बेलबारीमा पनि हुँदैछ। महोत्सवमा एक सय भन्दा बढी विदेशी कलाकारहरु आउने छन्। परम्परागत संस्कृति तथा लोकसंस्कृतिको प्रवर्धन र हस्तान्तरणलाई समेत महोत्सवले प्राथमिकतामा राखेको आयोजकको दाबी छ।

यस्ताे छ तालिका

प्रकाशित: ५ चैत २०८१ १८:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast