![प्रचण्डको आरोप- ओली संस्कारहीन, बिचौलिया र मिचाहा [सम्बोधनको पूर्ण पाठसहित]](https://himalpress.com/wp-content/uploads/2025/03/prachanda_in_samsad.jpg)
काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रमुख प्रतिपक्षी दलका नेता सरकारको बेथिति, अविवेक र असफलताले जनतामा व्यवस्थाप्रति मोहभंग बढाउँदै लगेको टिप्पणी गरेका छन्। प्रतिनिधिसभाको विशेष समयममा मंगलबार सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन्। उनले केपी ओली नेतृत्वको सरकार अविश्वसनीय र संस्कारहीन रहेको आरोप लगाएका छन्।
मिटरब्याजपीडितले सीडीओ अफिसभित्रै आत्महत्या गर्न खोजेका समाचार पढ्नुपरेको, गुठीपीडित जनता सयौं किलोमिटर छिचोलेर आफ्ना पीडा सुनाउन काठमाडौँ आइपुगेका, लघु वित्तपीडितका समस्या अझ बल्झिएको र सहकारीपीडित थप पीडित भएको बताए।
अविश्वसनीय र संस्कारहीन
सरकारको विश्वसनीयता सकिएकै देखेर पुरातनपन्थी राजतन्त्रवादी हौसिएको प्रचण्डको भनाइ छ। उनले भने, ‘पछिल्ला आठ महिनामा सत्तामा रहेका पार्टीहरूले प्रदर्शन गरेका शासकीय शैली र त्यसबाट उत्पन्न असन्तोष नै यसको मूल कारण हो भन्ने बुझ्न अब कठिनाइ छैन।’
सत्तारुढ दलका साथीहरूले लोकतान्त्रिक मूल्यमान्यतालाई निरन्तर उपेक्षा गरिरहनुभएको आरोप प्रचण्डको छ। उनले भने, ‘संसद सञ्चालनमा तपाईँहरूले प्रतिपक्षलाई कति स्पेस दिनुभएको छ, आफैसँग सोध्नुहोस्।’ उनले प्रमुख प्रतिपक्षी दलको नेता रोस्टममा उभिँदा प्रधानमन्त्रीको अनुपस्थिति निरन्तर कायम रहनु घमण्ड हो कि, संस्कारहीनता हो वा कुण्ठा हो भनेर प्रश्न गरे।
रवि लामिछानेलाई हुर्मत लिइयो
सरकारले प्रतिपक्षी नेतालाई अनुचित ढंगले निलम्बन गरेको आरोप उनको छ। प्रचण्डले त्यसले लोकतन्त्रप्रतिको जनआस्थामा परेको प्रभाव मूल्यांकन गर्न सरकारलाई आग्रह गरे। उनले भने, ‘हिरासतमा नभएको नेतालाई संसद्मा आउन दिने प्रचलन हामीले पहिले स्थापित गरिसकेका छौँ। सदनभित्र बहस गराउँदा मात्रै लोकतन्त्र सुदृढ गर्न मद्दत गर्छ। ठाउँठाउँ घुमाएर हुर्मत लिने कामले लोकतन्त्रलाई मद्दत गर्दैन।’
सत्ताको ड्राइभिङ सिटमै पनि बिचौलिया
सरकारले बिचौलियाको हितका लागि धमाधम अध्यादेश ल्याइरहेको आरोप प्रचण्डको छ। सरकारले जनचाहनालाई बारम्बार उपेक्षा गरिरहेको आरोप उनको छ।
उनले भने, ‘पछिल्ला आठ महिनामा तपाईँहरूले लोकतन्त्रलाई गंगा नदी जस्तो बनाइदिनुभएको छ। एकअर्कालाई चोख्याएर, नक्कली भुटानी शरणार्थी काण्ड धुनुभयो गंगा नदीमा तर फोहोर भयो लोकतन्त्र। बालमन्दिर धुनुभयो तर फोहोर थुप्रियो लोकतन्त्रमा। गिरिबन्धु धुनुभयो, त्रिभुवन विश्वविद्यालयका जमिनहरूको काण्ड धुनुभयो तर जनताको नजरमा मैलो लोकतन्त्र देखियो।’
सरकारको दुईतिहाईको घोडा प्रधानमन्त्री र मन्त्रीले चलाएको नदेखेको बताउँदै उनले त्यो घोडा बिचौलियाहरूले चलाएको बताए। उनले भने, ‘तपाईँले गर्ने नियुक्ति, तपाईँहरूले गर्ने सेटिङ, तपाईँहरूले गरेको मैले देख्दिनँ, ती त बिचौलियाहरूले निर्णय गरेअनुसार भएको देखेको छु। पछिल्ला आठ महिनाका एउटै नीति, एउटै निर्णय र एउटै नियुक्ति मलाई भनिदिनोस्, जसका पछाडि बिचौलिया छैन।’
राजनीतिक संयन्त्र, समिति, बैठक यी सबै नाटक जस्ता मात्र देखिएको भन्दे प्रचण्डले सत्ताको ड्राइभिङ सिटमै पनि बिचौलिया बसिरहेको बताए।
राजनीतिक बल मिच्याइँ
प्रचण्डले ओली सरकार ठूलो राजनीतिक बलमिच्याइँबाट बनेको आरोप लगाएका छन् उनले भने, ‘लोकतन्त्रको सीधा अवहेलना गरियो। । तपाईँहरूले सदनभित्रको पहिलो र दोस्रो पार्टीको गठबन्धन बनाएर सदनभित्रबाट बहस र संघर्षबाट सरकारको विकल्प बन्छ भन्ने ठाउँ सिध्याइदिनुभयो।’ जनता त्यही विन्दुदेखि सरकारसँग नराम्ररी झस्किएको दाबी प्रचण्डको छ।
प्रचण्डले झापाबाट सुरु गरेर रौटहटसम्म पार्टीले सञ्चालन गरेको अभियानका क्रममा आफूहृले जनतामा सरकारप्रति विश्वास नरहेको पाएको बताए। उनले भने, ‘अविश्वास छ, जनता विकल्प खोज्नेतिर लागिरहेको छ। एकातिर तपाइँहरूसँग दुई तिहाई छ तर यही दुई तिहाई लोकतन्त्रका घातक हुँदैछ।’
पटकपटक लोकतन्त्रको लक्ष्मणरेखा उल्लंघन
सदनभित्रको पहिलो र दोस्रो दल मिलेर सरकार बनाउने कुरा नै लोकतान्त्रिक मर्मविपरीत रहेको प्रचण्डले बताए। उनले भने, ‘यसले सदनभित्रको विकल्प रोक्ने काम भएको छ। तपाईँहरूले बल मिच्याइँ र जबरजस्ती गर्नुभयो। संविधानमा ब्ल्याक एण्ड ह्वाइटमा लेखेको प्रावधानलाई मिचेर भए पनि सरकार चाहिं बनाइ छाड्ने गर्नुभयो, त्यही विन्दुबाट तपाइँहरूले लोकतन्त्रमाथि नराम्रोसँग प्रहार सुरु गरेको जनताले महसुस गरेको छ।’
उनले दुईतिहाईको अहंकारमा कांग्रेस र एमालेले दौडाएको कुशासनको घोडा नै अहिले लोकतन्त्रमाथिको सबैभन्दा ठूलो संकट बनिरहेको बताए। उनले भने, लोकतन्त्रको सुदृढ गर्नतिर तपाइहरूका कदम बढेमा हाम्रो साथ हुनेछ।’
प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार प्रतिनिधिसभा बैठकमा गरेको सम्बोधन
सभामुख महोदय,
सबभन्दा पहिले त म संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापनाका लागि जीवन वलिदान गर्ने हजारौं वीर शहीदहरूप्रति श्रद्धासुमन अर्पण गर्दछु। साथै, हजारौं बेपत्ता योद्धा र घाइतेहरू अनि लाखौं लाख जनसमुदायप्रति हार्दिक सम्मान र आभार प्रकट गर्दछु। इतिहासका विभिन्न कालखण्डका ती गौरवपूर्ण वलिदानलाई आज अझ विवेक र कृतज्ञताका साथ स्मरण गर्नुपर्ने भएकोछ किनकि, त्यो शहादतबाट प्राप्त जनताका उपलब्धिमाथि अहिले प्रतिगमन र प्रतिक्रान्तिको तरबार चलाउने सपना देखिँदै छ। त्यसकारण हामीले विशेष रुपले स्मरण गर्न जरुरी छ। जनताको बलिदानपूर्ण लामो संर्घषबाट प्राप्त उपलब्धिलाई उल्ट्याउने कोशिस हुँदैछ।
म आज विशेष समय लिएर आम नेपाली जनतालाई यो भन्न सम्मानित रोस्टममा उभिएको छु कि अब हामीले एकातिर सरकारको गलत क्रियाकलापविरुद्ध र अर्कोतिर प्रतिगामी चलखेलकाविरुद्ध एकैसाथ जुध्नुपर्ने विशिष्ट स्थिति सर्जना भएको छ। सरकारको बेथिति, अविवेक र असफलताले जनतामा व्यवस्थाप्रति नै मोहभंग बढाउँदै लगेको छ। आठ महिना अघिसम्म देशमा त्यस्तो ठूलो असन्तोष थिएन। माइतिघर मण्डला पनि लगभग खाली हुँदै थियो।
तर, आज मिटरब्याजपीडितले सिडिओ अफिसभित्रै आत्महत्या गर्न खोजेका समाचार पढ्नु परेको छ। गुठीपीडित जनता सयौं किलोमिटर छिचोलेर आफ्ना पीडा सुनाउन काठमाडौं आइपुगेका छन्। लघुवित्तपीडितका समस्या अझ बल्झिएका छन्। सहकारीपीडित थप पीडित भएका छन्। देशभरका सामुदायिक विद्यालयका शिक्षक चक र डस्टर छाडेर राजधानीकेन्द्रित आन्दोलनमा उत्रिएका छन्। दुग्ध उत्पादक किसान होउन् वा तरकारी उत्पादक, निर्माण व्यवसायी होउन् वा उखु किसान, दलित होउन् वा महिला म सबैलाई आज आन्दोलनमै देखिरहेको छु।
मलाई लाग्छ सबैले स्थिति अलि जटिल छ भन्ने महसुस गरेकै छौं। सरकारमा बसेका साथीहरूलाई मेरो प्रश्न छ, हरेक वर्ग र समुदायले अब आन्दोलनबाहेक अरु विकल्पै देख्न छाडेको हो ? सरकारले जनतासँग संवाद गर्ने सामथ्र्य गुमाएको हो कि संवाद गर्न नचाहेको हो ? जनताको नजरमा सरकारको विश्वसनीयता र सरकारसँग संवादको औचित्य नै समाप्त भएको हो ?
सरकारको विश्वसनीयता सकिएकै देखेर आज पुरातनपन्थी राजतन्त्रवादी हौसिएका छन्। वर्षौंसम्म बन्द कोठामा समेत राजतन्त्र पुनःस्थापनको सपना देख्न डराएकाहरू आज सडकमै ओर्लिएका छन् र सडकबाटै राजतन्त्र पुनःस्थापनाको चुनौती दिन थालेका छन्। राजावादीहरूको यो चहलपहलका पछाडि संगठित प्रयास छ भन्ने कुरा हामीलाई थाहा छ। यसमा देशभित्र र बाहिरका चलखेल पनि मिसिएका छन्।
तर, म के भन्न चाहन्छु भने यसखालका चलखेल आज मात्रै भएका होइनन्। नेपालमा यस्ता चलखेल हिजो पनि थिए, अस्ति पनि थिए। तर चाहि अचानक वृद्धि किन भयो ? प्रश्न मुख्यतः यहाँ रहेको छ। पछिल्ला आठ महिनामा सत्तामा रहेका पार्टीहरूले प्रदर्शन गरेका शासकीय शैली र त्यसबाट उत्पन्न असन्तोष नै यसको मूल कारण हो भन्ने बुझ्न अब कठिनाई छैन।
सभामुख महोदय,
आज म ठूलो जिम्मेवारीका साथ, सँगसँगै चेतावनीका साथ पनि भन्न चाहन्छु, नेपालको शान्ति प्रक्रिया मात्र होइन, गणतन्त्रको इतिहास पनि बडो मौलिक र निकै उदार रहेको छ। संसारभरिको गणतन्त्रको इतिहासमा राजतन्त्रे रगतले लेखिएको थुप्रै इतिहास भेटिन्छछ तर नेपाल त्यसमा अपवाद बन्यो। हामी सबैलाई जानकारी छ, यो हाम्रो मौलिकता र उदारताको प्रमाण थियो।
पूर्व शाही परिवारमाथि हिंसा त परको कुरा, निर्वासनसमेत नतोकी, पूर्वराजालाई तत्कालका लागि सुरक्षित बस्ने ठाउँसमेत दिएर नेपालमा गणतन्त्रको इतिहास लेखिएको हो भन्ने हामी कसैले बिर्सनु हुँदैन। यो इतिहास क्रान्तिको मजबुरी थियो भन्ने कसैलाई लागेको छ भने त्यो निकै ठूलो भ्रम मात्रै हुनेछ र उदारतालाई कमजोरी ठानियो भने इतिहास निकै निर्मम भएर प्रस्तुत हुनसक्छ भनेर हामी सबैले हेक्का राख्न जरुरी छ।
गणतन्त्रका लागि यो देशका लगभग हरेक ढुंगामा जनताको रगत बगेको छ, हामी कसैले नबिर्सौं। क्रान्तिको इतिहास पढ्नुहोस्, गणतन्त्रको जग कति फराकिलो छ। सीमित माओवादीले उठाएको बन्दुकका कारणले मात्र होइन यो देशका सबैभन्दा सीमान्त वर्ग, लिंग, जाति, समुदाय समग्रको त्याग र बलिदानको परिणामको रुपमा आएको हो, यो हेक्का हामी सबैलाई रहोस्। सार्वभौम भइसकेका नेपाली जनता फेरि रैती हुन्छन् भनेर सोचियो भने त्यो भन्दा ठूलो भ्रम अरु केही हुनै सक्दैन।
हिजो राजतन्त्रमा गणतन्त्र माग्दा टाउकाको मोल तोकिएको थियो। अहिले राजावादी साथीहरू सम्मानित संसदमै हुनुहुन्छ। लोकतन्त्र र राजतन्त्रको तुलना हुनै सक्दैन भन्ने राम्रो उदाहरण यो भन्दा केही हुन्छ र ? एउटा विचारका रुपमा राजतन्त्रसँग मेरा असहमति छन् तर म लोकतान्त्रिक हकको सम्मान गर्दछु। एक सय ६ वर्ष अघि राजतन्त्र समाप्त भएको रुसमा अझै राजतन्त्रवादी पार्टी अस्तित्वमा छन्।
फ्रान्समा अन्तिम राजतन्त्र सकिएको एक सय ७५ वर्ष भयो, अझै पनि त्यहाँ राजतन्त्र फर्काउन चाहने पार्टीहरू अस्तित्वमा छन्। सर्विया, बुल्गेरिया, इरान, अफगानिस्तानमा पनि राजावादीहरूको ससानो उपस्थिति अहिले पनि देखिएकै छ। राजावादीहरूलाई मेरो आग्रह छ, लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्नोस्, हामीलाई आपत्ति छैन। लोकतन्त्र जति प्रचण्डको हो, त्यत्ति नै व्यक्ति ज्ञानेन्द्र शाहको पनि हो भन्ने मान्यता हामी राजनीतिक दलहरूले राखेका छौं र हाम्रो संविधानले त्यो मान्यता स्थापित गरेको छ। यो कुरालाई कमजोरी नठानियोस्। तर, लोकतन्त्रका मूलभूत सिद्धान्त नमानेर असंवैधानिक र अलोकतान्त्रिक बाटो रोजियो भने क्रान्तिले फेरि एकपटक आफ्नो शक्ति देखाउने छ। यो चुनौती पनि म राख्न चाहन्छु।
एकातिर राजावादी साथीहरू सडकमा हुनुहुन्छ, सदनमा पनि हुनहुन्छ। उहाँहरूका उद्देश्य प्रष्ट छन्, उहाँहरूले इतिहासको चक्कालाई पछाडितिर फर्काउन चाहनुभएको छ। पनि खतरनाक र प्रतिगामी छन्। अर्कातिर सरकारको कुशासन पनि छ। लोकतन्त्रलाई जति ठुलो चुनौती बाहिरबाट छ, सत्तासीन साथीहरूको कुशासनले व्यवस्थाभित्रैबाट लोकतन्त्रलाई त्यो भन्दा बढी चुनौती दिइरहेको छ भन्ने कुरालाई पनि हामीले बिर्सनु हुँदैन। सत्तारुढ दलका साथीहरूले लोकतन्त्रकमा मूल्य र मान्यतालाई निरन्तर उपेक्षा गरिरहनुभएको छ।
संसद प्रतिपक्षको हो भन्ने अन्तराष्ट्रिय मान्यता, यद्यपि त्यो संवैधानिक र कानुनी मान्यता होइन, तर यो आम रुपमा स्वीकारिएको मान्यता हो।संसद सञ्चालनमा तपाईँहरूले प्रतिपक्षलाई कति स्पेस दिनुभएको छ, आफैसँग सोध्नुहोस्। प्रमुख प्रतिपक्षी दलको नेता रोस्टममा उभिँदा प्रधानमन्त्रीको अनुपस्थिति निरन्तर कायम रहनु घमण्ड हो कि, संस्कारहीनता हो वा कुण्ठा हो, त्यसको जवाफ पनि आफैं खोज्नोस्।
अर्को प्रतिपक्षी नेतालाई अनुचित ढंगले निलम्वन गरिएको छ। त्यसले लोकतन्त्रप्रतिको जनआस्थामा परेको प्रभाव आफैं मूल्यांकन गर्नुहोस्। हिरासतमा नभएको नेतालाई संसदमा आउन दिने प्रचलन हामीले पहिले स्थापित गरिसकेका छौं। सदनभित्र बहस गराउँदा मात्रै लोकतन्त्र सुदृढ गर्न मद्दत गर्छ, ठाउँठाउँ घुमाएर हुर्मत लिने कामले लोकतन्त्रलाई मद्दत गर्दैन, यो कुरा पनि हेक्का रहोस्।
विचौलियाको हितका लागि धमाधम अध्यादेश ल्याउने सरकार संघीयता कार्यान्वयनसँग जोडिएका संसदमा विचाराधिन विद्येयक अघि बढाउन सरकार किन अनिच्छिुक देखिएको हो ? गम्भीर प्रश्न हो। संघीय निजामति विधेययक, जो मैले आफ्नो प्रधानमन्त्रीत्वकालमा धेरै मेहनत गरेर सदनसम्म ल्याइपुर्याएको छु, विद्यालय शिक्षा लगायतका विधेयकहरू अहिले पनि सरकारकै कारण अघि बढ्न सकेका छैनन्। यो आफैँमा गम्भीर विषय छ।
आज प्रतिगमनतिरको मनोबल सरकारका स्वेच्छाचारी र गलत गतिविधिले गर्दा नै बढेको छ भनेर हेक्का राखिएन भने आउने दिन अझ गम्भीर र चुनौतीपूर्ण हुन्छन् भन्ने कुरा विचार गर्न जरुरी छ। कसैको तस्बिर छापिएका टिसर्ट लगाएकै कारण सरकारले नागरिकलाई निणन्त्रणमा लिइरहेको छ। लोकतन्त्रमा सरकारले राख्छ त्यस्तो हक ? हिजो राजामहाराजाझैं पूरै सडक खाली गरेर सवारी चलाउने सनक चढ्छ हाम्रा प्रधानमन्त्रीजीलाई। लोकतन्त्रले के यो राजसी ठाँट स्वीकार गर्छ ? सत्तारुढ पार्टीका कार्यकर्ताले आम नागरिक त परको कुरा, बर्दीधारीलाई नै आक्रमण गर्छन् तर तिनलाई कारवाही हुँदैन। यस्तो दण्डहिनताले लोकतन्त्रप्रति जनताको भरोसा बढाउँछ या जनताको वितृष्णा बढाउँछ हेक्का राख्नुपर्ने विषय हो।
मैले पटकपटक भनेको छु, आज हामी सबै जनताको अत्यन्त सघन निगरानीमा छौं। तर, तपाईँहरूले जनचाहनालाई वारम्वार उपेक्षा गरिहनुभएको छ। पछिल्ला आठ महिनामा तपाईँहरूले लोकतन्त्रलाई गंगा नदी जस्तो बनाइदिनुभएको छ। एकअर्कालाई चोख्याएर, नक्कली भुटानी शरणार्थीए काण्ड धुनुभयो गंगा नदीमा तर फोहोर भयो लोकतन्त्र। बालमन्दिर धुनुभयो तर फोहोर थुप्रियो लोकतन्त्रमा। गिरिबन्धु धुनुभयो, त्रिभुवन विश्वविद्यालयका जमिनहरूको काण्ड धुनुभयो तर जनताको नजरमा मैलो लोकतन्त्र देखियो। तपाईँहरूप्रतिको आक्रोश आज व्यवस्थाविरुद्ध पोखिन खोज्दै छ भन्ने कुरालाई कत्तिको आत्मसमीक्षा गर्नुभएको छ ?
मैले यही सदनमा पछिल्लोपटक विश्वासको मत लिंदै गर्दा भनेको थिएँ आत्मसमीक्षासहित, गल्ती हाम्रा पनि भए। हामी सबैले आफ्नो आत्मसमीक्षा गरेर जनताप्रति जवाफदेही हुने प्रक्रियाको सुरुवात गरेनौं भने आउने दिन झन् जटिल हुन्छज्र भनेर भनेको थिएँ। अहिले सरकार र सरकारी संयन्त्रमा बसेका साथीहरूले बडो घमण्ड गरेको सुनिन्छ, सरकार यो गर्दैछ, त्यो गर्दै छ। तर, दुई तिहाईको घोडा कसले दौडाएको छ?
मैले त्यतिबेला पनि भनेको थिएँ, अहिले पनि जोड दिएर भन्न चाहन्छु, सरकारको दुई तिहाईको घोडा प्रधानमन्त्री र मन्त्रीले चलाएको मैले देखेको छैन। त्यो घोडा विचौलियाहरूले चलाएका छन्। तपाईले गर्ने नियुक्ति, तपाईँहरूले गर्ने सेटिङ, तपाईँहरूले गरेको मैले देख्दिनँ, ती त विचौलियाहरूले निर्णय गरेअनुसार भएको देखेको छु। म चुनौतीका साथ भन्न चाहन्छु, पछिल्ला आठ महिनाका एउटै नीति, एउटै निर्णय र एउटै नियुक्ति मलाई भनिदिनोस्, जसका पछाडि विचौलिया छैन। जम्मा एउटा उदाहरण दिए पनि हुन्छ। तपाईँहरूका संयन्त्र, समिति, बैठक, यी सबै नाटक जस्ता मात्र देखिएका छन्।
सत्ताको ड्राइभिङ सिटमै आज बिचौलिया छ। मेरो नेतृत्वको सरकार किन हट्यो भन्ने कुराको व्याख्या मैले पहिले नै गरिसकेको छु। विचौलियाको आँट र शक्तिले आज इमान्दार व्यवसायीलाई विचलित बनाएको छ, भोलि तपाईँहरू विचलित हुनुहुनेछ।
यो सरकार ठूलो राजनीतिक बलमिच्याइ र संविधानको अवहेलनाबाट बन्यो। लोकतन्त्रको सिधा अवहेलना गरियो, जनता झस्केकै त्यही बिन्दुबाट हो भन्ने कुरा म सरकारमा भएका प्रमुख पार्टीका नेता साथीहरूलाई गम्भीरतापूर्वक समीक्षा गर्न अनुरोध गर्न चाहन्छु। तपाईँहरूले एकातिर त सदनभित्रको पहिलो र दोस्रो पार्टीको गठबन्धन बनाएर सदनभित्रबाट बहस र संघर्षबाट सरकारको विकल्प बन्छ भन्ने ठाउँ सिध्याइदिनुभयो। निरंकुशता हुन्छ भन्ने कुरा स्थापित गरिदिनुभयो तपाईँहरूले। यस्तो सामान्यतः लोकतन्त्रमा हुँदैन भन्ने कुरा थाहा नपाएर होइन, थाहा पाएरै तपाईँहरूले गर्नुभयो।
जनता त्यही विन्दुदेखि तपाईँहरूसँग नराम्रोसँग झस्किएको छ। अस्तिको राजावादीको जुलुसबाट मात्र होइन, तपाईँहरूलाई थाहा छ, म र मेरो पार्टीको नेतृत्वको टीम अहिले हुलाकी राजमार्ग केन्द्रित एउटा जागरण अभियानमा छौं। झापाबाट सुरु गरेर रौटहटसम्म आएर केही दिनका लागि स्थागित गरेर हामी छिट्टै जाँदै छौं। त्यहाँ हामीले जे देख्यौं, जनतामा सरकारप्रति विश्वास छैन। अविश्वास छ, जनता विकल्प खोज्नेतिर लागिरहेको छ।
हामीले नयाँ कुरा लगेर जाँदा जनतामा आशा र भरोसा जागेको पनि देख्यौं। एकातिर तपाइँहरूसँग दुई तिहाई छ तर यही दुई तिहाई लोकतन्त्रका घातक हुँदैछ। तपाईँहरू दुई तिहाई भनेर ढुक्क देखिनुभएको छ, जसलाई नियुक्त गरे पनि भयो, तीन नम्बरकोलाई एक नम्बर बनाए पनि भयो, एक नम्बरको लाई चार नम्बरमा फालिदिए पनि भयो, जे जे गरे पनि भएको छ किनकि तपाइँहरूसँग दुई तिहाई छ। तर, यो दुई तिहाई नै नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रका लागि घातक हुने त होइन भन्ने प्रश्न जनताको मनमा जन्मिसकेको छ।
तपाईँहरूलाई पनि यसमा गम्भीररुपमा विचार गर्न अनुरोध मात्रै गर्न सक्छु अहिले। यो संख्याको अहंकारसँगै सत्ताको दुरुपयोग सुरु भएको छ। प्रतिपक्ष र जनताको रचनात्मक खबरदारीलाई सरकारले कुनै भाउ नदिएकै कारण आज जनता सडकमा ओर्लिने अवस्था आएको छ।
यसबीचमा तपाईँहरूले पटकपटक लोकतन्त्रको लक्ष्मणरेखा नाघ्नुभयो। पहिलो त यो जन्म नै संविधान र लोकतन्त्रविरुद्ध भयो। तपाईँहरूले यो मेरो भनाइलाई सरकार छाड्नपुरेको पीडा होला भनेर बडो सहज व्याख्या गर्ने गर्नुभएको छ, जबकि सदनभित्रको पहिलो र दोस्रो दल मिलेर सरकार बनाउने कुरा नै लोकतान्त्रिक मर्म विपरीत छ। यसले सदनभित्रको विकल्प रोक्ने काम भएको छ। मैले विश्वासको मत नपाएपपछि सरकार सदनको सबैभन्दा ठूलो दलको नेतृत्वमा बन्नैपथ्र्यो। तपाईँहरूले त्यहाँ बल मिच्याई र जबरजस्ती गर्नुभयो। संविधानमा ब्ल्याक एण्ड ह्वाइटमा लेखेको प्रावधानलाई मिचेर भए पनि सरकार चाहिं बनाइ छाड्ने गर्नुभयो, त्यही विन्दुबाट तपाइँहरूले लोकतन्त्रमाथि नराम्रोसँग प्रहार सुरु गरेको जनताले महसुस गरेको छ।
मैले यही रोस्टमबाट भनेको थिएँ, सरकार कुशासन र स्वार्थसमूहहरूको भरिया भएर उभिँदा जनतामा निराशा र आक्रोशको आगो ज्यामितीय रुपमा बढेको छ। त्यो आगो लोकतन्त्रकै विरुद्ध प्रयोग हुने हो कि भन्ने प्रश्न अहिले हामी सबैको मनमा छ। अहिले त्यही देखिएको छ। बेथिति र विकृति सरकारले नै बोकेको छ। व्यापारीहरूसँग वक्यौता उठाउन खोज्यो, जथाभावी लाइसेन्स बेच्न दिएन भनेर विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक सरकारको कोपभाजनमा पर्नुभएको छ। प्रतिगमनकारीहरू नारायणहिटीको गेटैमा आइपुग्दा पनि सरकारको कार्यशैली यस्तो भएपछि लोकतन्त्र जोखिममा पर्दैन त ?
म पछिल्ला प्रदर्शनहरूलाई केही पनि होइनन् भनेर उपेक्षा गर्दिनँ। सत्तामा रहेकाहरूलाई भन्न चाहन्छु, तपाईँहरू पनि यसको निम्ति भागिदार हुनुहुन्छ। विदेशी षड्यन्त्र पनि होलान्, विगतमा पनि हामीले देख्ने गरेका छौं। अस्तिको प्रदर्शनमा पनि देख्यौं, को कसका फोटो टाँसिए, इत्यादि तर म त्यसलाई म पहिलो प्रमुख हो भन्ने मलाई लाग्र्दैन। मुख्य कुरा त त्यहाँ उत्रिएको त नेपाली जनता नै हो नि। यसलाई जनताको असन्तोष, अव्यवस्था र कुशासनविरुद्ध जनताको आक्रोशको रुपमा बुझ्न ढिला गरियो भने धेरै ढिला हुनसक्छ। सरकारलाई मेरो चेतावनीपूर्ण आग्रह छ, यसलाई गिजोल्नतिर नलाग्नोेस्, सत्ताको अनावश्यक प्रदर्शनतिर नलाग्नोस्। तपाईँहरूको अनावश्यक अहंकार र दुर्वचन, उपेक्षा, घमण्ड र अविवेकको मूल्य हो त्यो। त्यसको थप मूल्य तिर्न यो देश तयार छैन।
आजको लोकतन्त्र तत्कालीन सात राजनीतिक दल र माओवादीबीच सहकार्यको परिणाम हो। संविधानको एउटा अभिन्न अंग शान्ति सम्झौताको एउटा हस्ताक्षरकर्ता गिरिजाप्रसाद कोइरालाले जीवनका अन्तिम क्षणमा अस्पतालमा मेरो हात समातेर संविधान र लोकतन्त्र तपाईको जिम्मा भनेको सुन्ने साथीहरू यही संसदमा पनि हुनुहुन्छ। उहाँलाई दिएको वचनलाई साक्षी राखेर शान्ति सम्झौताको एउटा हस्ताक्षरकर्ताको नाताले म भन्न चाहन्छु र यो संसदलाई विश्वास दिलाउँछु, प्रगिगमन सफल हुन दिइनेछैन।
जुनसुकै राजनीतिक दलसमर्थक भए पनि गणतन्त्रप्राप्तिको संघर्ष र क्रान्तिका सबै महान् शहिदहरूको सपनाको जिम्मा लिन म तयार छु। तपाइँहरूले अहिलकति आत्मसमीक्षा गरिदिनुभयो र संसदभित्रै विकल्प हुनसक्छ भन्ने मान्यतातिर अगाडि बढिदिनुभयो भने त्यो धेरै ठूलो कुरा हुनेछ। यदि त्यसो हुन सकेन भने पनि बाह्र बुँदे समझदारीदेखि विस्तृत शान्ति सम्झौता, संविधान सभा र संघीय लोकतान्त्रिक गणतन्त्र, जनयुद्ध र जनआन्दोलनका ती हजारौं सदिहरूको सपना बोकेर हिड्न हाम्रो पार्टी र म तयार छौं, म यो विश्वासका साथ तपाईँहरूलाई राख्न चाहन्छु।
तपाईँहरू जतिसुकै विचलित भए पनि मलाई विश्वास छ, नेपाली कांग्रेस र नेकपा एमालेभित्र इमान्दार, देशभक्त र लोकतान्त्रिकवादीहरू प्रतिगमनको पक्षमा कोही पनि हुने छैनन्। देशभरिका लोकतान्त्रिक शक्तिहरूको साथ लिएर हामी प्रतिगमन त रोक्ने छौैं तर सत्तारु साथीहरू कहिले सुध्रनुहुन्छ ? दुई तिहाईको अहंकारमा तपाईँहरूले दौडाएको कुशासनको घोडा नै अहिले लोकतन्त्रमाथिको सबैभन्दा ठूलो संकट बन्दैछ। यो संकटको सामना गर्न सबैभन्दा ठूलो जिम्मेवारी सत्तारुढ दलहरूकै हुन आएको छ। तपाइँहरूको दुई तिहाईको अहंकारले लाखौं जनतालाई सडकमा पुर्याउँदै छ। यसको गम्भीर आत्मसमीक्षा गर्नुहोला। लोकतन्त्रको सुदृढ गर्नतिर तपाइहरूका कदम बढेमा हाम्रो साथ हुनेछ। यही विश्वाससहित मेरो भनाई टुंग्याउँछु। धन्यवाद। अभिवादन।