वालिङमा गुन्जियो ‘ब्याक टु नाइन्टिज’, अब देशका प्रमुख सहरमा पनि

विजय नेपाल २ चैत २०८१ १८:२८
4
SHARES
वालिङमा गुन्जियो ‘ब्याक टु नाइन्टिज’, अब देशका प्रमुख सहरमा पनि

पोखरा– गत माघ अन्तिम साता पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा भएको कन्सर्टमा अनपेक्षित दर्शक ओइरिए।  ३० वर्षअघि पोखरामा स्थापना भएर  देशविदेशमा चर्चित बनेका ब्यान्डहरूले एकै स्टेजमा प्रस्तुति दिने सो कार्यक्रममा २० हजारजति दर्शक आउने आयोजकको अनुमान थियो। तर, दर्शक यसरी ओइरिए कि कार्यक्रम हुँदै गर्दा प्रवेश नै बन्द गर्नुपर्ने अवस्था आयो।

गण्डकी प्रज्ञा–प्रतिष्ठान सहकार्यमा पोखरा सांगीतिक कलाकार संघ नेपालले ‘ब्याक टु नाइन्टिज’ अर्थात् बिरासतलाई फर्केर हेर्दा नाम दिएर पोखरेली चर्चित ७ ब्यान्डहरू एकै स्टेजमा उतारेको थियो।

करिब पाँच घण्टासम्म सातै ब्यान्डले आफ्ना चर्चित तीन÷तीन गीत प्रस्तुत गरेर पोखरेली दर्शकलाई वर्षौँपछि लोकपप फ्लेवरको संगीतको तिर्खा मेटाए।

ऐतिहासिक बनेको सो कार्यक्रममा करिब ३० हजार दर्शकले अवलोकन गरेको संघका अध्यक्ष हर्कराज गुरुङ (भाइ) बताउँछन्।

नब्बेको दशकमा उदाएका पोखरेली ती सफल ब्यान्डहरू कन्दरा (विवेक श्रेष्ठ), डि–मर्चा ब्यान्ड (भाष्करध्वज श्रेष्ठ), लेकाली ब्यान्ड (नवीन गुरुङ र भाई गुरुङ), देउराली ब्यान्ड (शान्त बज्राचार्य), ब्रोसिस ब्यान्ड (प्रकाश राना), मध्याह्न ब्यान्ड (कर्णदास र कुमार गुरुङ) तथा भेगाबोण्ड ब्यान्ड (श्यामसुङ तामाङ) को प्रस्तुति रहेको थियो।

२६ माघको उक्त कार्यक्रम अभूतपूर्व बनेपछि आयोजक अझ हौसियो। यत्तिकै रोकिएन। पोखराबाहिर पनि ‘ब्याक टु नाइन्टिज’ लैजाने भयो। त्यसैअनुरुप, शुक्रबार छिमेकी जिल्ला स्याङ्जाको वालिङ बजारमा उस्तै शैलीमा कार्यक्रम भयो।

वालिङको च्याम्बर अफ कमर्सद्वारा वालिङमा जारी ‘प्रथम पिङ्क सिटी महोत्सव’ कै अवसरमा पोखरेली ब्यान्ड उतारेको हो। जहाँ करिब १० हजार दर्शकले साथ दिएको पोखरा प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठको दाबी छ। डी–मर्चा, लेकाली, देउराली, ब्रोसिस, मध्याह्न र भेगाबोण्ड ब्यान्ड त्यहाँ गुञ्जिएका हुन्। पोखरामा कन्दरा गुञ्जिएकोमा आफ्ना कलाकार देशबाहिर भएकाले वालिङमा भने अनुपस्थित रह्यो।

साँझ पर्दा नपर्दै सुरु कार्यक्रममा पहिलो प्रस्तुति थियो, भेगावोण्डको। भोकलिस्ट श्यामसुङ तामाङले ‘जीवन हो घामछायाँ’ बाट सुरु गर्दा दर्शकले हात हल्लाएर माया दर्शाए।

दोस्रो प्रस्तुतिका लागि स्टेज चढ्यो–देउराली। भोकलिस्ट शान्तराज बज्राचार्यले ‘ढुंगेसाँघुको मेलामा’ वा ‘लुकीचोरी’ समेतका आधा दर्जन गीत गाइसक्दा दर्शक नाचिरहेका थिए।

त्यसपछि, ब्रोसिसका प्रकाश रानाले ‘बस सुन्दरी’, ‘चाइना कम्पनी’ समेत गीत गाए। चौँथोमा लेकालीका हर्कराज गुरुङ (भाइ) र नवीन गुरुङले ‘यो मुटुमा’, ‘पहिलो नजर’ लगायत गीत गाउँदा दर्शकको हुटिङ गरिनै रहे।

पाँचौँमा मध्याह्नका कर्णदास झुल्किए। ‘मनमनै मन पराइसकेछु’, ‘जिन्दगीको के भरोसा’ गाउँदा दर्शक नोस्टाल्जिक बने।

अन्तिममा डी–मर्चाका भाष्करध्वज श्रेष्ठले ‘शिवजीको बस्ती छ’ बाट प्रस्तुति सुरु गर्दै ‘यो डल्लीले हो मानिन जान’, ‘तारा खस्यौली’ ‘झ्याम्म झ्याम्म’ गाउँदै बिट मार्दा वान्समोर गुञ्जिरह्यो।

ट्रिनिटी क्लब वालिङ सहकार्य र स्थानीय व्यवसायीको सहयोगमा पोखराबाट पहिलोपल्ट बाहिर ‘ब्याक टु नाइन्टिज’ पुगेको प्रचार संयोजक सन्देश श्रेष्ठले बताए।

यो सांगीतिक अभियान देशव्यापी लैजाने तयारीअनुरुप अब बेनी, भरतपुर, विराटनगर, इलाम, विर्तामोड, भक्तपुर, ललितपुर, काठमाडौंमा जाने तयारी भएको पोखरा सांगीतिक कलाकार संघका सचिव भाष्करध्वज श्रेष्ठले जानकारी दिए।

पर्यटनको राजधानी पोखरालाई रि–ब्राण्डिङ गर्ने, पर्यटन प्रवद्र्धन गर्ने, गीत, संगीतमार्फत निराशा हटाई आशाको धुन सञ्चार गर्नेलगायत उद्देश्य यो अभियानको छ।

प्रकाशित: २ चैत २०८१ १८:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast