राप्रपा नेपालले भन्यो- राजाको आह्वान अनुमोदन भयो

हिमाल प्रेस २६ फागुन २०८१ १६:१०
34
SHARES
राप्रपा नेपालले भन्यो- राजाको आह्वान अनुमोदन भयो राप्रपा नेपालको सोमबार बसेको बैठकमा सहभागी नेताहरू। तस्बिर सौजन्य : राजाराम बर्तौला

काठमाडौँ- राप्रपा नेपालले देशलाई संकटबाट मुक्त तुल्याउन राजाबाट सहयोगका निम्ति गरिएको आह्वानलाई जनताले अनुमोदन र आत्मसात् गरेको निष्कर्ष निकालेको छ।

पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा सोमबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले यस्तो निष्कर्ष निकालेको हो। बैठकले त्यसको उदाहरण फागुन २५ गते काठमाडौँमा देखापरेको बृहत् जनप्रदर्शन भएको दाबी गरेको छ। ‘उक्त ऐतिहासिक जनप्रदर्शनले अब चाँडै हिन्दु राष्ट्र र राजसंस्था पुन: स्थापना हुने सुस्पष्ट संकेत गरेको छ’, बैठकपछि पार्टीका महामन्त्री तथा सचिवालय प्रमुख राजाराम बर्तौलाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा जनताको आवाज, चाहना र समयको मागलाई सम्बोधन गर्दै शान्तिपूर्ण ढंगबाट निकास खोज्ने जिम्मेवारी प्रमुख राजनीतिक दलहरुको काँधमा आएको उल्लेख छ। यथास्थितिमा परिवर्तन, हिन्दु राष्ट्र र राजसंस्थाको पुनःस्थापना, संघीयता खारेजी, भ्रष्टाचार अन्त्य र देशभित्रै रोजगारीको सिर्जना जनताको चाहना रहेको विज्ञप्तिमा उल्लेख छ।

सर्वपक्षीय सहमतिका आधारमा सबै विचार र शक्तिहरू अटाउने मौलिक प्रजातान्त्रिक प्रणाली स्थापना गर्न अब ढिलो गर्नु नहुने भन्दै पार्टीले जनताको चाहना र भावनालाई दमन गर्ने वा उपेक्षा गर्ने प्रयास गरिएमा परिस्थिति नियन्त्रणभन्दा बाहिर गई अप्रिय दुर्घटना हुने चेतावनी दिएको छ।

राप्रपा नेपालले हिन्दुराष्ट्र र राजसंस्था पुनस् स्थापनाको पक्षमा अहिले देखापरेको जनउत्साह निष्कर्षमा पुर्‍याउन सबै राष्ट्रवादी, राजावादी, हिन्दुवादी, प्रजातन्त्रवादी र देशभक्त शक्तिहरू यथासम्भव चाँडो एकताबद्ध हुन र संयुक्त मोर्चा निर्माण गर्न आह्वान गरेको छ। विज्ञप्तिमा उल्लेख छ, ‘सबै राष्ट्रवादी एकजुट हुने हो भने जनताको साथ र समर्थन रहने तथा परिवर्तन सम्भव छ भन्ने फागुन २५ गतेको ऐतिहासिक जनप्रदर्शनले स्पष्ट पारेको छ।’

सबै राष्ट्रवादी, राजावादी, हिन्दुवादी, प्रजातन्त्रवादी,देशभक्त शक्तिहरू एकजुट भई सर्वपक्षीय आन्दोलनको मोर्चाु गठन गर्न तथा तत्काल जनआन्दोलनको घोषणा र कार्यक्रम तयार गर्न समेत सम्बद्ध सबैमा राप्रपा नेपालले अपिल गरेको छ। केही समयका लागि एक्ला एक्लै आन्दोलन गर्ने मनस्थिति परित्याग गर्नसमेत पार्टीले अनुरोध गरेको छ।

प्रकाशित: २६ फागुन २०८१ १६:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast