तीव्र प्रगति गर्दै देशलाई अघि बढाउन चाहन्छौँ : प्रधानमन्त्री ओली

हिमाल प्रेस २७ फागुन २०८१ १६:३९
8
SHARES
तीव्र प्रगति गर्दै देशलाई अघि बढाउन चाहन्छौँ : प्रधानमन्त्री ओली

विराटनगर- प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै सरकारले सुशासन र समृद्धिको बाटोमा तीव्रताका साथ काम गरिरहेको बताएका छन्। कोशी प्रदेशसभामा आज विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको बलिदानी र संघर्षको बलमा प्राप्त संविधानको रक्षा गर्दै आवश्यकतानुसार संशोधन गर्दै जाने कुरा पनि जानकारी गराए।

प्रधानमन्त्री ओलीले यस प्रणालीमा सबैलाई प्रतिस्पर्धा गर्ने अवसर रहेको भन्दै व्यवस्थाविरोधी आवाज उठाउन आवश्यक नरहेको स्पष्ट पार्दै संविधानसम्मत, शान्तिपूर्ण र सुशासनको बाटोबाट यस व्यवस्थालाई अझ उन्नत बनाउन सकिने बताए।

‘हामी जनताको गरिबी र पछ्यौटेपन हटाएर जान चाहन्छौँ। गरिबी हटाएर मात्र सन्तोष मान्दैनौँ। समग्र मानवीय जैविक र न्यायोचित आवश्यकताको परिपूर्ति गरेर मुलुकलाई अगाडि बढाउन चाहन्छौँ,’ प्रधानमन्त्री ओलीले भने, ‘नागरिक सर्वोच्चता भएको यस प्रणालीमा रहेर समृद्धिका लागि छिटो काम गर्न चाहन्छौँ। रोजगारीका अवसरहरू सिर्जना गर्न चाहन्छौँ। त्योभन्दा पहिला हामीले उद्यमशीलतामा जोड दिनु पर्नेछ। त्यसकारण देशलाई पछाडि फर्काउने होइन, अगाडि बढाउने हो। संविधानअनुसार तीनै तहका सरकारले सहकार्य गरेर देशको विकासमा लाग्नुपर्छ।’

प्रधानमन्त्री ओलीले देशको भौगोलिक, सांस्कृतिक र जातीय विविधतालाई मनन गर्दै विविधताबीच एकता कायम राख्दै गौरवपूर्ण इतिहास भएको नेपाललाई विश्व मानचित्रमा सार्वभौम, लोकतान्त्रिक र समृद्ध बनाउन आआफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गरे। यसअघि प्रधानमन्त्री ओलीले पूर्वाञ्चल विश्वविद्यालयको १३औं दीक्षान्त समारोहलाई सम्बोधन गरेका थिए।

प्रकाशित: २७ फागुन २०८१ १६:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast