अब सवारीसाधनको विद्युतीय अभिलेख राखिँदै

हिमाल प्रेस २७ फागुन २०८१ १०:५६
6
SHARES
अब सवारीसाधनको विद्युतीय अभिलेख राखिँदै

हेटौडा- यातायात सेवा कार्यालय हेटौँडा मकवानपुरले सवारीसाधनको विद्युतीय अभिलेख (डिजिटाइजेसन) गर्न थालेको छ।

सवारीसाधनको ‘रेकर्ड’ खोज्न सहज होस् र नवीकरण गर्न कार्यालय नै धाउनुपर्ने बाध्यताको अन्त्य गर्ने उद्देश्यले कार्यालयमा दर्ता रहेका सवारीसाधनको अभिलेखीकरण गर्न थालिएको कार्यालय प्रमुख प्रवीण श्रेष्ठले जानकारी दिए।

केही दिनअघि बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले सवारीसाधनको अभिलेखीकरणको शुभारम्भ गरेका थिए। यसका लागि कर्मचारीले सवारीको कागजात तथा तथ्यांक प्रविष्ट गर्ने कार्य गरिरहेको प्रमुख श्रेष्ठले बताए।

सबै सवारीसाधनको विद्युतीय अभिलेख राखिसक्ने र अनलाइनबाटै सवारीसाधनको कर तिर्न सकिने तथा ब्लुबुक बोक्नु नपर्ने अवस्था निर्माण हुने प्रमुख श्रेष्ठको भनाइ छ‍।

कार्यालय प्रमुख श्रेष्ठका अनुसार सो कार्यालयमा दुई पांग्रे, तीन पांग्रे र चार पांग्रेगरी करिब ५१ हजार सवारी दर्ता छन्। ती सबै सवारीसाधनको तीन-चार महिनाभित्र अभिलेखको काम सकिने गरी काम भइरहेको उनले बताए।

घरघरमै पुगेर व्यक्तिगत घटना दर्ता

जन्म र मृत्यु अर्थात् सुख र दुःखको क्षणमा नागरिकलाई स्थानीय सरकारको अनुभूति दिलाउनेगरी मकवानपुरको मनहरि गाउँपालिका-७ वडा कार्यालयले घरदैलो अभियान सुरु गरेको छ।

वडा कार्यालयले नागरिकको घरदैलोमा पुगेर जन्मदर्ता, विवाह दर्ता, मृत्यु दर्तालगायत व्यक्तिगत घटना दर्ता प्रमाणपत्र वितरण गर्न घरदैलो अभियान सञ्चालन गरेको हो।

वडाभित्र जन्मिने शिशुको जन्मदर्ता र केही व्यक्तिको मृत्यु भएमा मृत्यु दर्ता प्रमाणपत्र दिने वैधानिक व्यवस्थालाई घरदैलोमै पुर्‍याउन घरदैलो अभियान सञ्चालन गरिएको मनहरि–७ का वडाध्यक्ष ठाकुरराम तितुङले जानकारी दिए।

व्यक्तिगत घटना भएको ३५ दिनभित्र उक्त घटना वडा कार्यालयमा दर्ता गराउनुपर्ने कानुनी व्यवस्था भएकाले नागरिकलाई निर्धारित समयमै व्यक्तिगत घटना दर्ता प्रमाणपत्र वितरण वडा कार्यालयले घरघरमा पुग्न थालेको उनको भनाइ छ।

यसबाट नागरिकले घरघरमै स्थानीय सरकारको अनुभूति गर्ने र जरिवानामा समेत नपर्ने वडाध्यक्ष तितुङले बताए।

वडाभित्र रहेका टोल विकास संस्था र वडाका जनप्रतिनिधिमार्फत व्यक्तिगत घटनाको विवरण संकलन गरी परिवारका सदस्यसँग समन्वय गरेर घटनाको सूचक खडा गर्ने र घटना दर्ता प्रमाणपत्र व्यक्तिको घरमै पुगेर उपलब्ध गराउन थालिएको वडाअध्यक्ष तितुङले बताए।

शिशु जन्मेको व्यक्तिको घरमा पुगेर जन्मदर्तासँगै सुत्केरी स्याहारका लागि पौष्टिक सामग्री तथा मृत्यु भएर शोकमा बसिरहेकाको घरमा फलफूल तथा श्रद्धाञ्जली पत्र बोकेर जाने गरिएको उनको भनाइ छ।

प्रकाशित: २७ फागुन २०८१ १०:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast