
काठमाडौँ- अहिले लुम्बिनी प्रदेशका ३ क्रिकेट रंगशालामा प्रधानमन्त्री (पीएम) कप जारी छ।हाल १० टिम आबद्ध प्रतियोगितामा नेपालका राष्ट्रिय टिमका खेलाडीदेखि जिल्ला स्तरीय खेलाडी समेत सामेल छन्। पीएम कप घरेलु शृंखलाको सबैभन्दा ठूलो मध्येमा पर्ने प्रतियोगिता भएकाले पनि खेलाडी अवसरका रूपमा आबद्ध भएका छन्।
राष्ट्रिय टिममा पर्ने ढोका खुल्ने स्थान पनि हो पीएम कप। जुन प्रतियोगिताकै कारण विगतमा धेरै खेलाडी राष्ट्रिय टिममा परेका छन्। एक दिवसीय प्रतियोगिताअन्तर्गतको खेल भएकाले पनि खेलाडीले आफ्नो खेल कौशला देख्न सक्छन्। तर, यति ठूलो प्रतियोगितामा अहिले नेपालकै सर्वाधिक चर्चा बोकेका खेलाडी सन्दीप लामिछाने आबद्ध छैनन्।
राष्ट्रिय टिमका सबैभन्दा बढी चर्चित खेलाडी किन पीएम कपमा छैनन्, यो चासोको विषय हो। उनी विगतमा बागमती प्रदेशबाट पीएम कप खेल्ने गर्थे। उनकै नेतृत्वमा पीएम कपमा निस्किन्थ्यो। तर, यसपटक उनी बागमतीमा आबद्ध छैनन्।
प्रतियोगिताअघि सन्दीपले पीएम कपका लागि शुभकामना सन्देश छाडेका थिए। उनले सामाजिक सन्जालमा शुभकामना दिँदै प्रतियोगिता उत्कृष्ट खेल भावना, कडा प्रतिस्पर्धा र अविस्मरणीय क्षणहरूले भरिपूर्ण रहने विश्वास व्यक्त गरेका थिए। तर आफ्नो विषयमा भने बोलेका थिएनन्।
यसबारे बागमती र आयोजक संस्था क्रिकेट एसोसिएसन नेपाल (क्यान)ले पनि आधिकारिक जानकारी दिएको छैन। बागमती हाल प्रिथु बासकोटाको नेतृत्वमा मैदान उत्रिएको छ। यसअघि बासकोटा बागमतीमा थिएनन्। उनलाई नेतृत्वकै लागि बागमतीमा आबद्ध गराइएको हो। हुन त पछिल्लो ताका सन्दीपको प्रदर्शन सुखद छैननन्।
लेग स्पिन बलिङ गर्ने सन्दीप महँगा साविक हुँदै आएका छन् भने विकेटकै लागि संघर्ष गरिरहनु परेको छ। यसअघिको नेपाल प्रिमियर लिग (एनपीएल)मा पनि सन्दीपले कप्तानी गरेको विराटनगर किंग्सले पनि अपेक्षाकृत सफलता हात पार्न सकेन।
जुन प्रतियोगितामा सन्दीपले खास दखल देखाउन सकेनन्। यसपछिका अर्जुन ट्रफीसहितका प्रतियोगितामा पनि सन्दीप महँगा सावित भए। यसको अलावा सन्दीपमाथि यसअघि अनुशासनको कारबाही पनि भयो। मधेश प्रदेशमा भएको जय ट्रफीमा सन्दीपले बागमतीकै कप्तानी समालेका थिए।
बागमती र आर्मीबीचको खेलमा अम्पायरले गलत निर्णय गरेको भन्दै सामाजिक सञ्जालमा लेखेका थिए। उनलाई स्पष्टीकरण सोधिएको थियो। खेलमा बागमतीका शुभ कंसाकार आउट भएलगत्तै दिनको खेल सकिएको घोषणा गरेको विषयमा सन्दीपले आपत्ति जनाएका थिए।
खेलको अम्पायर विनयकुमार झा र हिरालाल राउत थिए। विकेट लिएको पनि अंक जोडिने हुँदा आफ्नो विकेट गुमेपछि दिनको खेल समाप्ति घोषणा गर्दा उनले असन्तुष्टि पोखेका थिए भने मैदानमा अम्पायरहरूसँग वादविवाद गरेका थिए।
खेलको भोलिपल्ट उनले नेपालमा अम्पायरको स्तर सुधार हुन नसकेको, अम्पायरको विषयमा कदम नचालिए गलत निर्णय हुने र खेलाडीहरू पीडित बन्ने भनेर लेखेका थिए।
त्यसपछि म्याच अम्पायर र प्राविधिक समितिले सन्दीपले अनुशासन उल्लंघन गरेको भन्दै उनलाई तीन डिमेरिट अंक दिएका थिए। त्यसमा उनले असन्तुष्टि जनाएका थिए।
नियमअनुसार अम्पायरको निर्णय चित्त नबुझे लामिछानेले क्यान र टेक्निकल कमिटीमा अपिल गर्न पाउँछन्। यही कारण पनि उनी बागमतीमा आबद्ध हुन नसकेको निकटस्तहरू बताउँछन्। यता सन्दीप पछिल्लो समय अस्वस्थ रहेको पनि बताइन्छ। उनले यसअघि हर्नियाको शल्यक्रिया समेत गराएका थिए।
उनी अहिले पीएम कपमा नभए पनि क्रिकेटसँग टाढिएका भने छैनन्। उनी केही दिनअघि मात्रै त्रिवि क्रिकेट मैदान पुगेर मैदानको अवलोकन गरेका थिए। त्रिविमा बन्दै गरेको स्टडियमको बारेमा अवलोकन गरेर सन्दीप फर्किएका थिए। क्यानका अनुसार घरेलु प्रतियोगितामा सहभागी नभए पनि सन्दीप अब हुने राष्ट्रिय टिमका प्रतियोगितामा आबद्ध हुनेछन्।
यसअघिको क्यानको खेलाडी वर्गीकरणमा पनि सन्दीप ए ग्रेटमा परेका थिए। पूर्वकप्तान समेत रहेका सन्दीप नेपाली टिमको महत्त्वपूर्व हिस्सा मानिन्छन्। विगतमा उनकै कारण नेपालले निर्णायक खेलमा बाजी मारेको छ। अबका केही समयमा फेरि नेपालले एकदिवसीय प्रतियोगिताका अन्तर्राष्ट्रिय खेल खेल्दैछ। जुन प्रतियोगितामा सन्दीप जोडिने क्यानको भनाइ छ।