आधारभूत तह उत्तीर्ण परीक्षामा विशेष विद्यार्थीलाई सहुलियत प्रदान गर्ने निर्णय

हिमाल प्रेस ३ चैत २०८१ १०:०८
14
SHARES
आधारभूत तह उत्तीर्ण परीक्षामा विशेष विद्यार्थीलाई सहुलियत प्रदान गर्ने निर्णय

काठमाडौँ- अटिजम, बौद्धिक अपाङ्गता, डाउन सिन्ड्रोमलगायत विशेष अवस्थाका विद्यार्थीहरूलाई काठमाडौँ महानगरपालिकाले आधारभूत तह परीक्षामा विशेष सहुलियत दिने निर्णय गरेको छ। आधारभूत तह उत्तीर्ण परीक्षा समितिको बैठकले यस्ता विद्यार्थी अध्ययनरत विद्यालयलाई नै परीक्षा केन्द्र तोक्ने निर्णय गरेको हो। बैठकको अध्यक्षता निमित्त शिक्षा अधिकारी केशव ज्ञवालीले गरेका थिए।

महानगरपालिकाको शिक्षा विभागका अनुसार हाल ६ वटा विद्यालयका ६ जना विद्यार्थीलाई यो सहुलियत आवश्यक देखिएको छ। फागुन २२ गते गरिएको पत्राचारका आधारमा यो विवरण प्राप्त भएको हो। शिक्षा नियमावली, २०५९ को नियम ४७ बमोजिम दृष्टिविहिन, बहिरा, सुस्त श्रवण तथा मनोसामाजिक अपाङ्गता भएका विद्यार्थीहरूले आफैँ बुझ्ने सांकेतिक भाषामा परीक्षा दिन पाउनेछन्। यदि यस्ता विद्यार्थीहरूले निर्धारित समयभित्र परीक्षा दिन नसकेमा केन्द्राध्यक्ष वा सम्बन्धित विद्यालयले बढीमा एक घण्टा ३० मिनेटसम्म थप समय उपलब्ध गराउन सक्नेछन्। उत्तरपुस्तिकालगायतका सामग्री शिक्षा विभाग वा तोकिएको परीक्षण केन्द्रमा बुझाउनु पर्नेछ।

विकासात्मक अपाङ्गता भएका विद्यार्थीहरूलाई परीक्षा लेख्न समस्या भएमा विद्यालयले व्यक्तिगत सहयोगीको व्यवस्था गर्न सक्नेछ। महानगरपालिकाले तयार पारेको प्रश्नपत्रबाट परीक्षा दिन नसक्ने विद्यार्थीहरूको लागि सिकाइ प्रकृतिअनुसार विद्यालयले उपयुक्त मूल्यांकन मापदण्ड तयार पार्नेछ। यसरी लिइने परीक्षामा पाठ्यक्रम विकास केन्द्रले तोकेको विशिष्टिकरण तालिकाको परिधिभित्र रहनुपर्नेछ।

आगामी शैक्षिक सत्रका लागि शिक्षा विभागले विकासात्मक अपाङ्गता भएका बालबालिकाको विवरण संकलन र विश्लेषण गर्नेछ। विभागले राष्ट्रिय परीक्षा बोर्ड र पाठ्यक्रम विकास केन्द्रसँग समन्वय गरी सिकाइ तथा मूल्यांकनका लागि छुट्टै मापदण्ड तयार गर्ने निर्णय भएको छ।

हात भाँचिएका वा आफैँ लेख्न नसक्ने विद्यार्थीका लागि विद्यालयबाट प्राप्त निवेदन, मेडिकल रिपोर्ट तथा सहायक विद्यार्थीको योग्यताका आधारमा कक्षा ७ सम्म अध्ययनरत सोही विद्यालयका विद्यार्थीलाई परीक्षा सहायकको रूपमा राख्न सकिने व्यवस्था गरिएको छ।

विदेशी विद्यार्थीहरूका लागि पनि विशेष व्यवस्था गरिएको छ। विद्यार्थी वा अभिभावकले अनुरोध गरेमा अनिवार्य नेपाली विषयको सट्टा इलेक्टिभ इंग्लिस तथा नेपाल भाषाको सट्टा अप्सनल इंग्लिस विषयको परीक्षा दिन सकिनेछ। यसका लागि सम्बन्धित विद्यालयले प्रश्नपत्र तयार गर्नेछ र आफैँ परीक्षा सञ्चालन तथा व्यवस्थापन गर्नेछ। उत्तरपुस्तिका सम्बन्धित विद्यालयका शिक्षकहरूले परीक्षण गरी परीक्षण केन्द्रमा बुझाउनु पर्नेछ। सामाजिक विषयको परीक्षा नेपाली भाषामा दिन नसक्ने विदेशी विद्यार्थीहरूका लागि शिक्षा विभागले प्रश्नपत्र अंग्रेजीमा अनुवाद गरी उपलब्ध गराउनेछ।

परीक्षा सञ्चालन हुने विद्यालयका प्रधानाध्यापकलाई केन्द्राध्यक्षका रूपमा नियुक्त गरिनेछ। प्रधानाध्यापक अनुपस्थित रहँदा सहायक प्रधानाध्यापक वा प्रधानाध्यापकले तोकेको वरिष्ठतम शिक्षकलाई केन्द्राध्यक्षको जिम्मेवारी प्रदान गरिने बैठकले निर्णय गरेको छ।

उत्तरपुस्तिका परीक्षण प्रक्रिया कोडिङ् र डिकोडिङ् गरेर गरिनेछ‍ जसको जिम्मा शिक्षा विभागले लिनेछ। यो कार्य महानगरपालिकाभित्र रहेका ११ वटा स्रोत केन्द्रमार्फत गरिनेछ। बैठकमा अध्यक्ष ज्ञवालीसहित रामप्रसाद ढुंगाना, मञ्जु मग्राती, विष्णुहरि अधिकारी, रविन वस्नेत, श्याम योञ्जन सदस्यका रूपमा रहेका थिए। शिक्षा अधिकृत ओमप्रसाद गौतम बैठकका सदस्य सचिव रहेका थिए।

प्रकाशित: ३ चैत २०८१ १०:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast