
काठमाडौँ- फागुन २३ मा त्रिविको कीर्तिपुर कार्यालयमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले रेक्टर कार्यालयमा तोडफोड गरेको थियो। शुल्क वृद्धिको विरोध र स्ववियु निर्वाचनमा परीक्षा नराख्न माग गर्दै उनीहरू आक्रोशित भएका थिए। यसअघि पनि डिन कार्यालयमा नेविसंघको अगुवाइमा तोडफोड भएको थियो।
नेविसंघ र त्रिविको स्ववियु निर्वाचन समितिबीच सम्बन्ध तनावपूर्ण छ। नेविसंघले समितिलाई पक्षपाती भएको आरोप लगाएको छ। नेविसंघ त्रिवि एकाइ अध्यक्ष विष्णु बडैलाले भने, ‘निर्वाचन समितिले विद्यार्थीको हितमा काम गरेको छैन, हामीलाई यो मान्य छैन।’
नेविसंघभित्रै पनि आन्तरिक विवाद चर्किएको छ। स्ववियु सभापतिका लागि छजना उम्मेदवार (अनोज कार्की, पद्मा भुसाल, नरेन्द्र साउद, पदम दाहाल, सनम ओली, अक्कल रानाभाट) ले उम्मेदवारी दिएपछि विवाद बढेको हो।
बडैलाले अनोज कार्कीलाई आधिकारिक उम्मेदवार बनाउन पत्र पठाएका थिए, तर नेविसंघ केन्द्रले दीपकराज जोशीलाई उम्मेदवार बनायो। त्रिवि निर्वाचन समितिले दुवैको आधिकारिकता माग्दा विवाद झनै चर्कियो। बडैला भन्छन्, ‘हामीले आधिकारिक पत्र पठाएका थियौँ, तर त्रिविले जोशीलाई मनोनयन गर्यो।’ नेविसंघले त्रिविको केन्द्रीय कार्यालयमा तालाबन्दी पनि गरेको छ र निर्वाचन समिति परिवर्तन गर्न माग गरेको छ।
काठमाडौँको रत्नराज्य (आरआर) क्याम्पसमा स्ववियु सचिवका उम्मेदवार दीपक देवकोटामाथि आक्रमण भयो। अनेरास्ववियुका निराजन भट्टसहितको समूहले आक्रमण गरेको दाबी छ। भट्ट एमाले निकट सभापति उम्मेदवार लोकेश खड्काका समर्थक हुन्। यी घटनाले क्याम्पसमा विद्यार्थी संगठनबीच तनाव बढाएको छ।
त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीका अनुसार उपत्यकाका ६ क्याम्पस (सरस्वती, नेपाल ल, पद्मकन्या, थापाथली, विश्वभाषा, शङ्करदेव) मा स्ववियु निर्वाचन अवरुद्ध छ। मतदाता नामावली र उम्मेदवारी दर्तामा समस्या देखिएकाले चुनाव अवरुद्ध भएको हो। अधिकारी भन्छन्, ‘विद्यार्थीबीच गुटबाजी र समझदारीको अभावले वातावरण बिग्रिएको छ।’ शंकरदेव र विश्वभाषामा मतदाता नामावलीमा समस्या छ भने पद्मकन्या र थापाथलीमा उम्मेदवारी दर्तामा समस्या देखिएको अधिकारीले बताए।
स्ववियु निर्वाचन विद्यार्थीको हितका लागि हो तर पछिल्लो समय यो राजनीतिक अखडा बन्दै गएको छ। पहिले नेता उत्पादन गर्ने नर्सरी मानिने स्ववियु अहिले झडप र विवादको केन्द्र बनेको छ। निर्देशक अधिकारी भन्छन्, ‘विद्यार्थीहरू दलकेन्द्रित भए, सोही कारण हुलदंगा बढायो।’ त्रिविमा २०६५ पछि नियमित निर्वाचन भएको छैन। २०७३ मा उमेर हदबन्दी र मिश्रित प्रणाली लागू भएपछि पनि यो प्रभावित छ।
अधिकांश क्याम्पसमा विद्यार्थीकै कारण क्याम्पसमा उल्झन छ। ‘विद्यार्थीसँग समझदारी बन्न नसक्दा वातावरण बिग्रिएको हो। कतिपयमा मनोनयन प्रक्रियादेखि समस्या छ भने कतिपयमा मतदाता नामावलीमै समस्या छ,’ अधिकारी भन्छन्, ‘विश्वविद्यालयमा आफ्नै कारण अवरुद्ध छन्। विद्यार्थी गुटउपगुटमा भएकाले समस्या छ।’
विद्यार्थी निम्त्याउँछन् विवाद
विद्यार्थीकोे अधिकारका निम्ति आवाज उठाउन स्ववियु निर्वाचन गरिन्छ। कुनै बेला स्ववियु निर्वाचनलाई नेता उत्पादन नर्गे नर्सरीसमेत मानिन्थ्यो। प्रभावशाली, पढाइमा तेज र जेहेनदार विद्यार्थीहरुले यसको नेतृत्व गर्थे। पछिल्लो केही वर्षदेखि स्ववियु राजनीति मात्रै गर्ने अखडा बनेको भन्दै आलोचना भइरहेको छ। पढाइमा अब्बल विद्यार्थी यसबाट भाग्न थालेका छन्। स्ववियु निर्वाचनका नाममा हुने झडपले वितृष्णा बढ्दो छ।
यसअघि पनि देशभरका केही क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेको थिएन। आफ्नै प्रतिनिधि चुनिने भए पनि किन अपरोध गर्छन् विद्यार्थी संगठन? किनभने क्याम्पसमा विद्यार्थी संगठन दल केन्द्रित बन्दै गएका छन्।
त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक अधिकारी क्याम्पसमा राजनीतिक गन्ध बढ्दा स्ववियु अवरुद्ध हुने गरेको बताउँछन्। उनले भने, ‘विद्यार्थीहरू दल केन्द्रित बन्दै गए। यसले गर्दा हुलदंगा बढेका छन्।’
विद्यार्थीकै झमेलाका कारण लामो समय स्ववियु निर्वाचन हुन सकेन। त्रिविका अनुसार २०६५ सालपछि नियमित निर्वाचन हुन सकेको छैन। २०६५ पछि एकै पटक आठ वर्षपछि २०७३ चैत १५ गते भएको थियो। २८ वर्ष उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणाली लागू भएपछि नियमति स्ववियु निर्वाचन भएको छैन।
पछिल्लो पटक उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणाली लागू भएपछि पहिलो पटक २०७३ सालमा त्रिविले स्ववियु निर्वाचन गराएको थियो। कतिपय स्थानमा आफूले हार्ने भय हुँदा निर्वाचन हुन नदिनेदेखि, आफू अध्यक्ष-पदाधिकारी बन्न नसक्दा तनाव उत्पन्न हुने गरेको छ।
पछिल्लो समय विद्यार्थीहरू शैक्षिक मुद्दाभन्दा बाहिर हुँदा स्ववियुका निर्वाचन प्रभावित हुने गरेका छन्। ‘विद्यार्थी निर्वाचनमैत्री बने तर शैक्षिक मुद्दामुखी भएनन्। यसले गर्दा पनि स्ववियु निर्वाचन हुन सकेन,’ त्रिविका पूर्व स्ववियु सभापति हिमाल शर्मा भन्छन्, ‘शैक्षिक जागरण बढेन। विद्यार्थीमा राजनीतिक भागबन्डा सीमित हुन थाले। त्यही कारण अहिले यो असन्तुष्टि देखिन थालेको हो।’
शर्माले भनेझैँ अहिले विद्यार्थी भागबन्डा केन्द्रित राजनीतिमा लागेका छन्। दुईभन्दा बढी संगठनबीच तालमेल गर्नेदेखि ‘बलिया संगठन’ एक हुने अवस्था आइरहेको छ। ‘अहिले ग्रासरुटको राजनीति हुन सकेन। यसैले संगठनभन्दा पनि पार्टीमुखी राजनीति गर्न विद्यार्थीहरू गर्न थाले’, पूर्वविद्यार्थी नेता रन्जित तामाङ भन्छन्,‘शैक्षिक मुद्दा अघि बढ्नुपर्ने हो। तर विद्यार्थी राजनीति धेरै पर पुगिसकेको छ।’
उनका अनुसार राजनीतिक मुद्दा उठाउँदा शैक्षिक मुद्दा धरापमा पर्ने र विद्यार्थीमा मात्र राजनीति सीमित नहुँदा स्ववियु बिथोलिने गरेका छन्।
८२ क्याम्पसमा निर्विरोध
हालसम्म ७१ वटा क्याम्पसहरूमा सर्वसम्मत सभापति चयन भएका छन्। अनेरास्ववियुले ३२, नेविसंघले १३ र अखिल (क्रान्तिकारी) ले २१ क्याम्पसमा नेतृत्व लिएका छन्। अनेरास्वियुबाट कोशीमा चार, बागमतीमा ८, गण्डकीमा तीन, लुम्बिनीमा ७, कर्णालीमा तीन र सुदूरपश्चिममा ७ क्याम्पसमा सर्वसम्मत स्ववियु सभापति चुनिएका छन्। नेविसंघबाट कोशीमा तीन, बागमतीमा ७, गण्डकीमा एक, लुम्बिनीमा ९, कर्णालीमा चार र सुदूरपश्चिममा चार क्याम्पसमा सर्वसम्मत स्ववियु सभापति चयन भएका छन्। अखिल (क्रान्तिकारी) बाट कोशीमा एक, मधेशमा एक, बागमतीमा ७, लुम्बिनीमा एक, कर्णालीमा ९ र सुदूरपश्चिममा २ क्याम्पसमा सर्वसम्मत स्ववियु सभापति चयन भएका छन्। बाँकी क्याम्पसमा चैत ५ मा निर्वाचन हुँदैछ।