प्याब्सनले भन्यो- निजी विद्यालय आजीवन कम्पनीका रूपमा रहोस्

हिमाल प्रेस २९ फागुन २०८१ १३:५८
84
SHARES
प्याब्सनले भन्यो- निजी विद्यालय आजीवन कम्पनीका रूपमा रहोस्

काठमाडौँ- निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का नवनिर्वाचित अध्यक्ष कृष्ण अधिकारीले शिक्षा विधेयकमा निजी विद्यालयका मुद्दाहरूको प्रभावकारी समाधानका लागि सरकारसँग आग्रह गरेका छन्। उनले विधेयकमा निजी विद्यालयको व्यवस्थापन र सञ्चालनका लागि आवश्यक प्रावधानहरूको थप स्पष्टता र समर्थनको माग गरेका छन्।

अध्यक्ष अधिकारीले भने, ‘शिक्षा विधेयकमा निजी विद्यालयसम्बन्धी कम्पनी र गुठीको प्रावधानमा सुधार आवश्यक छ। हामी चाहन्छौँ हाम्रो विद्यालयहरूको सम्पत्ति कम्पनीमै रहोस् र यसको पुस्तान्तरण प्रक्रियाले निरन्तरता पाओस्।’

उनले निजी विद्यालयहरूको व्यावसायिक मापदण्ड र शिक्षा प्रणाली सुधारका लागि सरकारसँग सहकार्य गर्नुपर्ने आवश्यकता औँल्याए। ‘हामीले किन्ने सामानमा बढी कर तिरेका छौँ। हामीले यो देशमा गुणस्तरीय शिक्षा प्रदान गरेका छौँ र हाम्रो योगदानलाई पर्याप्त सम्मान मिल्नुपर्ने कुरा उठाएका छौँ’,  प्याब्सनका नवनिर्वाचित पदाधिकारीहरूको शपथ कार्यक्रममा उनले  भने।

अध्यक्ष अधिकारीले प्याब्सनले शिक्षा विधेयक प्रभावकारी बनाउन, निजी विद्यालयहरूलाई अझ व्यवस्थित र संरचित बनाउन र त्यसका लागि सरकारसँग सहकार्य गर्न प्राथमिकतामा राखेका छन्।  ‘हामी २०५८ सालदेखि कम्पनीमा आएका हौँ, र हामी चाहन्छौँ कि हाम्रो विद्यालय आजीवन कम्पनीका रूपमा रहोस्,’ उनले थपे।

उनले निजी विद्यालयको योगदानको महत्त्वसमेत उल्लेख गर्दै भने, ‘हामीले नेपालमा गुणस्तरीय शिक्षा प्रदान गर्दै यसको माध्यमबाट नेपालको नाम संसारभर चिनाएका छौँ। यसलाई निरन्तरता दिँदै हामी विश्वव्यापी स्तरमा पुग्ने लक्ष्य राखिरहेका छौँ।’

अध्यक्ष अधिकारीले प्याब्सनका ५ हजार विद्यालयलाई असल र गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्य राखेका छन्। यसका लागि प्याब्सनका शिक्षक, विद्यार्थी र अभिभावकलाई राम्रो परिस्थितिमा लैजाने प्रयास गरिने छ। ‘हाम्रो उद्देश्य भनेको नेपालको शिक्षा प्रणालीलाई सुधार्दै, यसलाई अझ प्रभावकारी र समृद्ध बनाउनु हो,’ उनले भने। शिक्षा विधेयकको प्रावधानले निजी विद्यालयका धेरै मुद्दा सम्बोधन गर्नुपर्ने भन्दै अधिकारीले सरकारसँग यस विषयमा सहकार्यको अपेक्षासमेत राखेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast