
काठमाडौँ– डोनाल्ड ट्रम्पको नेतृत्वमा अमेरिकाले पहिलो पटक यमनका हुथी विद्रोहीमाथि आक्रमण गरेको छ। आइतबार राजधानी सानासहितका क्षेत्रमा गरिएको हवाई आक्रमणमा कम्तीमा ३१ जनाको मृत्यु समाचार एजेन्सी एएफपीले जनाएको छ।
ट्रम्पले अझै कडा कारबाहीको चेतावनी दिएका छन्। आक्रमणमा मारिएका ३१ मध्ये महिला र बालबालिकासमेत छन्। आक्रमणमा १०० भन्दा बढी घाइते भएका छन्।
सानाको हुथी विद्रोही नियन्त्रणमा रहेको क्षेत्रमा शक्तिशाली विस्फोटको आवाज सुनिएको थियो। विस्फोटपछि आकाशमा धुवाँको ठूलो मुस्लो उठेको थियो। हुथीहरूको स्वास्थ्य मन्त्रालयका प्रवक्ता अनिस अल असबाही ले भने, ‘घाइते र मृतकमध्ये अधिकांश महिला र बालबालिका छन्।’
अमेरिकी राष्ट्रपति ट्रम्पले विद्रोहीहरूलाई कडा चेतावनी दिएका छन्। उनले सामाजिक सञ्जालमा पोस्ट गरेका छन्, ‘हुथी आतंकवादीहरू, तिमीहरूको समय सकिएको छ। तिमीहरूले आफ्नो आक्रमणहरू आजदेखि नै रोक्नुपर्छ। यदि रोकिएन भने तिमीहरूमाथि त्यस्तो प्रहार हुनेछ, जस्तो तिमीहरूले कहिल्यै देखेका छैनौ।’
लाल सागरमा व्यापारी जहाजहरूमा भएका आक्रमणकाका कारण अमेरिकाले हुथीहरूलाई मुख्य खतरा मानेको छ। यसअघि अमेरिकी सेनाले यमनमा हुथीहरूका विभिन्न सैन्य स्थानहरूमा हवाई आक्रमण गरिसकेको छ। ट्रम्प प्रशासनको यो चेतावनीसँगै यमनमा तनाव झन् बढ्ने सम्भावना छ। हुथीहरूले गतिविधि जारी राखे भने अमेरिकाले अझ ठूलो सैन्य कारबाही गर्न सक्ने समाचारमा उल्लेख छ।