
‘एक कुशल नेतालाई मुलुक र नागरिकको भविष्यको चिन्ता हुन्छ। कुटिल राजनीति गर्ने टपरटुइँयाहरूलाई आगामी निर्वाचनको मात्र ध्यान हुन्छ।’ अमेरिकाका १६ औँ राष्ट्रपति अब्राहम लिंकनले एक सय ६४ वर्षअघि भनेको अभिव्यक्ति नेपाली राजनीतिमा अहिले मेल खाइरहेको देखिन्छ। पहिलेका नेताहरू दूरदर्शी हुन्थे। आफू अनुशासनमा रहेर अरूलाई त्यस्तै बन्न सिकाउँथे।
लिंकनको कुरा गरिरहँदा भारतका महात्मा गान्धीलाई सम्झन सकिन्छ। उनी भन्थे, ‘आफू पहिला उदाहरणीय नबनी अर्कालाई सच्चिन कुन मुखले भन्ने? त्यसैले हामी पहिला सच्चिनुपर्छ।’ यस्ता आदर्श पालना गर्ने त फरक कुरा त्यसलाई सम्झन पनि हाम्रो नेतृत्ववर्ग लागेको देखिँदैन।
भ्रष्टाचारले गाँजेको राजनीति
राजनीति सबैभन्दा सम्मानित र माथिल्लो नीति हो। यसलाई फोहोरी खेल बनाउँदा अधिकांश मानिस राजनीतिबाट टाढै बस्न रुचाइरहेका छन्। बिना उद्योगधन्दा नेताको हैसियत परिवर्तन भएको छ। यो खोजीको विषय होइन र? अनि कसरी उनीहरू उदाहरणीय बन्न सक्छन्? किनभने सच्चा नेता बन्न त आफू उदाहरणीय बन्न सक्नुपर्छ। दाउपेचको राजनीति होइन, इमानदारीका साथ मुलुकको विकास प्रक्रियामा लाग्नुपर्छ।
आमनागरिकमा मुलुकको नेताको तस्बिर देख्नेबित्तिकै नैराश्यले छोपेको हुन्छ। जता हेर्यो उतै भ्वाङ छ। नेताहरू व्यक्तिगत स्वार्थ बोकेका हुन्छन्। मुलुक र नागरिकको नाम लिने अनि आफ्नो स्वार्थ पूरा गर्ने काम गरिरहेका हुन्छन्। उनीहरूलाई नमरुन्जेल पद चाहिन्छ। आफू नेता भएपछि श्रीमती र सन्तानलाई पनि त्यसमा लगाउने प्रवृत्ति छ। अपवाद छोडेर नेताको जोड आफ्ना सन्ततिलाई विदेशमा स्थायी बसोबास गराउन र नेपालमा नेता बनाउन केन्द्रित छ। यो हाम्रो दुर्भाग्य हो।
जसले गर्दा असल र पढेलेखेकाहरू एकदमै कममात्र राजनीतिमा जान्छन्। यहाँ त विद्यार्थी नेता भएर पार्टी राजनीतिमा आएका व्यक्तिहरूको शैक्षिक प्रमाणपत्र हेर्ने हो भने कि भारतबाट किनेको हुन्छ कि नेपालमा तिकडम! अनि त्यहीँबाट सुरु हुन्छ भ्रष्टाचार।
हामीकहाँ भ्रष्ट नेताहरूको बाहुल्य छ। सीधासीधा भ्रष्टाचार भएको जानकारी हुँदाहुँदै पनि कसैले पनि त्यो रोक्न सकेको छैन। यसरी हामी दुर्गति भोग्दै अघि बढेका छौँ। संविधान छ, संविधानमा केही असन्तुष्टि छ। तर त्यसलाई अलिकति पनि ध्यानमा राखिएको छैन। यो हाम्रो आजको मूल विडम्बना हो।
राजनीतिशास्त्रअनुसार इमानदारी, निडर, आदर्श, वास्तविकता र बौद्धिकता नेतृत्वमा चाहिने गुण हुन्। यी गुण भएका व्यक्ति नेतृत्वमा पुग्ने सम्भावना देखिन्न। अहिलेको जम्बो सांसदमा शिला खोज्दा मात्र यस्ता नेता भेटिन्छन्। केही न केही कमी भएका र कतिपय त सबै कमी भएका नेताहरूले हामीलाई शासन गरिरहेका छन्। ‘बिलो एभरेज’ले शासन गर्ने मुलुकका रूपमा हामी परिचित छौँ।
नेतृत्वको गुणले भरिपूर्ण नेता बीपी कोइरालाबाहेक अरू देखिएनन्। त्यतिबेलाका संसारका बौद्धिक नेताको सूचीमा उनी पनि थिए। अहिले को छन् त्यस्ता नेता? अलिकति बफादार देखाउनेहरू इमानमा चुकेका छन्। अहिलेका नेतामा यो गुणको उल्टो अर्थात् अवसरवाद, अतिवाद, अराजकतावाद, गैरजिम्मेवारीपन र भ्रष्टाचार व्याप्त छ।
नेतृत्वमा वैचारिक इमान हराएको देखिन्छ। अर्कातिर ‘जातीय’ र ‘साम्प्रदायिक’ जस्तो विचारभन्दा भावनाको निकृष्ट राजनीति गर्ने मधेशी, लिम्बुवान, थरुहटजस्ता पार्टी यही भूमिमा सक्रिय छन्। अतिवादको राजनीतिले अराजकतावाद र गैरजिम्मेवारीपनको पराकाष्ठा नाघिसकेको छ।
आफ्नो निहित राजनीतिक स्वार्थ र कमाउधन्दाका लागि मुलुकलाई स्वाहा पार्नसमेत तयार देखिएपछि आमनागरिकमा निराशा देखिएकै हो। निराशाको विकल्प रैती बन्ने त होइन। त्यो भीड र अहिले भएको अन्तर्राष्ट्रिय प्रचारले नेपाली नागरिक अचाक्ली स्वार्थमा पर्नुभन्दा रैती हुन राजी भएको जस्तो सन्देश गएको छ।
राजनीतिमा मोलमोलाइ हुने र महत्त्वपूर्ण पदमा पुराना कर्मचारीले नियुक्ति पाउने प्रवृत्ति छ। उनै कर्मचारीले पदमा रहँदा नेतृत्व खुसी पारेको वा पदमा बस्दा लुटेको सम्पत्ति प्रयोग गरेर पुनः नियुक्ति लिने गरेकाले पनि मुलुक अराजकतामा गएको हो। तीनचार दशक राज्य संयन्त्रमा बसेर केही गर्न नसकेका पुनः राजदूत हुने, संवैधानिक नियुक्ति लिने गर्दा समस्या आएको हो।
राजनीतिक नियुक्तिमा नयाँ र फ्रेस व्यक्ति लैजानुपर्ने हुन्छ। यहाँ त प्रशासनको टिप्पणी उठाउने र फाइलिङ गर्न जानेपछि त्यो अनुभवी हुने कारणले समस्या निम्तिएको हो। पढेलेखेका युवा सधैँ उनीहरूको हालीमुहाली हेरेर बस्नुपर्ने भएको कारण पनि यो अवस्था आएको हो।
पूर्वकर्मचारी, पूर्वन्यायाधीश, पूर्वप्रधानन्यायाधीश अभिभावक जस्तो भएर सल्लाहसुझाव दिनुपर्नेमा बिचौलियाको भूमिकामा हुन्छन्। अनि कसरी मुलुक सहज ढंगले अघि बढ्छ? कतिपय पूर्वप्रधानन्यायाधीशलाई आफ्ना हुक्केहरूलाई संयन्त्रमा पुर्याएर आफू एकपटक खिलराज हुने धोको छ। कोही पूर्वहरूलाई राष्ट्रपति हुनुपरेको छ। उनीहरू दलका नेतालाई अर्तीउपदेश दिने गरिरहेका छन्। कोहीलाई गच्छेअनुसारको पद चाहिएको छ। अनि राजनीतिक नेताको दौराको तुना समाउँदै नियुक्ति मिलाउने काममा जुत्ताका तलुवा भने खुब खियाएका छन्।
व्यापारीहरूले कर छलेर सकेसम्म राज्यलाई केही तिर्न नपरे हुन्थ्यो भन्दै राजनीतिक दलमा लगानी गर्ने गरेको देखिन्छ। युवा नेताहरूमाथि लगानी गर्ने र कम्पनीलाई सधैँ घाटामा देखाएर चलाउने पनि छन्। कतिपयले भने नेताको धन घुमाउरो बाटोबाट सेतो बनाउने काम गरेको समाचारमा पढ्न पाइएकै हो। यस्ता विकृतिले गर्दा अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम उँचो छैन।
सरकारी स्वामित्वका सम्पत्ति कौडीको भाउमा आफ्ना निकटस्थ व्यापारीलाई दिने, अनि त्यहाँको नाफा कमिसन खाने प्रवृत्ति छ। प्रशासन, कूटनीति, सेना, प्रहरी, न्यायालय सबैतिर यो अवस्था देखिएकाले युवा पुस्ता आशावादी नदेखिएको हो। यिनै कारणले युवाले देश छाडिरहेका छन्।
नेपाल फर्किएर काम गर्न थाल्दा झेल्नुपरेको प्रशासनिक झन्झटले गर्दा त्यस्ता व्यक्ति पुनः विदेश फर्केका पनि छन्। सेवामूलक कम्पनीले सेवा चुस्त नबनाउने, चल्छ भन्ने शैलीमा काम गर्ने, अनि केही समस्या आयो भने यो नेपाल हो हजुर युरोप-अमेरिका होइन भनेर उत्तर दिने शैली मौलाएको छ।
नागरिक मर्कामा छैन चासो
सरकारका मन्त्रीहरू नागरिक सेवामा लागेको दाबी गर्छन्। चर्का भाषण गर्छन्। उदाहरणका लागि स्वास्थ्यमन्त्री प्रदीप पौडेलको कार्यशैलीलाई लिन सकिन्छ। उनी सरकारी अस्पताल चुस्त भएको दाबी गर्छन्। अस्पताल पुग्दा थाहा हुन्छ, ती मन्त्रीको असली रूप। एकजना जेष्ठ नागरिक उपचार गराउन पुग्दा आफैँ कोठा खोज्दै जानुपर्ने अवस्था छ। एकै स्थानमा सेवा पाइँदैन। ल्याब एकातिर छ, एक्सरे सेवा अर्कातिर र अल्ट्रासाउन्ड अर्को कुनामा। यसलाई मिलाएर एकै स्थानमा राख्न सकिँदैन? निजी अस्पतालले सक्छ भने सरकारीले किन सक्दैन? किन दुःख दिने नागरिकलाई?
त्रिवि शिक्षण अस्पताल एउटा ज्वलन्त उदाहरण हो, उक्त अस्पतालमा दैनिक १० हजार बिरामी पुगे पनि त्यहाँको संरचनाअनुसार सरासर काम हुनुपर्ने हो। तर त्यो हुँदैन। सहज बनाएमा निजी क्षेत्र चल्दैन। किनभने निजी क्षेत्रसँग मन्त्रीको साठगाँठ हुन्छ। सरकारी निकायमा एकपटक तार काटेर स्टन्टबाजी गरेको जस्तै तरिका सबैमा मौलाएको छ।
बिरामीका लागि अवाश्यक औषधि किन्छु भन्दा पनि पाइँदैन। बिचौलियाले हामी उत्पादन गर्छौँ भनिरहेका छन्। यसलाई हेर्ने निकाय चुस्त नहुनु अर्को कारण हो। अनावश्यक झन्झट गरिदिनु नेपालमा मात्र बिक्रीवितरण गर्ने भनेर लेखेर ल्याउन पर्ने जस्ता कार्य किन चाहियो? दिल्लीमा मान्छे पठाएर औषधि ल्याउनुपर्ने अवस्था अन्त्य भएको छैन। हामी फ्री मार्केटको कुरा गर्ने अनि औषधिजस्तो कुरामा पनि सिन्डिकेट लगाउने? आखिर चाहिने औषधि अर्को बाटोबाट आएकै छ। किन त्यसलाई सहज नगर्ने?
बालबालिकालाई सामान्य किसानले त के मध्यमवर्गीय कर्मचारीले पनि सक्दैनन्। किनभने त्यो नेपालकै उत्पादनले पुग्छ भनेर कुनै सिन्डिकेटबाट कुरा आयो। अनि कमिसन पुग्यो। भारतबाट छोटी भन्सार हुँदै सस्तोमा ल्याउने अनि नेपालमा नेपाली रेटमा बेच्ने। २० रुपैयाँ हाराहारी पर्छ एक अण्डाको। प्रतिस्पर्धी बजारमा किसानलाई उत्पादनमा सहजीकरण गर्नुपर्ने हो। बजार प्रतिस्पर्धी बनाउन सरकार चुकेको छ।
खानेकुराको त झन् के कुरा गर्नु? कुन रेस्टुराँले कस्तो खुवाएको छ भन्ने परीक्षण कसले गर्छ भन्ने थाहा छैन। दसैँतिहारमा खर्च उठाउन वा देखाउनका लागि गरिएको जानकारी हुन्छ। खानेकुरादेखि उत्पादनसम्म कस्तो छ भनेर नियाल्नुपर्नेमा त्यसतर्फ ध्यान कसैको गएको देखिँदैन।
सेनाको हबिगत उस्तै
अनियमितता र भ्रष्टाचार सेनाजस्तो संवेदनशील र जिम्मेवार निकायमा पनि उत्तिकै छ। सेनाको सम्भार विभागमा एक लाखमा पाउने सामग्री एक करोड रुपैयाँमा खरिद गरेको विषय कसले हेर्ने? पुराना सामान मर्मत गर्ने अनि नयाँ खरिद गरेको बिल बनाएर अनियमितता भइरहेको कसले हेर्ने?
सेनाले लगाउने बुट स्वदेशमै उत्पादन गर्ने भनियो। सुरु पनि भयो। अब नयाँ ठेकेदारलाई दिएर मेसिन ल्याउने भन्दै बन्द गरिएको छ। ज्याकेट पनि यहीँ बनाउन थालिएको थियो। तत्कालीन प्रधानसेनापति राजेन्द्रबहादुर क्षेत्रीका पालामा एउटा ज्याकेट तीन हजारभन्दा कम मूल्यमा सेनाले उत्पादन गर्दै थियो। तर त्यसलाई बन्द गर्न लगाएर बिचौलियाको मिलोमतोमा सात हजारभन्दा बढीमा खरिद गरेको उदाहरण र बिल सुरक्षित छ।
हामीलाई लाग्छ- सेना मुलुक बचाउने संयन्त्र हो। त्यहीँ पनि यस्तो गरिन्छ। हेलिकप्टरसमेत किन्दैनकिनी किनेको भन्ने समाचार पनि त्यही निकायको पढिएकै हो। त्यसको मर्मत अनि अन्य मेसिनरी चिजमा हुने खर्च विवरणले सेनापति भएर बाहिर निस्कँदा अर्बपति भएर निस्कने हल्लालाई थप पुष्टि गर्छ। त्यही पैसाका कारण सेना पनि कमजोर भएको हो।
अनि सेनाले कसरी कुन मुखले हामी मुलुकको र नागरिकको हितमा छु भन्ने? दोहोरो नागरिकता लिने, नागरिकता सच्याउने र श्रीमतीलाई विदेशमा पठाएर स्थायी बसोबासको व्यवस्था गर्ने सैनिक अधिकारीहरू बढुवा भएर माथिल्लो तहमा पुग्छन्। केही भयो भने सुटुक्क राजीनामा दिएर विदेश पलायन हुन श्रीमतीलाई उता पठाएको जंगीअड्डाकै अधिकारीहरूले बताउने गरेका छन्। अनि यस्तो भ्रष्टलाई बोक्ने सेनाले मुलुक बचाउँछ भनेर हामीले कसरी सोच्ने? अनि आम-नागरिकले सेनाले बचाउँछ भनेर पत्याइदिनुपर्ने?
हो, कतिपय विषयमा समझदारी गर्ने र काम गर्ने हो। तर आमनागरिकको कर चुस्ने निकायलाई चुस्त बनाउन नागरिक प्रतिनिधि सक्रिय हुन आवश्यक छ। त्यस्ता प्रतिनिधि चोखो हुनुपर्छ। अन्यथा यस्ता परजीवीहरूले परालको आगो बनाई पूरै देश र जनतालाई बन्धकी बनाउन सक्छन्।
लोकतन्त्रको उपहास गर्दै नागरिकको सेना भनेर सैन्य निकाय भ्रष्ट बन्नुको कारण पनि नेता नै हुन्। यसमा सचेत हुनुपर्ने अवस्था छ। सेना कुनै समय डराउने अवस्था थियो र अनुशासित थियो तर अहिले बेलगाम छ।
सैनिक अधिकारीहरूले अनावश्यक भाषण गर्ने, मुलुकमा केही नहुँदा पनि तत्त्व खेलिरहेको र त्यसलाई निर्मूल पार्न भन्दै अफवाह फैलाइरहेका हुन्छन्। अन्यत्र ध्यान मोडेर लुट मच्चाउने काम नेपाली सेनाभित्रका केहीले गरिरहेका छन्। यसतर्फ ध्यान जानुपर्छ। द्रुत मार्ग सेनाले लिएर कुन अवस्थामा राखेको छ र बजेट कति बढायो भन्ने विषयमा अध्ययन र छानबिन हुनुपर्छ।
खाँचो दूरदर्शी राजनेताको
मुलुकका नेता र सेना मात्र होइनन् उच्च तहमा रहेका कर्मचारी, प्रहरी प्रशासन, शिक्षकमा पनि मुलुक र नागरिकका लागि केही नगर्ने प्रवृत्ति छ। भनाइ र गराइमा फरकपन देखाउनाले समस्या बढ्दो छ। पारिवारिक स्वार्थमा भुल्ने त्यसबाट माथि उठ्दा पार्टीको स्वार्थमा पर्ने अनि मात्र आमनागरिक। त्यसैले पनि समस्या ज्यूँकात्यूँ भएका हुन्।
परिवर्तन त भए तर आमनागरिकलाई त्यसले छोएको छैन। पासपोर्ट सहजीकरण हुँदा अलिक नेपालीले मुलुकमा लोकतन्त्र आएको महसुस गर्न पाए। जसले गर्दा मुलुकको विकास प्रक्रिया पनि अघि बढ्यो। पञ्चायतले ३० वर्षमा के काम गरेको थियो? त्यो विश्लेषण गर्दै यो १० वषर्मा के भएन?
नेपालबाहिर जान पाए भन्नेबाहेक अन्य प्रशासनिक क्षेत्रमा खासै सुधार देखिएको छैन। मुलुकमा माओवादी द्वन्द्व भयो र जसले गर्दा सेना र प्रहरी बढ्न पुगे। राज्यको खर्च बढ्यो। नेतृत्वलाई कमाउने स्थान र दायरा बढ्यो।
धेरै ‘चतुर’ नेता हुनु भन्दा सच्चा रूपमा ‘बौद्धिक’ थोरै नेता हुनु बेस हो। चतुर नेताले चुनाव जित्ला तर मुलुक स्वाहा पार्छ। दूरदर्शी र बौद्धिक राजनेताले मुलुकलाई अघि बढाउँछ।
अधिकांश बुद्धिजीवीमा वैचारिक इमानदारीको कमी छ। कतिमा वैचारिक विचलन आएको देखिन्छ। सरकारको बढी आलोचना गर्ने अनि ‘गलत नियतवश’ राजनीतिक संकट निम्त्याउने काममा पनि बुद्धिजीवी भनाउँदाहरू उत्तिकै लागेका हुन्छन्।
राजा फर्किने सम्भावना छैन भन्ने थाहा हुँदाहुँदै पनि केही दल समर्थक उतारेर आफ्नो शक्ति देखाउने काम गरिरहेका छन्। दक्षिण एसिया क्षेत्रमा लोकतन्त्रको सबल अभ्यास नेपालमा भइरहेको छ। तर नेतृत्वमा पुग्ने मानिस गलत हुँदा समस्या उस्तै छन्।
लामो समयदेखि राजनीतिमा जरो गाडेर बसेका र पदमा पुग्न जस्तोसुकै हर्कत गर्नेहरू पाखा लागेपछि मात्र मुलुकमा सहजता आउनेछ। ‘सही’ र ‘गलत’ के भन्ने छुट्ट्याउन सक्ने व्यक्ति नेतृत्वमा पुग्दा योभन्दा उत्तम शासन अहिले अन्य अभ्यासमा आएको देखिँदैन। आमनागरिकको छोरा राष्ट्रप्रमुख हुन पाउने र सरकारको काम नियाल्न पाउने अवस्था हुँदाहुँदै हामी किन दासप्रथामा जान खाजेको भन्ने उदाहरण आमनागरिकमा देखिएको निराशा हो।
यहाँनिर हामीले बुझ्नुपर्ने कुरा छ- के निराशा भयो भन्दैमा तावाबाट पुनः भुंग्रोमा झर्ने? अब मुलुकमा पुनः राजा ल्याउने भनेको नागरिकबाट रैती बन्न उद्यत हुने र तावाबाट भुंग्रोमा खस्नुसरह हो।
प्राप्त राजनीतिक व्यवस्था चुस्त बनाउने, सच्याउने, ठूला भएकालाई सानो बनाउने, खर्च घटाउनेतर्फ लाग्ने हो। संविधानमा त्रुटि भए सुधार गर्ने, संविधानमा नक्सा राख्दा समस्या भए त्यसलाई झिक्ने, संविधानमा नक्सा राखिँदैन नक्सा भन्ने कुरा अद्यावधिक गरिरहनुपर्ने हुन्छ। त्यो पनि नदीको बहावको आधारमा तय भएको सिमाना हाम्रो छ।
हामी नेपाली जनतामा शिक्षा र संस्कारमा ठूलो परिवर्तनको खाँचो छ। खाली पार्टी र नेतालाई मात्र गाली गर्ने अनि आफूचाहिँ त्यही नेतासँग भनसुन गर्न हरदम तत्पर हुने प्रवृत्ति जबसम्म रहन्छ तबसम्म नयाँ नेपाल खोलमा जति नयाँ भए पनि भित्र पुरानै हुनेछ।
नियमकानुनको सम्मान नहुने खाली नेतालाई मात्रै आलोचना गर्ने अनि आफू मौका परे नियमकानुन उल्लंघन गर्न हरदम तत्पर हुने परिपाटीले मुलुक माथि उठ्दैन।
अहिले पनि स्मरण हुने भनेको कि राजा पृथ्वीनारायण शाह र पछि महेन्द्र, नेताको नाम लिनेबित्तिकै बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, मदन भण्डारी, मनमोहन अधिकारीको तस्बिर आउँछ। त्यसबाहेकको आकृति किन आउँदैन त? कारण सबै स्वार्थ, लोभमा परे।
यी नेताहरूले जनसरोकारका विषयलाई मात्र महत्त्व दिन्थे। त्यसैले त नेताहरूप्रति सम्मान थियो। अहिले त्यसको ठीक उल्टो। नेताहरूले आफू जनताको प्रतिनिधि हुँ भन्ने बिर्सेका छन्। आसेपासेले समेत भुल्ने अवस्थामा पुगेका छन्। हो, यतिबेला नेपालमा यस्ता सादगी राजनेताको खाँचो छ। विश्वकै नेतृत्व गरिरहेको मुलुकमा समेत अब्बल नेताको अभाव महसुस भइरहेको अवस्थामा हामी झन् पिरलोमा परेका हौँ। मुलुकको भविष्यलाई कुन दिशामा लैजाने भन्ने विषय सम्बन्धित मुलुकको राजनेतामा निर्भर हुन्छ। आफूपछि अरू आउनै नसक्ने देख्नु नेतृत्वको कमजोर मानसिकता र तानशाहको रूपान्तरित रूप हो।
सत्ताको बलमा कानुन मिच्ने, आफ्ना परिवार र आफन्तमार्फत अकुत सम्पत्ति कमाउन खोज्ने प्रवृत्ति संसारकै रोग बनेकाले नेपाल चोखो हुने कुरा त भएन तर यहाँ रोक्न सकिन्छ तर त्यसतर्फ ध्यान गरेका छ्रन्। अहिलेको पुस्ताले गतिलो र अब्बल नेतृत्व नपाएकोमा दुईमत छैन। त्यसैले निराश नेपाली नागरिकले कहिले के सोचेको देखिन्छ कहिले के?
निष्कर्ष
राजा उनीहरूलाई पनि स्वीकार्य छैन। तर धेरै राजा बनाउनु भन्दा एक बनाउन ठिक हुने आवाज बाहिर गुञ्जिन थालेको छ। नेताहरूले त्यो आवाज झन् उँचो हुने स्थान दिन नयाँनयाँ नचाहिँदा विधेयक अघि बढाउन लागेका छन्। त्यसले झनै दुःखद बनाउने स्पष्ट छ।
राजनीतिक नेतृत्वले किन दीर्घकालसम्म जनताका मनमनमा बस्ने काम गरेर देखाउन सकेको छैन? यस विषयमा नेतृत्व घोत्लिनुपर्छ। हुन त हरेकमा फरकफरक गुण हुन्छ। जुन प्रकारको समाज छ, त्यस्तै नेतृत्व जन्मिने हो। महापुरुष त युगले एकदुई मात्र जन्माउँछ। नेतृत्व समाजकै परिकल्पना हो। त्यही समाज भनिरहेको छ, ‘शक्तिशाली र चामत्कारिक नेतृत्व आओस्, जसले अहिलेको बेथिति अन्त्य गरोस्।’
नेतृत्वको क्षमता आफैँमा आउने एक गुण पनि हो। नेतृत्वमा परिश्रम, अध्ययन र मेहनत पनि आवश्यक हुन्छ। यसको अर्को पाटो पद्धतिअनुरूप वैधानिक विधिमा स्वीकार्य हुने। पदमा पुगेपछि सबैलाई समान दृष्टिकोण राख्ने हो। कोल्टेपरेर वा चश्मा मुनिबाट अर्कोलाई घुर्ने होइन। सबैलाई मिलाउन सकेमात्र नेतृत्वले सफलता पाउँछ। यहाँ पछिल्लो समय वैधानिक विधिका नेतृत्व मात्र देखिएको छ, जुन यस कालखण्डकै लागि दुर्भाग्य हो।
नेतृत्व निर्णायक, समय बुझ्ने, बलवान्, बुद्धिमान, जवाफदेही र पारदर्शी हुनुपर्छ। अधिकांश नेतृत्व त्यसबाट विमुख छन्। राजनीतिक संक्रमणसँगै समाज परिवर्तनको संघारमा अब्बल नेतृत्वको उदय हुने हो। विडम्बना! पछिल्लो समय विश्वमा राजनीतिक नेतृत्व जाली, आडम्बरी र आफूकेन्द्रित बन्दै गएको छ। यो नेपाल मात्र होइन, विश्वले भोगिरहेको समस्या हो। अधिकांश राजनीतिक दलका नेतृत्वले सत्ता र शक्तिको दम्भले अरूलाई पुड्को देख्ने गरेको छ।
राजनीतिले देखाएको बाटोबाट अहिलेको नेतृत्व विमुख छ। जनताबाट नजिक होइन टाढा भइरहेको छ। उनीहरूमा अरूको विचार सुन्ने र अध्ययन गर्ने फुर्सद छैन। यस्तो अवस्था अनुत्तरदायी र बेइमानीको उच्चतम् पराकाष्ठा हो। नेतृत्व बेइमान हुँदा सिक्किम कुन अवस्थामा पुग्यो? पाकिस्तानको हालत के छ? पछिल्लो समय बंगलादेश के भयो? श्रीलंका के गरिरहेको छ? यस्ता कुरालाई हाम्रो नेतृत्वले बुझ्न जरुरी छ।
नेतृत्व बेइमान हुँदा बीसौँ शताब्दीको आरम्भमा फर्कन आवश्यक हुन्छ। त्यतिबेला सयौँ वर्ष पुराना बादशाह र सम्राट् सकिए। अस्ट्रियाका हाप्सवर्ग, टर्कीका ओटोमन वंश, रूसका रोमानोब, जर्मनीका कैसरवंशीय सम्राट्को अधोगति त्यहीँबाट भयो। अन्तको मात्रै के कुरा! पछिल्लो समय तत्कालीन राजा ज्ञानेन्द्रको दम्भले पुर्ख्यौली शासन समाप्त भयो। उनी संयम भएर मिलाएर अघि बढ्न सकेको भए खस्केको साख उकास्ने थिए। अब केही पाइन्छ भनेर अघिपछि गर्नेहरुसँग हात हल्लाएर त्यो वंश आउँदैन।
नेता बेइमान हुँदा तानाशाह जन्मन्छ भने नेतृत्वमा दम्भ पलाउँदा ढल्छ। तानशाह परिवर्तन गर्न जनता जुर्मुराउँछन्। अनि ढल्छन् पनि। नेतृत्व पारदर्शी हुुनैपर्छ। अमेरिकाका डोनाल्ड ट्रम्प छन्, उत्तर कोरियामा किम जोन उन। चीनमा सी जिनपिङ, रसियामा भ्लादिमिर पुटिन। भारतमा नरेन्द्र मोदी, फ्रान्स र क्यानडामा युवा नेतृत्व। यस्तो नेतृत्व विगतमा भएको भए संसारले कुन रूप लिन्थ्यो, अनि आफैंमा उत्तर आउँछ, सायद यतिबेलैको सकसले विश्व सकिने थियो। हामी नै हुने थिएनौँ। उनीहरुको सुझबुझले हामी यहाँसम्म आएका हौँ।
नेताहरूलाई जनताले विश्वास गर्दैनन्। यसको कारण हो, उनीहरू आफ्ना बाचा पूरा गर्न चुक्छन्। हाम्रो हकमा त्यो बढी लागू भएको छ। बोल्ने एकथोक र गर्ने अर्कै भएपछि नेतृत्वको बारेमा सोच्नुपर्ने बेला आएको हो। त्यसैले त अहिलेको नेतृत्वको स्मरण कसैमा आउँदैन। असल नेतृत्वले बोल्नुअघि धेरै सोच्छ र आफ्नो व्यक्तित्व र विश्वास तोड्न दिँदैन। उनीहरूको अडान दृढ हुन्छ। तर अहिलेको नेतृत्वमा त्यसको आभास पाइँदैन। बाचा पूरा गर्ने नेतृत्व नै अब्बल नेतृत्वमा दरिन्छ। अहिले त ठिक उल्टो।