
काठमाडौँ- वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले हङकङलाई पराजित गरेको छ। लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको हो।
युगाण्डाको एन्टेब्बे क्रिकेट ओभलमा हङकङले प्रस्तुत गरेको १०५ रनको लक्ष्य नेपालले तीन बल बाँकी रहँदा चार विकेट गुमाएर पूरा गर्यो।
नेपालका लागि सम्झना खड्काले सर्वाधिक ४७ रन बनाइन्। उनले ४३ बलको सामना गरेकी थिइन्। यसैगरी पूजा महतोले अविजित २० र कप्तान इन्दु बर्माले १८ रन बनाए।
हङकङका लागि मेहकदीप कौर र लिया वाङ कीले एक–एक विकेट लिए।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको हङकङले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १०४ रनको योगफल तयार पारेको थियो।
हङकङका लागि शन्जिन शहजादले सर्वाधिक ५४ रन बनाइन्। यसैगरी चान का यिङले १६ र यास्मिन दासवानीले १४ रनको योगदान दिए।
नेपालका लागि राजमती ऐरीले तीन, कप्तान इन्दु बर्माले दुई तथा पुजा महतो र ईश्वरी विष्टले एक–एक विकेट लिए।
जितसँगै ६ खेलमा चार अंक जोडेको नेपाल पुछारमा रह्यो। हङकङविरूद्धको पहिलो खेलमा नेपाल दुई रनले पराजित भएको थियो। यसैगरी नेपालले नामिबियासँग दुवै खेलमा हार बेहोर्दा घरेलु टोली युगाण्डासँग एक जित र एक हारको नतिजा निकालेको थियो।