
काठमाडौँ- नेपाल शिक्षक महासंघका केन्द्रीय अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षक महासंघ आन्दोलनमा रहेको बताएका छन्। शिक्षकको हक अधिकार स्थापित गर्न महासंघले निरन्तर संघर्ष गरिरहेको उल्लेख गर्दै उनले भने, ‘हामी आन्दोलनमा छौँ, कि जितिन्छ कि बितिन्छ।’
महासंघले शिक्षा ऐन अविलम्ब जारी गर्नुपर्ने माग राख्दै दोस्रो चरणको आन्दोलन अघि बढाएको छ। आन्दोलनअन्तर्गत विभिन्न राजनीतिक दलका केन्द्रिय कार्यालयहरूमा धर्ना दिने कार्यक्रम सार्वजनिक गरिएको छ।
महासंघको राष्ट्रिय समितिको आयोजनामा आज नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, सानेपामा दिउँसो १ बजे धर्ना दिइने भएको छ। महासंघले सम्पूर्ण सरोकारवालालाई कार्यक्रममा सहभागिताका लागि अनुरोध गरेको छ।
फागुन २८ गते नेकपा एमाले, चैत १ गते नेकपा माओवादी केन्द्र, चैत २ गते नेकपा एकीकृत समाजवादी, चैत ३ गते राष्ट्रिय स्वतन्त्र पार्टी, चैत ४ गते जसपा, लोसपा, राजमो तथा चैत ५ गते जनमत, नागरिक उन्मुक्ति र राप्रपाको कार्यालयमा धर्ना दिइने छ।
महासंघका नेताहरूले सरकारले शिक्षा ऐन चाँडो जारी नगरे थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्।