कोटीहोम विवाद सुल्झाउन सर्वपक्षीय बैठक, यज्ञस्थलबारे सहमति जुटेन

हिमाल प्रेस २६ फागुन २०८१ १८:०२
16
SHARES
कोटीहोम विवाद सुल्झाउन सर्वपक्षीय बैठक, यज्ञस्थलबारे सहमति जुटेन पोखरामा कोटीहोम महायज्ञका लागि भूमिपूजन गर्ने क्रममा भएको झडपका क्रममा घाइते भएकालाई उद्धार गरिँदै। तस्बिर : हिमालप्रेस

पोखरा– पोखराको फेवाताल किनार हुन लागेको कोटीहोम महायज्ञ विवाद सुल्झाउन सोमबार सर्वपक्षीय बैठक बसेको छ।

पोखरा महानगरपालिकाको आह्वानमा न्यूरोडस्थित कार्यालयमा बसेको बैठकका सहभागीहरु पोखरामा कोटीहोमका लागि सकारात्मक बनेका छन्। तर, फेवाताल किनार वाराहीघाटमै हुने भन्नेबारेमा बैठकले निष्कर्ष निकाल्न सकेन।

बैठकमा सहभागी पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिना भन्छन्, ‘हालसम्मका गतिविधिबारे समीक्षा भएको छ। तर, कहाँ गर्ने भन्नेबारे वैकल्पिक ठाउँको खोजीका लागि समिति बनाएर जाने भन्ने छलफल भयो।’

साथै, मंगलबार नै पोखरा महानगर नगरकार्यपालिकाको बैठकमा यसबारे म्यान्डेड लिएर जानेबारे पनि छलफल भएको उनले जानकारी दिए।

छलफलमा सहभागी विश्व हिन्दू महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष पार्वता पौडेल चाहिँ पोखरामा कोटीहोम हुनेमा दुईमत नरहेको बताइन्। तर, स्थान विशेषबारे फेरि छलफल हुने गरी बैठक टुंगिएको उनको भनाइ छ। यज्ञ भने निर्धारित मिति १७ वैशाखमै हुनेछ।

विवादित धर्मगुरु विजय कृष्णमूति महाराज (विजय भण्डारी) संस्थापक रहेको मानव सेवा फाउण्डेशनले वाराहीघाटमा वैशादेखि कोटीहोम महायज्ञ गर्न लागेको हो। सोको लागि शुक्रबार भूमिपूजनका क्रममा महानगरका नगर प्रहरी र फाउण्डेशन पक्षका गरी दुई दर्जन मानिस घाइते भएका थिए।

पोखरा महानगर कुनै पनि हालतमा यज्ञ रोक्ने पक्षमा रहेकोमा सोमबारको छलफलपछि भने केही लचिलो बनेको छ। उता, फाउण्डेसनका संस्थापक विजय भण्डारी निर्धारित मिति र स्थानमा जसरी पनि कोटीहोम गरेरै छाड्ने अडानमा छन्।

कोटीहोममा समीधा (दाउरा) का लागि फाउण्डेशनले पोखराका वर्षौँ पुराना बर, पीपल, शमी जातका रुख तथा चौतारा नष्ट गरेको आरोप छ। सो विषयले महानगर र फाउण्डेनबीच तिक्तता सुरु हुँदै दुवै पक्ष अदालतसम्म धाएका थिए।

पोखरा महानगरले पालिकाको स्वीकृतिबिना यज्ञ सञ्चालन गर्न नपाइने चेतावनी दिएपछि आयोजक मानव सेवा फाउण्डेशनले उच्च अदालत पोखरामा दिएको रिटमा कानूनी व्यवस्थाबाहेक अवरोध नपु¥याउन अन्तरिम आदेश जारी भएको थियो।

बैठकमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, कास्कीका प्रमुख जिल्ला अधिकारीसमेतको उपस्थिति थियो।

प्रकाशित: २६ फागुन २०८१ १८:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast