अमेरिकामाथि युरोपको थप भन्सार शुल्क, कहाँ पुग्ला व्यापार युद्ध?

हिमाल प्रेस १ चैत २०८१ १७:०१
16
SHARES
अमेरिकामाथि युरोपको थप भन्सार शुल्क, कहाँ पुग्ला व्यापार युद्ध?

युरोपेली संघ (ईयू) ले मार्च १२ मा अमेरिकाको औद्योगिक र कृषि उत्पादनमा भन्सार शुल्क बढाएको छ। ईयूको यस्तो निर्णय अमेरिकाको डोनाल्ड ट्रम्प प्रशासनले विश्वका सबै देशबाट स्टिल र आल्मुनियम आयातमा २५ प्रतिशतसम्म शुल्क बढाएको केही घण्टापछि आएको हो।

जानकारहरू युरोपको यस्तो निर्णयले अमेरिकासँगको सम्बन्धमा थप दबाब बढाउने बताउँछन्। गत महिना ट्रम्प प्रशासनले युरोपलाई भविष्यमा आफ्नो सुरक्षाको ध्यान आफैँले राख्नुपर्ने चेतावनी दिएको थियो।

ईयूको पछिल्लो कदमका कारण अमेरिकाबाट युरोपेली मुलुकमा आयात हुने करिब २६ अर्ब युरो (२८ अर्ब डलर) मूल्यका सामानमा भन्सार शुल्क वृद्धि हुनेछ। यसमा स्टिल र आल्मुनियम मात्र नभई कपडा, घरेलु उपकरण, कृषि उत्पादन, मोटरसाइकल,  रक्सी, जिन्स र पिनट बटरजस्ता वस्तु पनि प्रभावित हुनेछन्।

ईयूका अधिकारीहरूका अनुसार भन्सार शुल्क रिपब्लिकन पार्टीको सरकार भएका राज्यहरूमा उत्पादन गरिएका वस्तुहरूलाई लक्ष्य गरेर लगाइएको हो। जस्तै- क्यान्सस र नेब्रास्काबाट युरोप
भित्रिने गाईको मासु (बिफ) र कुखुरा तथा अलाबामा र जर्जियाबाट भित्रिने काठका उत्पादनमा भन्सार शुल्क वृद्धि गरिएको छ।

सन् २०१८ मा पहिलोपटक भन्सार शुल्क लगाइनुअघि अमेरिकाका रक्सी उत्पादकहरूले अमेरिका र युरोप दुवैमा कुनै भन्सार शुल्क तिर्नु पर्दैनथ्यो। स्टिल र आल्मुनियम  विवादका कारण उनीहरूले अप्रत्यासित नोक्सान व्यहोर्नुपरिरहेको छ।

युरोपेली आयोगकी अध्यक्ष उर्सुला फन डेयर लायनले ईयूले आफ्नै रक्षा गर्नका लागि कदम चालेको बताएकी छन्। उनले भनिन्, ‘अमेरिकाले २८ अर्ब डलरको शुल्क लगाइरहेको छ। हामी २६ अर्ब युरोको प्रत्युत्तर कदम उठाइरहेका छौँ।’ लायनले अमेरिकाको यस्तो कदमप्रति खेद व्यक्त गरेकी छन्। उनले युरोप र अमेरिका दुवैतर्फ रोजगारी जोखिममा पर्ने र मूल्य वृद्धि हुने बताइन्। उनले भनिन्, ‘व्यापारका लागि मात्रै होइन भन्सार शुल्कले आपूर्ति शृंखलालाई अवरोध गरिरहेको छ। तिनले अर्थतन्त्रमा अनिश्चितता ल्याउँछन्।’

युरोपेली संघमा रहेको अमेरिकी चेम्बर अफ कमर्सले अमेरिकी शुल्क र ईयूको जबाफले अटलान्टिकको दुवै छेउमा रोजगारी, समृद्धि र सुरक्षालाई मात्र हानि पुर्‍याउने चेतावनी दिएको छ।

अमेरिकाले ४ मार्चमा क्यानडाबाट आयात हुने उत्पादनमा २५ प्रतिशत भन्सार शुल्क लगाएको थियो। त्यसैगरी कच्चा तेल, प्राकृतिक ग्यास र प्रशोधित पेट्रोलियमजस्ता ऊर्जा उत्पादनहरूमा १० प्रतिशत शुल्क लगाइएको थियो। ट्रम्प प्रशासनले यसको कारणका रूपमा लागूऔषध तस्करी र क्यानडाबाट अमेरिका भित्रिने फेन्टानिल ड्रगलाई आधार बनाएको थियो।

क्यानडाले मार्च ५ देखि लागू हुने गरी २०.७ अर्ब डलर (३० अर्ब क्यानेडियन डलर) मूल्यका अमेरिकी उत्पादनमा २५ प्रतिशत भन्सार शुल्क लगाएको छ, जसमा मासु, दुग्धजन्य पदार्थ र मदिरा समावेश छन्। मार्च अन्त्यसम्ममा १२५ अर्ब क्यानेडियन डलर मूल्यका अमेरिकी आयातमा भन्सार शुल्क लगाउने योजना छ। यो चरणमा मेसिनरी, कपडा र दैनिक प्रयोगका सामानहरू समावेश हुनेछन्। क्यानाडाले अमेरिकाले ट्यारिफ हटाएन भने यो कदम उठाउने बताएको छ।

ट्रम्पले मेक्सिकोबाट आउने सबै उत्पादनहरूमा २५ प्रतिशत शुल्क लगाएका छन्। यद्यपि अमेरिकाले दुवै देशका अटोमोबाइल उद्योगलाई एक महिनाका लागि छुट दिएको छ। मेक्सिको प्रशासनले अमेरिकासँग लागूपदार्थ तस्करी र अवैध आप्रवासनका मुद्दामा काम गरिरहेको बताएको छ।

मेक्सिकोकी राष्ट्रपति क्लाउडिया साइनबाउमले ट्रम्पसँग फोनमा कुराकानी गरेकी थिइन्। त्यसपछि ट्रम्पले मेक्सिकोका लागि केही थप छुट दिएका छन्। हालसम्म मेक्सिकोले अमेरिकामाथि शुल्क लगाउने घोषणा गरेको छैन।

ब्रिटिस प्रधानमन्त्री किएर स्टार्मरले ट्रम्प प्रशासनको स्टिल र आल्मुनियम आयातमा शुल्क लगाउने निर्णयप्रति निराशा व्यक्त गरेका छन्। संसद्को तल्लो सदन ‘हाउस अफ कमन्स’ मा साप्ताहिक प्रश्नोत्तरका क्रममा स्टार्मरले भने, ‘सरकारले व्यावहारिक दृष्टिकोण अपनाइरहेको छ तर हामी सबै विकल्प खुला राख्नेछौँ।’

राष्ट्रपति ट्रम्पले चुनावी अभियानदेखि नै चीनलाई निसाना बनाउँदै आएका छन्। ट्रम्प प्रशासनले मार्च ४ मा चिनियाँ आयातमा हालको शुल्क १० प्रतिशतबाट बढाएर २० प्रतिशत गरेको छ। यसरी
बढाइएको शुल्क चीनबाट अमेरिका आयात हुने हरेक उत्पादनमा लागू हुनेछ। चीनले पनि अमेरिकाबाट आयात हुने कुखुरा, गहुँ, मकै र कपासजस्ता उत्पादनमा १५ प्रतिशत शुल्क लगाएको छ। त्यस्तै सोयाबिन र दुग्ध उत्पादनमा १० प्रतिशत शुल्क लगाइएको छ।

भारत र जापानले अहिलेसम्म अमेरिकामाथि कुनै शुल्क लगाएका छैनन्। जेपी मोर्गनका प्रमुख अर्थशास्त्री ब्रुस कासम्यानले यस वर्ष अमेरिकामा आर्थिक मन्दीको ४० प्रतिशत सम्भावना रहेको बताए। ट्रम्प प्रशासनले अप्रिलदेखि अन्य मुलुकमा यसैगरी भन्सार शुल्क बढाउँदै गयो भने यो सम्भावना ५० प्रतिशतसम्म पुग्न सक्ने उनको भनाइ छ। एएफपीको सहयोगमा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast