
काठमाडौँ- ग्लोबल मनी विक २०२५ आज (सोमबार) देखि सुरु भएको छ। यो अभियान हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा मनाइने गर्दछ। यसपटकको यो तेह्रौं संस्करण हो।
नेपाल राष्ट्र बैंकले नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड र सहकारी विभागको सहकार्यमा अभियानको उद्घाटन गरियो।
कार्यक्रममा काठमाडौँका विभिन्न विद्यालयका कक्षा ७ देखि ९ सम्मका करिब ६०० विद्यार्थीले सहभागिता जनाएका छन्। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कार्यक्रमको उद्घाटन गर्दै वित्तीय साक्षरताको महत्त्वबारे बताउँदै आफ्नो आवश्यकताका आधारमा वित्तीय सेवा छनोट गर्नुपर्ने बताए।
गभर्नर अधिकारीले भने, ‘बैंक तथा वित्तीय संस्थाका आ-आफ्नै प्रडक्ट हुन्छन्। बचत र कर्जाका फरक-फरक सर्त र ब्याजदर हुन्छन्। आफ्नो लागि उपयुक्त प्रडक्ट छनोट गर्नुपर्छ।’ उनले डिजिटल वित्तीय कारोबारको विस्तारसँगै आएका चुनौतीहरूबारे पनि जानकारी दिँदै सतर्कता अपनाउन आह्वान गरे।
कार्यक्रमको दोस्रो सत्रमा नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, बीमा प्राधिकरण, सहकारी विभाग, बैंकर्स एसोसिएसनका अधिकारी र विद्यार्थीहरूको सहभागितामा प्यानल छलफल भएको थियो।
यस अवसरमा विद्यार्थीहरूबीच वित्तीय साक्षरतासम्बन्धी हाजिरीजवाफ प्रतियोगितासमेत आयोजना गरिएको थियो। चैत १० गतेसम्म सञ्चालन हुने यस अभियानअन्तर्गत नेपाल राष्ट्र बैंकको संयोजनमा मुलुकभर वित्तीय सचेतना अभिवृद्धिमा सहयोग पुग्ने कार्यक्रमहरू सञ्चालन हुनेछन्।
ग्लोबल मनी विक मूलतः किशोर-किशोरी तथा युवा-युवतीमा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउने उद्देश्यका साथ विश्वव्यापी रूपमा थालिएको अभियान भएको राष्ट्र बैंकले जनाएको छ।