
नेपालबाहिरका नेपाली भाषीको नेपालप्रति रुमानी सम्बन्ध र रुमानी आकर्षण अवश्य हुन्छ। कसको हुँदैन र हिमालप्रति आकर्षण? कसको मोह हुँदैन र त्यो पुशपति र स्वयम्भूप्रति? यहाँको डाँडाकाँडा हिमाल, छहरा, कन्दराप्रति कसको आकर्षण हुँदैन? तर त्यो आकर्षणले आफ्नो आस्तित्विक अभियानलाई चाहिँ चोट पुर्याउनु हुँदैन।
म कहाँ के समस्तुति गर्दछु भने यहाँ कोही भोटाङ (भुटान) का हुनुहुन्छ र त्यहाँ राजनीतिक अधिकार प्राप्त गर्नु हुँदैछ भने उसले भोटाङे नै भएर अघि बढ्नुपर्दछ। जस्तो हामी भारतीयहरू भारतीय भएर बस्छौँ, भारतको सांस्कृतिक, आर्थिक र सामाजिक वैभवमा हामी गर्व गर्दछौँ। त्यस्तो गर्वका साथै हामी नेपाललाई बन्धुत्वका दृष्टिले हेर्दछौँ।
बंगलादेशमा बस्नेहरू बंगलादेशी नै हुनुहुन्छ। उहाँहरूले बंगलादेशलाई नै माया गनुपर्छ र नेपालप्रति सद्भावपूर्ण सम्बन्ध यथावत् राख्नुपर्छ। बंगलादेशी भएर बाँच्न सक्नुपर्छ। बर्मेलीहरूले पनि मेरो देश नेपाल भनेर बस्नु हुँदैन। किनभने नेपालमा तपाईँहरूको मतदान अधिकार (भोटिङ राइट) छैन। नेपालको एउटा सहानुभूतिशील संवेदना मात्रै हो। नेपालले सीधै भन्नुपर्यो भने राजनीतिक सुरक्षा दिन सक्दैन विदेशमा। त्यो अधिकार पनि छैन। किनभने अर्को देशको नागरिकलाई राजनीतिक सुरक्षा दिन सकिँदैन। यसकारण जुन देशमा हुनुहुन्छ, त्यो देशको संस्कृति स्वीकार गर्नुपर्छ तर आफ्नो संस्कृति छोड्नु हुँदैन।
नेपाली भाषाले सबै जातिलाई बाँधेको छ। बाँध्नुको पछाडि अलिकति विगततर्फ पनि फर्कौँ। हामी भारतमा धेरैजस्तो उच्च वर्गका रहेनछौँ। भारतमा जति पनि छौँ, हामी सर्वहारा वर्गका रहेछौँ। सर्वहारा भएपछि हामी अंग्रेजको पालामा पनि थियौँ। अङ्ग्रेजभन्दा अगाडि मुसलमानको पालामा पनि थियौँ। भारत स्वतन्त्र भइसकेर पनि हामी कतिपय क्षेत्रमा तटीकृत भएकै छौँ। तटीकृत गर्नेहरूले पहिला मुसलमान कालमा त हामी बेग्लै भएर मूलधारादेखि धेरै अन्तरमा थियौँ।
ब्रिटिसकालमा हामी सबै मालिक/स्वामी वर्ग र श्रमिक/कृषक वर्गमा आएका थियौँ। जो श्रमिक छन् तल्लो वर्गकाहरू त्यहाँ कसैको जात छुट्टिएन त्यति बेला। बाहुनले जति संकष्ट भोग्नुपर्दथ्यो, तामाङले पनि त्यत्ति नै भोग्नुपर्दथ्यो। राई, लिम्बू, क्षत्री, बाहुन, कामी, दमाईँ, सार्की सबै सर्वहारा वर्गभित्र पर्यो। सबैको साझा भाषाचाहिँ नेपाली हुन गयो।
नेपाली भाषाले बाँध्दै बाँध्दै बाँध्दै लगेर सन् १९१८ देखिचाहिँ औपचारिक रूपमा नेपाली भाषा म्याट्रिक, आईए र बीएसम्म पढ्ने अधिकार पाइयो। जति बेला नेपालमा पनि त्यो व्यवस्था लागू भएको थिएन। त्यस बेलादेखि हामीले भारतमा भारतीय भएर आफ्नो अधिकार प्राप्त गर्नमा अग्रज भूमिका निर्वाह गर्ने पारसमणि प्रधानलाई बिर्सन सक्दैनौँ। उनैले गर्दा हामी बिस्तारै महाविद्यालय र विश्वविद्यालय स्तरसम्म पुग्यौँ।
नेपाली भाषालाई विश्वविद्यालयको पीएचडी तहसम्म पुर्याउनुमा हाम्रा गुरुहरू र अग्रजहरूलाई नेपालका विद्वान्हरूले पनि सहयोग गर्नुभएको थियो। त्यसका लागि हाम्रा साक्षीहरू यहाँ स्वयम् उपस्थित हुनुहुन्छ। उहाँहरूप्रति म नमन गर्न चाहन्छु। त्रिपाठी (प्रा.डा. वासुदेव त्रिपाठी) गुरु मेरा गुरु पं. लक्ष्मीकान्त शर्माका मित्र हुनुहुन्छ। मलाई बिस्तारै बिस्तारै दयाराम गुरु (प्रा.डा. दयाराम श्रेष्ठ) ले काशीमा स्थापित गरिदिनुभयो।
अब लागौँ भारतमा हामीले चलाएको नेपाली भाषा शुद्धिकरण अभियानतर्फ। हामीले काशीबाट इशाब्द २०२० देखि एउटा अभियान चलाएका छौँ। नेपाली भाषा शुद्धिकरण अभियान नेपाली भाषालाई रक्षित गर्नका लागि चलाइएको हो। अभियान हामीले मराठी, तेलगु, तमिल र बंगला भाषाबाट अनुकरण गरेका हौँ। ती भाषाका प्रयोक्ताहरू विश्वविद्यालय स्तरका वा उनीहरूका भाषाका विद्वान्ले भनेका कुरा मान्दा रहेछन्, टेर्दा रहेछन्।
औरङ्गजेबको पालामा शिवाजी महाराजले चलाएको शुद्धिकरण अभियानलाई नमानेको भए अहिले मराठी भाषाको अवस्था कस्तो हुन्थ्यो होला? उनले मराठी भाषालाई कसरी शुद्धिकरण गरे त? मराठी भाषाबाट अरबी, फारसी, उर्दू शब्द निरस्त गरिएछ। त्यस क्रममा मराठीकै शब्द खोज्न मराठी भाषा अक्षम भयो भने संस्कृतको सहयोग लिने अभियान चलाइएको थियो। त्यसरी मराठी भाषा बाँचेको रहेछ।
अंग्रेजको पालामा फेरि बिग्रँदै बिग्रँदै अरबी फारसी विदेशी आगन्तुक शब्दहरू आएछन्। त्यसलाई सुधार गर्ने हाम्रा दामोदर सावरकर जसले कारागृहमा धेरै यातनासहित दण्ड भोग्नुपरेको थियो। दण्डकालीन अवस्थामा पनि उनले शुद्धिकरण अभियान चलाइरहेका थिए।
यस्तो अभियान बाङ्ला भाषामा पनि चलाइएको थियो। बाङ्ला भाषाका ईश्वरचन्द्र विद्यासागरले ‘हाम्रो पूर्व बंगालको भाषाजस्तो प्रदूषित हुनु हुँदैन’ भनेर शुद्धिकरण चलाएका थिए। पश्चिम बंगको भाषाचाहिँ शुद्ध हुनुपर्छ भनेर शुद्धिकरण अभियान चलाएकाले बंगला भाषा यति मिठो छ। बंगला भाषाको प्रभावमा लेखिएका नेपाली साहित्य पनि उत्कृष्ट छन्।
उदाहरणका लागि ‘भ्रमर’ को भाषालाई किन राम्रो मानिन्छ? भ्रमरको भाषा शुद्ध नेपाली भाषा र संस्कृत मिश्रित छ। त्यसको प्रतिपक्षमा अहिले जुन हाम्रा प्रयोग भइरहेका छन् त्यो गलत छ। नेपालको नेपाली भाषा देख्दा हामी कतिपय अवस्थामा खिन्न पनि हुनुपर्छ। किनभने जुन एउटा सनातन सभ्यताले शासन गरेको देशमा शब्दहरू सबै अरबी, फारसीमा आश्रित हुनु दुर्भाग्यजनक स्थिति छ।
काशी हिन्दु विश्वविद्यालयको अभियानलाई भारतमा भएका सबै विश्वविद्यालयको नेपाली शिक्षा केन्द्रहरूले समर्थन गरिरहेका छन्। काशीबाट सिक्किम विश्वविद्यालय र उत्तरबंग विश्वविद्यालयबाट अहिले जति पनि शोधग्रन्थ स्वीकृत भएका छन्, ती सबै शोधग्रन्थ अरबी, फारसी शब्दविहीन भइरहेका छन्। शुद्ध नेपाली भाषामा नेपाली शब्द पाउन सकेनौँ भने हामी हाम्रो जात भाषाबाट खोज्छौँ। जात भाषामा पनि मिठामिठा शब्द छन्। ती शब्द प्रयोगमा ल्यायौँ भने हामी अरबी, फारसीमा आश्रित हुनै पर्दैन।
हामीले नेपाली शब्द प्रयोग बिर्सँदै गएका छौँ। केही उदाहरण- ‘चासो’ बिर्सियौँ। ‘सरोकार’ प्रयोग गर्न थालेका छौँ। नेपाली मित्रहरूले ‘प्रायः’ भन्ने शब्द बिर्सिसक्नु भएछ। उहाँहरूले ‘करिब’ पो उच्चारण गर्नुभयो। ‘दुर्बल’ भन्न बिर्सिएछन्। यसको सट्टा ‘कमजोर’ प्रयोग हुन थालेछ। हामीले मनले बोध गर्नुपर्ने हो नि। आफ्नो मनले अनुभव गर्नुपर्ने, अनुभूति गनुपर्ने हो। इन्द्रियहरूले ‘अनुभव’ गर्नुपर्ने हो। तर हामी ‘महसुस’ गर्न थाल्यौँ। ‘करिबकरिब कमजोर महसुस’ गर्यौँ भनेर भनिन्छ। नेपाली शब्द हाम्राहरूले बिर्सिसके। त्यस्ता धेरै शब्द छन्। थालनी भन्न बिर्सियौँ, सुरु वा सुरुवात चल्यो। हामी कहाँ सुरु गर्छौँ हामी त थालनी र आरम्भ पो गर्छौँ। भाषालाई यसरी बिगार्दै गयौँ भने हाम्रो भाषा डुब्छ।
अरू भाषाका शब्दहरू ल्याउनु हुँदै भनेर अभियान चलाउँदा म पनि आलोचित भएको छु। मेरा गुरुले पनि मलाई किन त्यस्तो गर्दैछस् भनेर सोध्नुभयो। मैले ढोगेँ अनि गुरुलाई भनेँ, अरूको भाषाका शब्द आउनु भाषाको प्रवृत्ति हो। शब्द आफैँ आउने हुन् तर आगन्तुक भनेका पाहुना हुन्। पाहुना ढुक्कसँग घरमा बसेर त हुँदैन नि। पाहुना बसेर घरको मान्छे निष्काशित हुनु भएन। नेपाली शब्दलाई अरू भाषाका शब्दहरूले अतिक्रमण गरेर निष्काशित गरिसकेका छन्।
अरबी, फारसी शब्द हटाउने अभियानले गर्दा काशीमा शुद्धिकरण बुझेर राम्रा सम्पादकहरू उत्पादन भएका छन्। सिक्किममा राम्राराम्रा सम्पादकहरू उत्पादन भएका छन्। अभियान चलायो भने त हुँदो रहेछ। नेपाललाई त हामीले के गर्न सक्छौँ र आग्रहबाहेक। आदेश गर्न त सक्दैनौँ। अतिथि भएकाले अनुनयचाहिँ गर्दछु। मेरा शोधार्थीहरूलाई चाहिँ आदेश दिने गरेको छु।
जतिसक्दो आफ्नो शब्दलाई प्रेम गरिदिनुहोला। किनभने आफ्नो शब्दलाई प्रेम नगरेर अरू शब्दलाई ल्याउन थाल्यौँ भने आफ्नो शब्द हराउँदो रहेछ। नेपालका कतिपय सञ्चारमाध्यमका भाषा देख्छु, त्यो क्रियापद मात्रै नेपाली छन्। अरू सबै अन्य भाषाबाट आएका शब्द छन्। मलाई कतिपय लेखकले कृतिको भूमिका लेख्न दिनुहुन्छ। लेख्न बस्यो, पढ्दाखेरि चित्त बुझ्दैन अनि सुधारेर पठाउनू भनेर फिर्ता गरिदिने गरेको छु। यस सन्दर्भमा माधव घिमिरेको एउटा कविता सान्दर्भिक हुन्छ :
देउरालीमा पुछ र पसिना उक्ल यात्री उकाली
लैजाऊ यो वनपखतिर टाकुरामा उचाली
तिम्रा गोडा तलतिर हुनन् खोचखाडी अँध्यारा
होलिन् तिम्रो शिर उपरमा चाँदनी दीप्त तारा।
हामीले भारतमा नेपाली भाषा शुद्धिकरण चलाइरहन्छौँ। सँगसँगै अभ्यास पनि गरिरहेका छौँ। अभियfनका बारेमा कोही प्रतिपक्षी हुनुहुन्छ भने अभियानमा लाग्ने अनुयायीहरूलाई मार्गनिर्देश गरिदिनुहोला। किनभने भाषा र साहित्यका लागि नेपालले धेरै प्रगति गरेको छ। यहाँबाट प्रशस्त ग्रन्थ प्रकाशित भइरहेका छन्। भारततिर नेपाली गद्यलेखनमा अलि पछाडि परेको छ।
भारतमा पनि नेपाली भाषाका पक्षमा विभिन्न ठाउँका अभियन्ताहरू एक भएका छौँ। यसका लागि नेपाली जातिसँग सम्बन्धित राष्ट्रिय स्तरका संस्थाहरूको पनि सक्रियता छ। उदाहरणका लागि, भारतीय गोरखा परिषद्, अखिल भारतीय नेपाली भाषा समिति आदि। भारतमा नेपाली भाषाले मान्यता पाउनका लागि यी संस्थाहरूको योगदान छ।
राजनीतिलाई सबै शास्त्रको जड भनिन्छ। राजनीति शुद्ध भएमा सबै शास्त्र शुद्ध हुन्छन्। ज्ञानविज्ञा, कलासाहित्य, खेलकुद सबै राम्रो हुन्छ। भारतमा पनि राजनीतिक मतभिन्नता धेरै छन्। जब जातिको प्रश्न आउँछ त्यतिबेलाचाहिँ हामी एक हुन्छौँ। यो कुरा हामीले बुझेनौँ भने माथिल्लो घर र तल्लो घरको वैमनश्य बढ्छ। अन्तिममा पारसमणि प्रधानको एउटा कविता :
लिम्बू जिमदार तामाङ खस मगर गुरुङ हायु चेपाङ र कामी
सुनुवार लाप्चे कुसुन्डा गिरी पुरी ठकुरी थारू नेवार थामी
गोर्खाली जाति हामी भनीकन सबले बोली नेपाली भाषा
हाम्रो भाषा यही हो भनी तनमनले मान्दछन् मातृभाषा।
[काशी हिन्दु विश्वविद्यालय, भारतीय भाषा विभागका अध्यक्ष प्राध्यापक प्रधानले काठमाडौँमा आयोजित हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मीलनमा व्यक्त विचारको सम्पादित अंश]