भैरहवामा धम्मयात्रा [तस्बिरहरू]

विनोद परियार ३ चैत २०८१ ७:३८
28
SHARES
भैरहवामा धम्मयात्रा [तस्बिरहरू]

लुम्बिनी- बुद्धजन्मस्थल लुम्बिनीमा श्रामणेर (अल्पकालीन) भिक्षु भएकाहरूले शनिबार भैरहवामा बुद्धको अस्तिधातुसहितको धम्मयात्रा गरेका छन्। मायादेवी मन्दिरमा फागुन २० गते पहेलो चीवर ग्रहण गरी बुद्ध शिक्षाबाट प्रवजित भएका ५ सयजना अल्पकालीन भिक्षुहरूले भैरहवामा धम्मयात्रा गरेका हुन्।

धम्मकाय फाउन्डेसन, थाई भिक्षु महासंघ, लुम्बिनी विकास कोष तथा बौद्ध समाज नेपालको आयोजनामा स्थानीयको सहभागितामा लुम्बिनी प्रवेशद्वारमा धम्मयात्राको टोलीलाई स्वागत गरिएको हो। भैरहवा रंगशालादेखि बुद्धचोकको लुम्बिनी गेटसम्म पैदल आएका भिक्षु तथा अल्पकालीन भिक्षुहरूलाई लुम्बिनी गेटमा पुष्पअर्पण गरी स्वागत गरिएको थियो।

सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरेपछि भैरहवा हुँदै गृहनगर कपिलवस्तु गएको स्मरण गर्दै बुद्धको उपदेश विश्वभर फैलाउन गत वर्षदेखि भैरहवामा धम्मयात्राको थालनी गरिएको आयोजकले जनाएका छन्।

धम्मयात्रा कार्यक्रममा लुम्बिनी बौद्ध विश्व विद्यालयका उपकुलपति डा. सुवर्णलाल बज्राचार्यले भगवान् बुद्धले प्राप्त गरेपछि सिद्धार्थनगर भैरहवा हुँदै लुम्बिनी, कपिलवस्तु आएको बताए। उनले बुद्ध धर्मको संघ पनि यसै क्षेत्रका मानिसको सहभागिताबाट सुरु भएको जानकारी दिए। बज्राचार्यले बुद्धका उपदेश मानवकल्याण, शान्ति र सदभावको प्रतीक भएको बताउँदै श्रामणेर भएकाहरुको धम्मयात्राले बुद्धका सन्देश फैलाउने विश्वास व्यक्त गरे।

कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बुद्धले राजपरिवारको सुखसयल त्यागेर बुद्धत्व प्राप्त गरेको स्मरण गर्दै धम्मयात्राले त्यही सन्देश दिएको बताए। उनले भगवान बुद्धले बुद्धत्व प्राप्त गरेपछि आफ्नो भूमि फर्कँदा रूपन्देहीको सिद्धार्थनगर हुँदै फर्केको इतिहासलाई धम्मयात्राले स्मरण गराएको बताए।

लुम्बिनी विकास कोषका कार्यकारिणी सदस्य श्याम रोक्काले धम्मयात्राले लुम्बिनी बभगवान् बुद्धको जन्मस्थल मात्रै नभई विश्वशान्तिको उदगम थलो भएको सन्देश दिने काम गरेको बताए। उनले लुम्बिनीलाई मन्त्र, ध्यानमा मात्रै सीमित नराखी बुद्धका उपदेश, लुम्बिनीको महत्त्वलाई विश्व समुदायमाझ पुर्‍याउन लाग्नुपर्नेमा जोड दिए।

सोही कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख इस्तियाक मोहम्मद खानले बुद्धत्व प्राप्त गरेपछि रूपन्देहीको सिद्धार्थनगर हुँदै गृहनगर कपिलवस्तु फर्केको बताए। उनले आगामी दिनमा समेत धम्मयात्रालाई अझ ठूलो संख्यामा गर्नका लागि स्थानीय सरकारको तर्फबाट सहयोग हुने बताए।

धम्मयात्रामा धम्कायका सल्लाहकार डा. आदिसक, थाइल्यान्ड तथा नेपालका भिक्षु, भिक्षुणी, लामा, उपासक उपासिकाहरुको सहभागिता थियो। भैरहवामा दोस्रो पटक गरिएको धम्मयात्राले बुद्धका उपदेशहरुलाई फैलाउन र विश्वशान्तिका लागि बुद्धनगरी लुम्बिनीबाट सकरात्मक सन्देश दिन सफल भएको बौद्ध समाज नेपालका अध्यक्ष शंकर गाहाले बताए।

धम्मयात्रामा सहभागी अल्पकालीन भिक्षुहरुले पहेंलो चीवर लगाएर बुद्ध धर्मका १० वटा नियम पालना गर्नुपर्ने हुन्छ। बुद्धका सामान्य अनुयायीहरुले पञ्चशील र अष्टशीलको पालना गर्ने भए पनि अल्पकालीन भिक्षुले फागुन १६ गतेदेखि कपाल मुण्डन गरी आफूलाई पूर्ण रुपमा बौद्ध नियममा रूपान्तरण गरेका थिए। भिक्षु बन्नका लागि भने २२७ वटा नियम पालना गर्नुपर्ने हुन्छ।

 

प्रकाशित: ३ चैत २०८१ ७:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast