पोखरामा तीन वर्षपछि राष्ट्रियस्तरको ह्याण्डबल प्रतियोगिता सुरु

हिमाल प्रेस ३ चैत २०८१ १९:२१
4
SHARES
पोखरामा तीन वर्षपछि राष्ट्रियस्तरको ह्याण्डबल प्रतियोगिता सुरु

पोखरा– पोखरामा आइतबारदेखि राष्ट्रिय ह्याण्डबल प्रतियोगिता सुरु भएको छ।

गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजनामा ‘प्रथम पोखरा कप राष्ट्रिय पुरूष ह्याण्डबल प्रतियोगिता’ को प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्यसचिव श्रीधर शर्माले उद्घाटन गरे।

उनले खेलाडीको बिमा, खेलकुदमा पदक लगायतबारे कार्यविधि बनाई खेलाडी तथा खेलकर्मीको सम्मान गर्ने उद्देश्यसाथ परिषद् अघि बढेको बताए। राज्यले खेलकुदमा बजेट विनियोजन निकै कम गर्दा खेलाडीको विकास हुन नसकेको उनको टिप्पणी थियो।

परिषद्का संस्थापक सदस्यसचिव एवं दक्षिण एशियाली ह्याण्डबल संघका उपाध्यक्ष तेजबहादुर गुरुङले विविध कारणले नेपालमा ह्याण्डबलको गतिविधि हुन नसके पनि अब भने त्यसको अन्त्य हुने बताए।

करिब तीन वर्षपछि नेपालमा राष्ट्रियस्तरको ह्याण्डबल प्रतियोगिता भएको ह्याण्डबल संघ गण्डकी अध्यक्ष केशव पाठकले बताए।

प्रतियोगितामा घरेलु गण्डकीसहित कोशी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश र विभागीय त्रिभुवन आर्मी क्लब र एपीएफले भाग लिएका छन्। खेल लिग कम नकआउट आधारमा हुनेछ।

विजेताले १ लाख र उपविजेताले ५० हजार साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन्। तेस्रोले ३० हजार प्राप्त गर्नेछ।

उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई जनही ६ हजार साथमा ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने ह्याण्डबल संघ गण्डकी उपाध्यक्ष गिरमान गुरूङले जानकारी दिए। प्रतियोगिता सम्पन्न गर्न करिब १४ लाख खर्च हुने आयोजकको अनुमान छ।

पहिलो दिन आइतबार चार खेल भए। घरेलु टोली गण्डकी दुई खेलमा जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ। गण्डकीले सुदूरपश्चिमलाई ३५–१७ र कर्णाली प्रदेशलाई ४२–१६ गोलअन्तरले हराउँदै अन्तिम चारको यात्रा सुनिश्चित गरेको हो। अर्को खेलमा, एपीएफले लुम्बिनीलाई ३०–९ र कोशीले सुदूरपश्चिम प्रदेशलाई २२–१९ ले हराए।

प्रतियोगितालाई प्रदेश खेलकुद परिषद् गण्डकीले प्रवद्र्धन तथा कास्की जिल्ला ह्याण्डबल संघले प्राविधिक सहयोग गरेका छन्। पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमा तीन दिनसम्म प्रतियोगिता सञ्चालन हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast