सांसदहरू यी विषयमा केन्द्रित

हिमाल प्रेस २७ फागुन २०८१ १५:२४
22
SHARES
सांसदहरू यी विषयमा केन्द्रित फाइल तस्बिर

काठमाडौँ- प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसदहरूले विभिन्न समसामयिक मुद्दामा सरकारको ध्यानाकर्षण गराउन विभिन्न प्रस्ताव र सुझावहरू प्रस्तुत गरेका छन्। यस क्रममा, शिक्षासम्बन्धी समस्या, कृषि, सडक मर्मत र जनआन्दोलनका प्रभावकारी कार्यान्वयन जस्ता महत्त्वपूर्ण विषयहरू उठाएका थिए। सांसदहरूले आगामी दिनमा यी समस्याहरूको शीघ्र समाधानका लागि सरकारसँग तत्काल कदम चाल्न आग्रह गरेका छन्।

सांसद मुक्ताकुमारी यादवले एसईई सुरु हुन लाग्दा शिक्षकहरूको आन्दोलित अवस्थाले समस्या सिर्जना गरेको भन्दै शीघ्र समाधानको आवश्यकता रहेको बताइन्। सांसद मेटमणी चौधरीले दाङका मोही किसानहरूले न्यायको लागि ३८ दिनदेखि धर्ना बसेका तर कुनै सुनवाइ नभएको भन्दै सरकारलाई यसमा ध्यान दिन आग्रह गरे। सांसद भीमप्रसाद आचार्यले सुनसरीको रामधुनी नगरपालिका–२ मा पर्ने सडक ठेक्कामा देखिएका समस्याहरूलाई समाधान गर्न पुनः ठेक्का प्रक्रिया अघि बढाउन सरकारलाई आग्रह गरे।

सांसद मनीष झाले सडकमा सरकारप्रति असन्तुष्टि बढ्दै गएको र विश्वासको वातावरण सिर्जना गर्न सुझाव दिए। सांसद माधव सापकोटाले आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्वतन्त्र र भयमुक्त बनाउनुपर्नेमा जोड दिए। सांसद मीना तामाङले जनआन्दोलनबाट प्राप्त संविधानको प्रभावकारी कार्यान्वयनमा सरकारको ध्यानाकर्षण गराइन्।

सांसद मेनकाकुमारी पोखरेलले राष्ट्रिय राजमार्गको मर्मत र सुधारका लागि बजेटको व्यवस्थापन नगरेको कारण दुर्घटनाहरू बढिरहेको भन्दै सरकारलाई सजग रहन आग्रह गरिन्। सांसद रणकुमारी बलम्पाकी मगरले उत्पादित जुनारको भण्डारणका लागि सरकारबाट बजेटको माग गरिन्।

सांसद लालवीर चौधरीले बर्दिया जिल्लामा चैते धानको लागि सिँचाइको व्यवस्था गर्नुपर्नेमा जोड दिए। सांसद राजेन्द्रकुमार केसीले नेपाल प्राकृतिक प्रकोपको जोखिम भएका मुलुक भए पनि राहत, उद्धार र पुनःनिर्माण प्रभावकारी हुन नसकेको बताए। सांसद रामकुमार राईले असोज महिनामा आएको बाढीले नष्ट गरेको फोक्सिङटार पुलको पुनर्निर्माण र दुधकोशी हाइड्रोको मुआब्जा वितरणको कार्यप्रति सरकारको प्रशंसा गरे।

सांसद रामकिशोर यादवले नेपालमा पुनः राजतन्त्रको स्थापना गर्न खोज्नु गलत रहेको बताए। सांसद रोशन कार्कीले राजनीतिक दलप्रति असन्तुष्टिका कारण राजसंस्थाको समर्थनमा सर्वसाधारणको भीड देखिएको बताइन्।

सांसद रामशंकर यादवले गाउँ ब्लकको जग्गा समाधान भए पनि लालपूर्जा वितरण नहुँदा समस्या समाधान नहुनु दु:खद् रहेको बताए। सांसद रामहरि खतिवडाले ओखलढुंगा जिल्लामा स्वास्थ्य बिमाको रकम समयमा निकासा नभएको भन्दै यथाशीघ्र रकम पठाउन आग्रह गरे।

सांसद रुक्मिणी राना बराइलीले देशको अनौपचारिक र औपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूले श्रम ऐनको प्रत्याभूति नगरेको भन्दै श्रम ऐनको प्रभावकारी कार्यान्वयनमा जोड दिइन्। सांसद लक्ष्मी तिवारीले हवाई सुरक्षामा गम्भीर ध्यान दिनुपर्नेमा जोड दिइन्।

प्रकाशित: २७ फागुन २०८१ १५:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast