संसद्‌मा उठ्यो शिक्षक आन्दोलनको विषय, कसले के भने?

हिमाल प्रेस २७ फागुन २०८१ १६:०३
5.5k
SHARES
संसद्‌मा उठ्यो शिक्षक आन्दोलनको विषय, कसले के भने?

काठमाडौँ- संसद्को चालु अधिवेशनबाट विद्यालय शिक्षा विधेयकलाई ऐनको रूपमा जारी गर्नुपर्ने माग गर्दै शिक्षक कर्मचारीले गरेका आन्दोलनको विषय संसद्‌मा उठेको छ। शिक्षा विधेयक संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन छ।

नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले सत्तारुढ नेपाली कांग्रेसको मुख्यालय सानेपामा धर्ना दिइरहँदा सोही पार्टीका एक सांसद अर्जुननरसिंह केसीले राज्यले शिक्षक महासंघसँग गरेको सम्झौता पालन नगर्नुलाई शिक्षकप्रति अपमानजनक व्यवहारका रूपमा चित्रित गरेका छन्।

मंगलबारको संसद् बैठकमा बोल्दै उनले शिक्षकहरूको प्रतिनिधित्व गर्ने नेपाल शिक्षक महासंघ अहिले आन्दोलनमा रहेको अवस्थामा सरकारको कदमलाई निन्दनीय ठहराएका छन्। उनले भने, ‘सरकारले पटकपटक गरेको प्रतिबद्धतालाई पालना गर्दै तत्कालै शिक्षकसँग वार्ता र संवादको वातावरण सिर्जना गर्नुपर्छ।’ केसीले शिक्षकहरूको अधिकार सुनिश्चित गर्ने र विद्यालय शिक्षा ऐन जारी गर्न सरकारलाई तुरुन्तै कदम चाल्न आग्रह गरे।

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि शिक्षक आन्दोलनको विषय उठाउँदै सरकारको कार्यशैलीप्रति प्रश्न उठाएका छन्। उनले भने, ‘चक र डष्टर छाडेर शिक्षक पनि प्रदर्शनीमा उत्रिएका छन्।’ सांसद मुक्ता कुमारी यादवले एसईई सुरु हुन लाग्दा शिक्षकहरूको आन्दोलनको समाधान यथाशीघ्र गर्न सरकारसँग माग गरिन्।

सांसद रञ्जुकुमारी झाले पनि शिक्षक आन्दोलनको विषयमा बोलिन्। संसद् बैठकमा उनले भनिन्,‘शिक्षा ऐन छिटो चाहिन्छ भनेर शिक्षक कर्मचारीहरू आन्दोलित छन्। छिटो ऐन नआए आन्दोलन जारी रहनेछ। यस्ता गम्भीर कुराहरूमा पनि सरकारको ध्यान पुगोस्। मेरो आग्रह छ।’

सांसद गंगाराम चौधरीले शिक्षकहरूको माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। चौधरीले भने, ‘शिक्षकहरूको मागहरू समयमै पूरा गरिनु पर्छ। सरकारसँग भएको सम्झौता नकारात्मक प्रभाव सिर्जना नगर्नु पर्ने हो।’

सरकारसँगको सम्झौतामा शिक्षकहरूको माग पूरा नभएपछि उनीहरूले विभिन्न स्थानमा प्रदर्शन गर्दै छन्। चौधरीले यस आन्दोलनलाई न्यायपूर्ण र आवश्यक कदमको रूपमा चित्रित गर्दै, शिक्षकहरूको अधिकारको रक्षा गर्ने कुरामा सरकारलाई गंभीर कदम चाल्न आग्रह गरेका छन्।

सांसद चित्रबहादुर केसीले पनि शिक्षक कर्मचारीमैत्री शिक्षा ऐन तत्काल जारी गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। केसीले भने,‘शिक्षा प्रणाली ध्वस्त पारिएको छ। शिक्षा ऐन जारी होस् भनेर देशभर शिक्षकहरू आएर काठमाडौँमा आन्दोलन गरिरहेका छन्। शिक्षकहरूको माग जायज छ। माग सरकारले पूरा गर्नुपर्छ।’

शिक्षा ऐन माग गर्दै कांग्रेस मुख्यालयमा शिक्षक-कर्मचारीको धर्ना [तस्बिरहरू]

प्रकाशित: २७ फागुन २०८१ १६:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast