जनमत पार्टीको केन्द्रीय समिति बैठक : पार्टी एकीकरण गर्न कार्यदल गठन

हिमाल प्रेस २६ फागुन २०८१ १९:२४
40
SHARES
जनमत पार्टीको केन्द्रीय समिति बैठक : पार्टी एकीकरण गर्न कार्यदल गठन

काठमाडौँ- जनमत पार्टीले नागरिक उन्मुक्ति पार्टीसहित विचार र सिद्धान्त मिल्ने पार्टीसँग एकीकरण गर्न कार्यदल गठन गरेको छ। महोत्तरीको बर्दिवासमा दुई दिनसम्म चलेको केन्द्रीय समिति बैठकले पार्टी एकीकरणका लागि तीन सदस्यीय कार्यदल गठन गरेको हो।

कार्यदलमा अब्दुल खान, शरदसिंह यादव र बालगोविन्द चौधरी रहेका छन्।

समग्र देशको विकास र अबको निकास ‘नौलो गणतन्त्र’ हुने ठहर गर्दै त्यसका लागि घरघरमा विचार फैलाउने र विभिन्न कार्यक्रमको आयोजना गरेर माहोल निर्माण गर्ने निर्णय बैठकले गरेको प्रवक्ता शरदसिंह यादवले जानकारी दिए।

सरकारले ल्याउन लागेको राजनैतिक दलसम्बन्धी ऐन, दुई दलीय व्यवस्था लाद्ने किसिमको थ्रेसहोल्डसहितको प्रावधान, भूमि र नागरिकतासम्बन्धी अध्यादेशप्रति सचेत हुँदै प्रतिगामी कदमहरूलाई विरोध गर्ने निर्णय बैठकले गरेको उनले बताए।

जनमतको केन्द्रीय समिति बैठकले देशमा भइरहेको राजनैतिक प्रतिगामी ध्रुवीकरणप्रति सचेत भएर जनचेतना फैलाउने र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि संगठनलाई तयार राख्ने निर्णय गरेको छ।

प्रदेशहरूलाई अधिकारसम्पन्न, स्वायत्त र प्रभावकारी बनाउन आवश्यक ऐनकानुनहरू चाँडै निर्माण गराउन पहल गर्ने निर्णय बैठकले गरेको छ।

केन्द्रीय समितिको बैठकले सडक, सदन र सरकार तीनै मोर्चाका लागि सशक्त तयारी गर्ने निर्णय गरेको छ। सदस्यता र संगठन विस्तार, पार्टी प्रवेश तथा अधिवेशनका कार्यक्रमहरूका साथै सशक्त आन्दोलनका लागि युवादस्ता गठन तथा प्रशिक्षणमा विशेष जोड दिने निर्णय गरेको छ।

त्यस्तै बैठकले उपेक्षित बनेको हुलाकी राजमार्ग तथा त्यसमा रहेका पुलहरू यथाशीघ्र सम्पन्न गर्ने विषयलाई जोडदार रूपमा उठाउँदै तराई–मधेश फास्ट ट्र्याक सम्पन्न गर्न तथा निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण गर्ने विषयमा लबिङ गर्ने निर्णय गरेको छ।

सिरहा जिल्लाको रिंकु सदासहितको घटनाको संज्ञान लिँदै दलित, गरिब, पिछडिएका तथा निमुखा वर्गमाथि समाजमा भइरहेको दमन, शोषण र बलात्कारका विरूद्ध संगठित भएर लाग्ने जनमत पार्टीको निर्णय छ।

तराई–मधेशको पानीको मूल तथा चुरिया पर्वतको संरक्षणका साथै नलीनालाको अवैध उत्खनन रोक्न पार्टीले विभिन्न स्तरमा आग्रह गर्नुका साथै पहल गर्ने निर्णय भएको प्रवक्ता यादवले जानकारी दिए।

प्रकाशित: २६ फागुन २०८१ १९:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast