
काठमाडौँ- पहिल्लो समय नेपाली फिल्ममाथि सेन्सर बोर्डले अनावश्यक रूपमा कैँची चलाइरहेको भन्दै प्रतिनिधिसभा बैठकमा विषय उठेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद असिम साहले ननसेन्सर (सेन्सर नबुझेका)हरूलाई सरकारले सेन्सर बोर्डमा नियुक्ति दिँदा कैँची चलेको बताएका हुन्। ‘फिल्ममा सेन्सरको नाममा अनावश्यक कैची चलेको छ। सरकारको आयु पनि यसरी नै कैँचीले काटिनसक्छ।’
उनले भनेका छन्। ‘फिल्म प्रदर्शनको मुखमा अनावश्यक काटछाट गर्ने प्रवृति अहिले सेन्सर बोर्डमा देखिएको छ। सेन्सर बोर्डमा राजनीति नियुक्ति पाएका नन सेन्सर सदस्यहरूलाई पदमुक्त गरी फिल्म बुझेका मान्छेलाई नियुक्त गर्न माग गर्दछु।’
उनले सरकारलाई फिल्मकर्मीहरुको सेन्सरसिपविरुद्ध आन्दोलनमा एक्यबद्धता जनाउनसमेत आग्रह गरे।
उनले भने, ‘राजा भन्ने शब्द सुन्ने बित्तिकै सरकारलाई डर लाग्छ कि के हो? आजकाल जे मा पनि सेन्सर लगाइदिइहाल्छन्।’
उनले गत शुक्रबार अर्थात् चैत १ देखि प्रदर्शनरत फिल्म ‘राजागंज’माथि सेन्सरले लगाएको अंकुशको उदाहरण दिँदै थुप्रै फिल्म सेन्सरको सिकार भएको उल्लेख गरे।
फिल्म ‘राजागंज’ मा संविधान सभाबाट बाहिरिने दलहरुलाई नेकपा एमालेका अध्यक्ष केपी शमौ ओलीले सार्वजनिक रुपमा ‘रुखबाट झरेको केही आप’को संज्ञा दिएका थिए। उक्त भाषणको दृश्य फिल्म भित्र समेटेकोमा आपत्ती जनाउँदै सेन्सर बोर्डले उक्त संवाद काटेपछि मात्र फिल्म चलाउन अनुमति दिएको थियो।