
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को महाधिवेशन सम्पन्न भइसकेको छ। अब पार्टीले संगठन सुदृढीकरण, विचार प्रवर्द्धन र राजनीतिक क्रियाशीलतालाई अझ प्रभावकारी बनाउने दिशामा ठोस कदम चाल्नुपर्ने आवश्यकता छ। महाधिवेशनपछि समाजवादी आन्दोलनलाई व्यवहारिक रूप दिन र देशभर पार्टीको प्रभाव विस्तार गर्ने अवसर थप बलियो बनेको छ।
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) समाजवादी मूल्यमान्यता र अग्रगामी विचार बोकेको राजनीतिक दल हो। पार्टीको मार्गदर्शक दर्शन इन्द्रेणी राष्ट्रवाद हो, जसले नेपालभित्र रहेका विभिन्न जाति, भाषा, संस्कृति, धर्म र सम्प्रदायलाई समानरूपमा सम्मान गर्दै समावेशी र समानुपातिक समाजको परिकल्पना गर्छ। इन्द्रेणी राष्ट्रवादले नेपाली समाजलाई कुनै एकल पहिचानमा सीमित नराखी, विविधतालाई बलियो शक्ति बनाएर समुन्नत नेपाल निर्माणको मार्गचित्र दिन्छ।
पार्टीले अघि सारेको ५ स (स्वाधीनता, संघीयता, सुशासन, समृद्धि, समाजवाद) को अवधारणालाई व्यवहारमा लागू गर्न विशेष अभियान सञ्चालन गर्नु आवश्यक छ। नेपालमा विगतमा धेरै दलहरूले समाजवादको नारा दिएका छन् तर व्यवहारमा समाजवादी व्यवस्था लागू गर्ने ठोस नीति अघि सार्न सकेका छैनन्। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले भने समाजवादलाई मूर्तरूप दिन पूर्ण समानुपातिक प्रतिनिधित्व, न्यायसंगत वितरण, र श्रमजीवी वर्गको सशक्तिकरणलाई नीति निर्माणको केन्द्रमा राख्नुपर्छ।
नेपालको विद्यमान राजनीतिक प्रणालीमा सत्ताको विकेन्द्रीकरण नभएसम्म समाजवादी व्यवस्था लागू गर्न कठिन हुन्छ। यही कारण, पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख र पूर्ण समानुपातिक संसद को अवधारणा अघि सारेको छ। अहिलेको व्यवस्थामा सरकार अस्थिर छन्, सरकार गठन र विघटनको खेल चलिरहन्छ र कार्यकारी प्रमुखहरू जनताप्रति उत्तरदायी रहँदैनन्। यसको समाधानका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुखको प्रणाली आवश्यक छ। यसले सरकारलाई स्थायित्व दिन्छ, विकास योजनाहरू निरन्तरता दिन्छ र कार्यकारी प्रमुखलाई जनताप्रति प्रत्यक्ष उत्तरदायी बनाउँछ।
त्यसैगरी, संसदमा दलहरूले शक्ति सन्तुलनको नाममा असमानुपातिक प्रतिनिधित्व प्रणाली अवलम्बन गरिरहेका छन् जसका कारण कतिपय समुदाय र वर्ग राजनीति बाहिर धकेलिएका छन्। पूर्ण समानुपातिक संसद व्यवस्था लागू गरेर सबै नागरिक समूहलाई प्रतिनिधित्वको अवसर दिन सकिन्छ, जसले नेपालको लोकतन्त्रलाई अझ समावेशी र न्यायसंगत बनाउनेछ।
महाधिवेशनपछि पार्टीले यी मुद्दाहरूमाथि व्यापक रूपमा अभियान सञ्चालन गर्नुपर्छ। देशभरका जनतालाई प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख र पूर्ण समानुपातिक संसद प्रणालीको आवश्यकता बुझाउने ५ स को अवधारणाबारे सचेतना फैलाउने र इन्द्रेणी राष्ट्रवादलाई व्यवहारमा लागू गर्ने अभियान चलाउनु अपरिहार्य छ।
राजनीतिक दलको सफलता केवल चुनाव जित्नमा मात्र निर्भर हुँदैन बरु समाजलाई रूपान्तरण गर्न सक्ने नीति लागू गर्नु नै साँचो राजनीतिक उपलब्धि हो। अब नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले समाजवादी परिवर्तनलाई मूर्तरूप दिन ठोस रणनीति अवलम्बन गर्नुपर्छ। संगठन बलियो बनाउँदै जनतासँग प्रत्यक्ष जोडिनु, श्रमजीवी वर्गको पक्षमा ठोस कार्यक्रम ल्याउनु र देशको अस्थिर राजनीतिक अवस्थालाई स्थायित्वतर्फ लैजानु आजको प्रमुख कार्यभार हो।
यदि यी विषयहरूलाई सही रणनीति र संघर्षमार्फत स्थापित गर्न सकियो भने नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) देशमा अग्रगामी वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित हुन सक्छ।
[भट्टराई नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का केन्द्रीय सदस्य हुन्]