‘राजागञ्ज’बाट चर्चा पाइरहेकी आरती भन्छिन् : अफर आए सञ्चारकर्मसँगै अभिनय पनि गर्छु

हिमाल प्रेस ३ चैत २०८१ १५:०८
76
SHARES
‘राजागञ्ज’बाट चर्चा पाइरहेकी आरती भन्छिन् : अफर आए सञ्चारकर्मसँगै अभिनय पनि गर्छु

काठमाडौँ- जनकपुरधाममा रेडियो पत्रकारिता गरिरहेकी पत्रकार आरती मण्डल केही समययता आफैँ समाचार बनिरहेकी छन्। अरूको समाचार संकलनमा व्यस्त हुने आरतीले फिल्म ‘राजागञ्ज’बाट अभिनययात्रा थालेकी छन्। फिल्म शुक्रबारदेखि प्रदर्शन भइरहेको छ।

प्रदर्शन अगाडि जनकपुर, चितवन र काठमाडौँमा गरिएको ‘प्रिमियर’ मार्फत आरतीले निभाएको भूमिकाले चर्चा पायाे। उनले पहिलोपटक फिल्ममा अभिनय गरेकी हुन्।

नेपाल र भारतको सीमावर्ती सहरमा अपहरणमा परेका दुई बालकलाई मुक्त गराउन प्रहरीले गरेको खोजीको कथा प्रस्तुत गरिएको छ। फिल्ममा मधेसको परिवेश समेटिएको छ।

‘जनकपुरमा फिल्म छायांकन हुँदैछ र मधेसी पात्र चाहिएको छ भन्ने थाहा पाएपछि मैले अडिसन दिएँ। अभिनय मेरो लागि नयाँ थियो, तर पनि निर्देशकसहितको समूहले मलाई चयन गर्नुभयो। त्यसपछि केही समय कार्यशाला गरे, र अभिनयकाे लागि तयार भएँ’, पत्रकार मण्डलले भनिन्।

यसअघि नाटकको पटकथा लेखन र त्यसका केही पात्रमा स्वर दिए पनि उनले पहिलोपटक फिल्मका लागि अभिनय गरेकी हुन्। छायांकन अघि गरिएको कार्यशाला र कलाकारसँग घुलमिलले आरतीलाई पात्रलाई जीवन्त बनाउन सहज भयो। परिणाम फिल्म हेर्ने दर्शकले उनको भूमिकाको प्रशंसा गरिरहेका छन्।

‘मैले अडिसन दिँदा पत्रकारको भूमिका पाउँछु कि जस्तो पनि लागेको थियो, तर मेरो अभिनय हेरेर मलाई अर्को भूमिका दिनुभयो। आगामी दिनमा सुहाउँदो भूमिकाको अफर आयो भने अभिनय पनि गर्छु, साथै सञ्चारकर्मलाई पनि अगाडि बढाउँछु’, उनले भनिन्।

फिल्ममा मण्डलसँगै महिला कलाकार आशा मगराती, ऋचा शर्मा, गौमाया गुरुङ, पशुपति राई, निकिता चान्डक र पुष्पा यादवलगायतको अभिनय छ। फिल्ममा सात महिला कलाकारलाई निर्देशक दीपक रौनियारले इन्द्रेणीझैँ चित्रण गरेका छन्।

नेपाली फिल्म प्रायः पुरुष पात्र केन्द्रित हुन्छन्। पारिश्रमिकको विषय होस् वा भूमिकाको प्रायः पुरुष नै अगाडि देखिन्छन्। थोरै यस्ता फिल्म छन्, जसमा महिला कलाकार शीर्ष भूमिकामा रहन्छन्।

‘मेरा लागि नयाँ अनुभव रहयो, पुरुषप्रधान समाजमा महिलाको अस्तित्व र आवश्यकतासँगै महत्वलाई फिल्मले दर्शाउँछ। यसमा महिला नै मुख्य भूमिकामा हुनुहुन्छ, घुम्टोमा अनुहार लुकाउने मधेसमा महिलाले नेतृत्व गर्नु आफैँमा ठूलो विषय हो’, पत्रकार मण्डलले भनिन्।

महिला कलाकारले मात्र फिल्मलाई व्यावसायिक सफलता दिलाउन नसक्ने सोच धेरै फिल्मकर्मीकाे छ। तर, ‘राजागञ्ज’ महिला कलाकारकै वरपर घुमेको छ। निर्देशक रौनियारले फिल्ममा सात महिला पात्रमार्फत कथावस्तुलाई अगाडि बढाएका छन्।

फिल्ममा पुरुष पात्रको उपस्थिति सहायक भूमिकामा देखाइएकाे छ। फिल्ममा अभिनेता दयाहाङ राई, विजय बराल, घनश्याम मिश्र, परमेश्वरकुमार झा, नीरज श्रेष्ठलगायतका कलाकारले अभिनय गरेका छन्।

प्रकाशित: ३ चैत २०८१ १५:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast