‘अञ्जिला’ को मुनाफाबाट कप्तान सुब्बाको घर बनाइने

हिमाल प्रेस ४ चैत २०८१ १३:४९
26
SHARES
‘अञ्जिला’ को मुनाफाबाट कप्तान सुब्बाको घर बनाइने

काठमाडौँ- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित फिल्म ‘अञ्जिला’ बाट हुने मुनाफा उनकै घर निर्माणमा प्रयोग गरिने निर्माता प्रेमकुमार श्रेष्ठले बताएका छन्।

कप्तान सुब्बालाई इलामदेखि काठमाडौँ ल्याएर विभागीय टोली सशस्त्र प्रहरी बलमा फुटबल खेलाएका निर्माता श्रेष्ठले ‘अञ्जिलाको आफ्नै घर’ अभियान सञ्चालन गरेका छन्।

उनले भने, ‘यस फिल्मबाट प्राप्त सम्पूर्ण मुनाफा एञ्जिलाको घर निर्माणमा लगाउने छौँ। नेपालमा प्रदर्शनबापत आउने रकम र त्यस अगाडि हङकङ, बेलायत र दक्षिण कोरियामा गरिएको विशेष प्रदर्शनीबाट संकलन भएको रकमले हामीले देखेको सपना पूरा हुनेमा विश्वस्त छौँ।’

उनी कप्तान सुब्बाको धर्मपिताका रुपमा परिचित छन्। गत फागुन २९ देखि प्रदर्शनरत फिल्मले तीन दिनमा रु.२ करोड ७ लाखको व्यापार गरेको वितरक करण श्रेष्ठले जानकारी दिए।

‘प्रदर्शनकै दिनदेखि हामी काठमाडौँ उपत्यकाका हलमा पुगेर दर्शकको प्रतिक्रिया लिइरहेका छौँ। फिल्मको व्यापार दैनिक बढिरहेको छ। दर्शकले राम्रो प्रतिक्रिया दिनुभएको छ। आगामी दिनमा पनि व्यापार बढ्नेमा हामी विश्वस्त छौँ’, वितरक श्रेष्ठले भने।

उनले फिल्म प्रदर्शनको चौथो दिन आइतबार र पाँचौँ दिन आज पनि दर्शकको उपस्थिति राम्रो रहेको जानकारी दिँदै थप व्यावसायिक तथ्यांक केही दिनमा सार्वजनिक गर्ने बताए। कप्तान सुब्बा आफैँले अभिनय गरेका कारण दर्शक उनको संघर्ष र सफलतासँग भावनात्मक रुपमा जोडिएको निर्देशक मिलन चाम्सले बताए।

‘कप्तान सुब्बाको कथा सुनेपछि यसले अन्यलाई प्रेरणा दिन्छ भनेर फिल्म निर्देशन गर्न सहमत भएको थिएँ। हामीले रुचाएको कथालाई दर्शकले पनि रुचाउनु भयो। यो सफलताले आगामी दिनमा अन्य खेलाडीको कथामा फिल्म निर्माण गर्न हौसला थपेको छ’, निर्देशक चाम्सले भने।

फिल्ममा कप्तान सुब्बासँगै प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायत कलाकारले अभिनय गरेका छन्। फिल्म तुबेन्द्र लिम्बू, विनोद अग्रवाल, राजेश बगडियाको सहकार्यमा बनेको छ।

याे पनि

‘अञ्जिला’ ले तीन दिनमा कमायो २ करोड ७ लाख


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast